|

बिर्तामोड: नेपाल प्रज्ञा–प्रतिष्ठान गद्य–आख्यान विभागको हीरक जयन्तीको अवसर पारेर आज झापाको विर्तामोडमा पूर्वी मेचीको आख्यान लेखनका विषयमा छलफल गरिएको छ।

जरा फाउन्डेसनको र प्रज्ञा प्रतिष्ठानको संयुक्त सहकार्यमा आयोजित कार्यक्रममा नेपाली साहित्य क्षेत्रमा मेची अञ्चलको योगदान मेचीमा आख्यानको अवस्थाका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा साहित्यकार चुडामणि वशिष्ठले नेपाली साहित्यमा मेचीको भूमिका र मेचीमा आख्यान समेटेर आख्यानको अवस्था समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए। उनले प्रस्तुत गरेको कार्यपत्रका आधारमा मेची अञ्चलअन्तर्गत झापा, इलाम, पाँचथर र ताप्लेजुङमा क्रियाशील करिब ९१ जना आख्यानकारले १८० बढी उपन्यास तयार पारेको उल्लेख छ।

मेचीमा नेपाली, अंग्रेजी, राई र लिम्बु भाषा गरी चार भाषामा उपन्यासहरू लेखिएको उनले बताए। कार्यक्रममा बोल्दै जरा फाउण्डेसनका महासचिव महेश पौड्यालले नेपालमा साहित्यका अभिलेखहरू नभएका कारण अध्ययन तथा अनुसन्धान गर्न समस्या भएको बताए। उनले भने, ‘नेपालमा कहिले कति किताबहरू निस्किए भन्ने अभिलेख कसैले राख्दैन, यस कारण रिसर्च गर्न हामीलाई धेरै मुस्किल छ, अभिलेख राख्ने सुरुवात प्रज्ञा–प्रतिष्ठानले नै गर्नुपर्छ।’ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रगतिशील लेखक संघ झापाका अध्यक्ष सरोज ओलीले झापा मेची नेपाली साहित्य क्षेत्रको उर्वर भूमि रहेको बताए। उनले भने,‘ नेपालमै राम्रा उपन्यासहरू लेखेर नाम चलेका साहित्यकारहरू छन्, नेपाली आख्यान क्षेत्रमा मेची अञ्चल अग्रणि रहेको छ। आख्यान क्षेत्रमा यहाँको योगदानलाई बिर्सन सकिन्नँ।’

कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठान गद्य–आख्यान प्रमुख प्राज्ञ मातृका पोखरेलले बजेट अभावले नेपालमा लेखिएका किताबको संरक्षण गर्न गाह्रो भएको बताए। उनले चाँडै साहित्यकारहरूलाई परिचयपत्रको व्यवस्था गरिनेसमेत जानकारी दिए।

कार्यक्रममा बोल्दै जरा फाउण्डेसनका अध्यक्ष कृष्ण प्रसाई, साहित्यकार कृष्ण धरावासी, प्राज्ञ यज्ञराज प्रसाईंलगायतले नेपाली साहित्यमा मेचीको योगदान अतुलनीय रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.