|
नेपालीभाषी साहित्यकार लीलबहादुर क्षेत्री भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट पद्मश्री सम्मान लिँदै। तस्वीर सौजन्य : भारतीय राष्ट्रपतिको ट्विटर

काठमाडौं  : नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री सम्मानबाट सम्मानित गरिएको छ।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज भारतीय राष्ट्रपति रामनाथले क्षेत्रीलाई पद्मश्री सम्मान प्रदान गरेका हुन्।

बसाइँ सराइमाथि साहित्यकार क्षेत्रीले लेखेको 'बसाइँ' उपन्यास सर्वाधिक चर्चित कृति हो।  यो उनको पहिलो उपन्यास हो। उनी भारतको आसाममा बस्छन्।

भारतको संविधानको अनुसूची ८ मा आधिकारिक भाषाका रूपमा नेपाली भाषा पनि समेटिएको छ।

साहित्यिक कृति

उनका तीन उपन्यास प्रकाशित छन्। पहिलो हो- बसाइँ। सन् २००७ मा यसलाई माइकल हटले माउन्टेन्स पेन्टेड विद टर्मरिक शीर्षकमा अंग्रेजीमा अनुवाद गरेका थिए।

सन् १९६९ मा उनको अर्को कृति 'अतृप्त' प्रकाशित भयो। त्यसपछि 'ब्रह्मपुत्रको छेउछाउ' र निबन्ध संग्रह 'असममा नेपाली भाषाको कठिनाइ' प्रकाशित भए। 

यसबाहेक उनको नाटक 'दोबाटो' र लघु कथा संग्रह 'तीन दशक बीस अभिव्यक्ति' पनि छन्।

यसअघि क्षेत्री 'ब्रह्मपुत्रको छेउछाउ' का लागि सन् १९८७ मा साहित्य अकादमी पुरस्कार र मदन पुरस्कार गुठीबाट दिइने जगदम्बा श्रीबाट पनि सम्मानित भइसकेका छन्।

उनको उपन्यास बसाइँमाथि निर्मित फिल्म सन् २००६ मा अन्तर्राष्ट्रिय विदेशी चलचित्र विधामा प्रतिष्ठित अस्करको मनोनयनमा परेको थियो।

तस्वीर सौजन्य : द भ्वाइस अफ सिक्किमको फेसबुक

विश्वविद्यालयका पाठ्यक्रमा उनका कृति

उनको उपन्यास बसाइँ त्रिभुवन विश्वविद्यालयसहित भारतका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश छ।

नेपालीका सफल उपन्यासकार क्षेत्री आफ्नो स्पष्ट भाषा र विचार तथा प्रस्तुतिका लागि प्रख्यात छन्। उनी आफ्ना रचनामा यथार्थ चित्रण गर्छन्।

उनी आफ्ना विचार पाठकमाथि लाद्नुको साटो उनीहरूलाई विचारको छनोट दिने र आफ्ना सिर्जनामा समस्या तथा विरोधाभास प्रस्तुत गर्छन्।

उनी आसामी, हिन्दी र अंग्रेजी भाषामा दखल राख्ने भए पनि उनको रुचि सधैं आफ्नो मातृभाषा नेपालीमा रह्यो।

तस्वीर सौजन्य : द भ्वाइस अफ सिक्किमको फेसबुक

क्षेत्रीबारे संक्षिप्त जानकारी

क्षेत्रीको जन्म प्रेमबहादुर क्षेत्री र पवित्रा देवीको घरमा सन् १९३३ मार्च १ मा प्रहरी रिजर्भ, एटी रोड, गुवाहाटीमा भएको थियो। उनका बुवा प्रेमबहादुर प्रहरी अधिकृत थिए।

उनले प्रारम्भिक बाल्यकाल र स्कुली शिक्षा शिलोङमा पाएका थिए। कपास कलेजबाट अर्थशास्त्रमा स्नातक गरे।

उनले गुवाहाटी विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे र सन् १९९४ मा आर्य विद्यापीठ कलेजमा अर्थशास्त्र विभाग प्रमुखका रूपमा नियुक्त भए।

क्षेत्री अहिले पत्नी, दुई छोरा पंकज र पल्लव तथा नातिनातिना सहित गुवाहाटीमा बस्छन्। उनकी जेठी छोरी कृष्णा क्षेत्री शास्त्रीय नृत्यांगना हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.