|

गोरखा  : जिल्लाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा बुधबार राति मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी ट्रकका चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए।

गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। आरुघाट बजारबाट धुन्चेततर्फ जाँदै गरेको बा५ख १२३१ नम्बरको मिनीट्रक माँझगाउँमा अनियन्त्रित भएर सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक थापाको भनाइ छ। दुर्घटनामा परी अन्य दुई जना घाइते भएको उनले जानकारी दिए।

घाइते हुनेमा आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय राजकुमार गुरुङ र तीन वर्षीया बालिका दिव्या गुरुङ छन्। उनीहरूको पनि आरुघाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। घाइते दिव्याको अवस्था गम्भीर भएकाले थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको स्वास्थ्यचौकीले जनाएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.