|

धनगढी : हरेक वडामा एक दलित महिला सदस्य अनिवार्य उठाउनुपर्ने प्रावधानले कैलालीमा क्रियाशील राजनीतिक दल समस्यामा परेका छन्।  कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, माले र राष्ट्रिय जनमोर्चाले अधिकांश वडामा दलित महिला उम्मेदवार पाएका छैनन्। 

उम्मेदवार हुन चाहने दलित महिला पाउन मुस्किल भएको नेपाली कांग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए। दलित महिला उम्मेदवारको अभावकै कारण एक दलित महिलालाई आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनाउने तयारीस्वरूप तीन दलका नेता ती आ–आफ्नो पक्षमा पार्ने प्रयास गर्न लागिपरेका छन्। 

एमालेकी नेतृ कलावती जोशीले वडामा दलित महिला उम्मेदवार नपाएको गुनासो गरिन्। ‘पाँच ठूला दलका लागि  जिल्लामा ६ सय ३० दलित महिला चाहिएको छ’ उनले भनिन्, योग्यता पुगेका दलित महिला भेट्नै मुस्किल छ।’  

उम्मेदवार बन्न नेपाली नागरिक हुनुपर्ने, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेलगायत योग्यता तोकिएकोमा २१ वर्ष उमेर पुगेर पनि कतिपय महिलाले अझै नागरिकता लिइनसकेको र अन्य कतिपयले मतदाता नामावलीमा नाम समावेश नगरिसकेका कारण पनि दलित महिला उम्मेदवार पाउन समस्या भएको हो। 

छ नगरपालिका, ६ गाउँपालिका र एक उपमहानगरपालिका गरी कैलालीमा रहेका १३ वटा स्थानीय तहमा जम्मा एकसय २६ वडा रहेका छन्। 'पार्टी र चुनावका विषयमा नै जानकारी नभएका महिलालाई उम्मेदवार बनाउनुको अर्थ छैन', उपसभापति बमले भने, 'तर कानुनी व्यवस्थाले यस्ता महिलालाई नउठाई नहुने बाध्यता सिर्जना भएको छ।' 

माओवादी केन्द्रका नेता हरि चौधरीले पनि दलित महिला उम्मेदवार पाउन निकै सकस भएको स्वीकार गरे। अन्य पार्टीको तुलनामा माओवादी केन्द्रसँग उम्मेदवार हुने दलित महिला भए पनि धेरै वडामा उम्मेदवार नपाउने समस्या उत्पन्न भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.