|

  • मणिलाल विश्वकर्मा

लहान : शनिबार मध्यान्ह हुरी बतासँगै परेको वर्षातका कारण सिरहा जिल्लाका विभिन्न ठाउँमा रहेका ५६ भन्दा बढी इँटा भट्टामा क्षति पुगेको छ। व्यवसायीहरुले वर्षाका कारण जिल्लाका विभिन्न इँटाभट्टामा क्षति पुग्दा कुल २ करोड ५० लाखभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको गुनासो गरेका छन्। 

भट्टामा पकाउन तयारी अवस्थामा राखिएको काँचो इँटा गल्दा आफ्नो इँटा भट्टामा मात्रै २ लाख रुपैयाँभन्दा बढीको क्षति भएको नेपाल इँटा भट्टा महासंघका केन्द्रीय सदस्य तथा गोलबजारस्थित श्रीसागर इँटा उद्योगका संचालक विक्रम साहले बताए।

जिल्ला इँटा भट्टा व्यवसायी संघका कोषाध्यक्ष तथा गणपति र न्यू गणपति इँटा उद्योगका संचालक कृष्णा सिंहले आफ्ना दुई वटा उद्योगमा १० लाख मूल्य बराबरको इँटा गलेको गुनासो गरे। ‘इँटा व्यवसायीहरुका लागि जेठ असारसम्म पिक (मुख्य) सिजन भएकाले धेरै काँचो इँटा भट्टामा हाल्न तयारी गरिएको थियो, वर्षातले आर्थिक रुपमा ठूलो नोक्सानी भएको छ,’ उनले भने।

गोलबजारकै सगुन इँटा उद्योगमा हुरी बतासँगै परेको वर्षातले सात लाख भन्दा बढी मूल्यको इँटा गलेको उद्योगका संचालक रामसगुन यादवले जानकारी दिए। पानी परेर गल्दै गरेको इँटाको चाङ् हुरी बतासको धक्काले ढलेर कामै नलाग्ने बनाएको यादवले बताए।

यो वर्ष इँटा बनाउने मुख्य समयमै पटक-पटक पानी परेको हुँदा इँटा व्यवसायीहरु ठूलो मारमा परेको यादवको दुःखेसो छ। यसअघि फागुनको अन्तिमतिर परेको वर्षातमा पनि काँचो इँटा गल्दा जिल्लाका व्यवसायीहरुले पाँच करोडभन्दा बढी रुपैयाँको क्षति ब्यहोरेका थिए।

शनिबार बिहान करिब ११ बजेदेखि ३ बजेसम्म जिल्लाका विभिन्न ठाउँमा हुरी बताससँगै परेको वर्षातले इँटा व्यवसायीहरुलाई मर्का पुर्‍याएको इँटा भट्टा व्यवसायी संघका केन्द्रीय सदस्य साहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.