|

भक्तपुर : सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने षडयन्त्रले वर्तमान सरकार विघटन गराउन माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएको आरोप लगाएका छन्। 

रफत सञ्चार क्लबले बिहीबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपालको कायापलट हुने डरले नेपाली कांग्रेस र माओवादी केन्द्रले वर्तमान सरकार विघटन गराउन खोजेको आरोप लगाएका हुन्। 

कांग्रेस र माओवादीले गलत नियतले अध्याँरो कोठामा बसेर गरेको सम्झौताले सकारात्मक परिणाम नल्याउने दाबी गर्दै उहाँले यो गठबन्धन नेपाल र नेपालीको हितमा नभएको जिकिर गरे।

सभामुखले संसदमा आफ्नो भूमिका निष्पक्ष राख्न नसक्दा राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको बताउँदै उनले सभामुखका कारण संसद्को मर्यादामा समेत प्रश्न उठेको उल्लेख गरे। 

संसदमा सभामुखले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भए तापनि हाल उनको भूमिकालाई नियाल्ने हो भने निष्पक्ष नरहेको सञ्चारमन्त्रीको दावी छ। वर्तमान सरकारले ल्याएको नीति र कार्यक्रम अब बन्ने सरकारले जस्ताको त्यस्तै कार्यान्वयन गर्ने उनले बताए।

सरकारको नीति तथा कार्यक्रम दुई करोड ८० लाख नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कार्यान्वयन गर्नुपर्ने मन्त्री राईले बताए।

सरकारले सञ्चार क्षेत्रमा देखिएका विभिन्न अवरोधलाई नियन्त्रण गर्दै सञ्चार नीति सार्वजनिक गरेको र यसले सञ्चार क्षेत्रको विकासमा अहम् भूमिका निर्वाह गर्ने भएकाले जस्ताको तस्तै कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.