अनुसन्धानका लागि सिआइबीको टोली आउँदै

|
तस्बिर : नेपाली सेनाको श्रीजंग गण कसरा चितवन \सौजन्य

चितवन : चितवन राष्ट्रिय निकुञ्जले यहाँ दुर्लभ एकसिंगे गैंडा मार्ने व्यावसायिक (पेसेबर) तस्कर रहेको दाबी गरेको छ। घटनाको अनुसन्धानपछि निकुञ्ज कार्यालयमा भएको पत्रकार भेटघाटका क्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले पेसेबर तस्करले नै शनिबारको गैंडा मारेको जानकारी दिए।

‘गैंडाको शरीरमा भएको गोलीको निशाना र खाग कटिङ हेर्दा प्रोफेसनल तस्कर हो, कँडेलले भने, यत्रा संयन्त्र परिचालन गर्दा पनि अझै संगठित गिरोहबाट ठूलो चुनौती छ, भन्ने देखियो।’ चितवन निकुञ्जको मुख्य कार्यालय कसराबाट केही किलोमिटरको दूरीमा रहेको हरियाली सामुदायिक वनभित्र गैंडालाई तस्करले मारेको हो।

खाग र पुच्छर नभएको अवस्थामा शनिबार बिहान मृत फेला परेको १२, १४ वर्षको जस्तो देखिने वयस्क एकसिंगे गैंडा हिजो साँझ नै गोली हानेर मारेको प्रारम्भिक अनुन्धानले देखाएको उनले जानकारी दिए।

खुर संरक्षण गरेर निकुञ्जले आजै गैंडाको पोष्टमार्टम गरी गाडेको छ। एउटा मात्रै गोली कञ्चटमा हानिएको भन्दै कँडेलले भने, ‘ठाउँका ठाउँ ढलेको छ, गोली कन्चटबाट छिरेर करिब ५० सेन्टिमिटरभित्र पुगेको पाइयो।’ निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजंग गणका गणपति माधव थापाले थ्रीनट थ्रीबाटै गोली हानिएको दाबी गरे।

अन्य बन्दुकभन्दा त्यसको खतरा बढी हुने उनको भनाइ छ। हिजो साँझ चट्याङ परेका बेला गोली हानिएको निकुञ्जको निष्कर्ष छ। अरूबेला भए गोली हानेको सुनिने भए पनि चट्याङ परेकाले नजिकै पोस्ट वा गाउँले कसैले सुनेनन्।

२०७१ सालको वैशाख १९ गते सोही क्षेत्रमै यसरी नै गोली हानेर भाले गैंडा मारिएको थियो। आज  १ हजार ७१ दिनपछि सोही क्षेत्रमा अर्काे गैंडा पनि तस्करले मारेका हुन्। दुवै घटनामा एउटै तस्कर हुन सक्ने आशंका गर्छन्, निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्का।

यसअघि, निकुञ्जले सन् २०११ मा शून्य चोरी सिकार वर्ष मनाएको थियो भने २०१२ मा एउटा गैंडा तस्करले मारेको थियो। २०१३ मा पनि शून्य चोरीसिकार वर्ष मनाइएकोमा २०१४ मा पनि एउटा गैंडा तस्करले मारेको थियो।

त्यसपछि लगातार २ पटकसम्म शून्य चोरी सिकार वर्ष मनाइएको थियो। आगामी वैशाख २० गते पुनः शून्य चोरीसिकार वर्ष मनाउने तयारी भइरहेका बेला यो घटनाले सबै संरक्षणकर्मी चिन्तित भएका छन्।

गैंडा स्थानान्तरणमा ध्यान जाँदा गैंडा मारियो

चितवन राष्ट्रिय निकुञ्जले अहिले शुक्लाफाँटामा गैंडा स्थानान्तरणको काम जारी राखेको थियो। ४ वटा शुक्ला र १ वटा गैंडा बर्दिया पठाइसकेपछि यहाँ तस्करबाट गैंडा मरेको हो।

स्थानान्तरणमा निकुञ्जको पूर्ण शक्ति परिचालित भएकाले मौका छोपेर गैंडामाथि आक्रमण गरिएको संरक्षणकर्मीहरु बताउँछन्। यी बेला सोही क्षेत्रमा विक्रमबाबा मेलासमेत भइरहेकाले तस्कर लुक्न र काम गर्नसमेत सजिलो बनेको थियो।

सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्याल सहितको केही टोली शुक्लामा गैंडा छाडेर फर्कंदै थिए। ३० हात्ती सहितका ५० भन्दा बढी शक्ति निकुञ्जको सुखिभार क्षेत्रमा छ। नेपाली सेना पनि त्यसैगरी खटिएका छन्।

त्यसैले निकुञ्जका स्वचालित शक्ति अलि कमजोर भएका बेला तस्करले जोखाना हेरेर गोली हानेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेल धेरै शक्ति स्थानान्तरणमा केन्द्रित भएकोमा दुई मत राख्दैनन्। तर पनि नियमित गस्तीका कार्यक्रम भने जारी रहेको उनको दाबी छ।

जे भने पनि अहिले यो समयमा विगत वर्ष समुदाय सहितको टोली गस्ती परिचालन भइसकेका थिए। यसपालि भने गैंडा स्थानान्तरणलगायत कारणले अहिलेसम्म परिचालन गर्न नसकिएको यथार्थ भएको उनी बताउँछन्। निकुञ्ज स्रोतका अनुसार यो थ्रेट थाहा थियो। एकपटक गैंडा स्थानान्तरण प्रक्रिया रोक्ने कुरा पनि गरिएको थियो तर, केन्द्रको निर्देशन आएपछि नियमित राखिएको एकजना अधिकारी बताउँछन्।

निकुञ्जको जगतपुर क्षेत्र सधैं तस्करको निशाना

 पश्चिम चितवनको गैंडा मारिएको सो क्षेत्र आसपास प्रायः तस्करले निशाना बनाउँदै आएका छन्। स्थानीयहरु समेत राम्ररी क्रियाशील नहुँदा त्यहाँबाट निकुञ्जलाई खासै सूचना पनि आउँदैन। निकुञ्जका संरक्षणकर्मी लक्ष्मण राय २०७१ सालमा भाले गैंडा पनि सोही घटनास्थलनजिकै मारिएको थियो। सन् २००८ मा पनि त्यही क्षेत्रबाट गैंडा मारिएको उनको भनाइ छ।

 त्यसअघि, एकजना वन हेरालुलाई समेत कुटेर मारेको क्षेत्र त्यही हो। अहिले पनि सो क्षेत्रमा गैंडा मारिनु ठूलै चुनौतीको विषयमा भएको निकुञ्जले जनाएको छ। सो क्षेत्र नजिकै होटल पनि छन्।

 घटनाको छानबिन गर्न सिआइबी टोली आउँदै

चितवन निकुञ्जका अनुसार सो घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसनधान ब्युरो (सिआइबी) को टोली आउन लागेको छ। टोली आउन लागेको जानकारी दिँदै निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले घटनाको थप अनुसन्धान गरेर तस्कर समाउनु नै मुख्य उद्देश्य भएको बताउँछन्।

नेपाली सेना र निकुञ्जका अनुसन्धान अधिकारीहरु भने बिहानैदेखि अनुसन्धानमा खटिएका छन्। कुकुरको समेत परिचालन गरिएको छ।

यसरी मारिएको थियो निकुञ्ज कार्यालयनजिकै गैंडा

जगतपुरमा रहेको एउटा होटलका गाइड पर्यटक लिएर बिहान जंगल जाँदै थिए। उनले मृत गैंडा देखेपछि होटल जंगल भिल्लाका सहोदर चौधरीलाई खबर गरे। सहोदरले चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत बेद खड्कालाई खबर गरेपछि घटना बिहानै थाहा पाइएको थियो।

तर, निकुञ्जले १०र११ बजेसम्म घटना बाहिर ल्याएन। विस्तारै सर्वसाधारणबाट घटना बाहिर आएपछि मात्रै पत्रकारहरुले चालपाएर घटना पुष्टि भएको हो। गैंडाको खाग काटिएको अवस्थामा मरेको गैंडा भेटिएको थियो। खाग निकालिएको ठाउँबाट भुइँभरि रगत लतपतिएको थियो।

 भरतपुर महानगर वडा नम्बर २३ स्थित हरियाली मध्यवर्ती सामुदायिक वनभित्र राप्ती नदी किनारमा गैंडा मारिएको हो।  त्यो क्षेत्र चितवन निकुञ्जको मुख्य कार्यालय कसराबाट मुस्किलले ३र४ किलोमिटर मात्रै टाढा छ। होटलसमेत खुलेको सो क्षेत्र निकुञ्जको ध्रुव घाटनजिकै पर्छ। कुकुर लगाउँदा गैंडाको खाग काटेर राप्ती किनार, किनार हुँदै भागेको पाइएको निकुञ्जका प्रमुख रामचन्द्र कँडेलको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.