|

कालिकोट : कालिकोटमा स्थानीय तहको खाता सञ्चालनमा नआउँदा विकास निर्माणको कार्य प्रभावित हुनुका साथै वृद्धवृद्धा, एकल महिला, अपाङ्ग र बालबालिकाले सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्। जिल्ला विकास समिति, गाउँ विकास समितिको खाता रोक्का गरिएको कारणले विकास निर्माणको कार्य प्रभावित हुनुका साथै वृद्धवृद्धा, एकल महिला, अपाङ्ग र बालबालिकाले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन्।

खाँडाचक्र नगरपालिकाका वडा सचिव गणेश रिजालले भने, ‘पुरानो संरचना अनुसारको खाता सञ्चालनमा रहेका थिए नयाँ संरचनाअनुसार खाता सञ्चालनमा आइनसकेका कारणले समस्या भएको छ।’ पहिलेका जिल्ला विकास समिति र गाउँ विकास समितिका खाता निकासा आएको रकम पनि अहिले खाता रोक्का गरिएका कारणले निकासा गर्न अप्ठयारो भएको त्यसको मारमा स्थानीय र उपभोक्ता समितिलाई पर्न गएको सचिव रिजालले बताए।

‘स्थानीय निकायबाट स्थानीय तह बनेको छ।’ उनले भने, ‘स्थानीय निकायबाट स्थानीय तहमा खाता लगायतका आर्थिक कारोबार हुन नसकेका कारणले समस्या भएको छ।’ जिल्लाका ३० वटै गाविसका पुरानो संरचना अनुसारको सामाजिक सुरक्षा भत्ता लगायतका अन्य विकासे योजना खर्च खातामा दिएको भए पनि अहिले स्थानीय तहमा खाता सञ्चालन रोक्का भएकाे छ।

त्यसैकारणले रकम पाउन नसकेको तत्कालीन जिल्ला विकास समिति कालिकोटका योजना अधिकृत तथा हाल खाँडाचक्र नगरपालिका कार्यकारी अधिकृत पवित्रा शाहीले बताइन्। ‘निकासा भएको रकम पनि खातामा गएर थन्किएको छ।’ उनले भनिन्, ‘अझै पनि त्यो रकम स्थानीय तहको खातामा आउन सकेको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.