|

लहान : आफ्नै छिमेकीले ज्यान लिने उद्देश्यले हमला गरेको भन्दै लहान नगरपालिका ३ कि एक महिलाले दिएको उजरी प्रहरीले लिन नमानेको पीडितले गुनासो गरेकी छन्। आफ्नै आँगनको धारामा नुहाइरहेका बेला छिमेकी देवनरायण महतोको घरमा भाडामा बस्ने विद्यार्थीहरुले फोटो खिचेपछि भएको विवादमा लहान ३ कि ४० वर्षकी शिवकुमारी महतो घाइते भएकी थिइन्। उनको गर्धनमा धारिलो हतियार प्रहार गरिएको थियो।

चैत १२ गते दिउँसो भएको उक्त घटनामा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै शिवकुमारीले इलाका प्रहरी कार्यालय लहानमा ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी बुझाएको भएपनि उजुरी दर्ता नगरेको पीडित शिवकुमारीले गुनासो गरिन्। 'घरको आँगनमा श्रीमती नुहाउँदा छिमेकीको घरमा डेरामा बस्ने विद्यार्थीहरुले फोटो खिचेपछि छिमेकी देवनारायण महतोलाई भन्यौं तर उनले उल्टै अपशब्द प्रयोग गर्दै गालीगलौज गरे’ पीडितका पति श्यामसुन्दरले भने ‘फोटो खिचेको विषयमा भएको विवादमा उनीहरुले मेरो पत्नीलाई धारिलो हतियार प्रयोग गरेका थिए।’

धारिलो हतियारको प्रहारबाट गर्धनमा चोट लागेका कारण उनलाई तत्काल एम्बुलेन्समार्फत् लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लगिएको थियो। अस्पतालले अवस्था गम्भीर भएको भन्दै बाहिर पठाउन सल्लाह दिएपछि विराटनगरस्थित गोल्डेन अस्पतालमामा उपचार गरिएको थियो।  श्यामसुन्दरले भने ‘अहिले न्यायका निम्ति प्रहरी कार्यालयमा पुग्दा प्रहरीसँग मिलेर बिचौलियाको काम गर्ने केही व्यक्तिले प्रहरीको हाकिमलाई  खर्च वर्च दिए मुद्दा चाँडै दर्ता हुन्छ, नभए कुटपिटमा जान्छ भन्छन्।’

पीडित शिवकुमारीका पति श्यामसुन्दरले पत्नीलाई धारिलो हतियार प्रयोग गरी रक्ताम्मे बनाएको देखेपछि आफूले तत्काल अस्पताल नपुर्‍याए ज्यान समेत जान सक्ने हुने अवस्थाका कारण आफूले पीडकमाथि ज्यान मार्ने उद्योग अन्तर्गत नै मुद्दा दर्ता गराउन खोजेको बताए।

जग्गाको विवाद थियो : प्रहरी

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक हिराबहादुर पाण्डेले दुवै पक्षबीच जग्गा सम्बन्धी पुरानो झगडाको मुद्दा चलिरहेकाले विवाद उत्पन्न भएको दावी गरे। ‘उक्त घटनालाई छलफलबाट नै टुङ्ग्याउने भनेर अगाडि बढाएका थियौ तर पीडित पक्षले नमानेपछि हामीले कुटपिट मुद्दा हाल्न भनेको भएपनि पीडित पक्षबाट ज्यान मार्ने उद्योगको उजुरी आयो' उनले भने।

इलाका प्रहरी कार्यालय परिसरमै रहेको उजुरी तथा छलफल कक्षमा घरायसी विवाद, लेनदेन, झैझगडा  लगायतका विवाद छलफलको माध्यमबाट टुङ्ग्याउने गरिन्छ। तर रकमको लेनदेन भएपछि गम्भीर प्रकृतिका घटनाहरु समेत बिचौलिया र राजनीतिक दवावको आधारमा पीडितहरुलाई करकापमा पारेर केही रकमको क्षतिपूर्ति दिलाई घटना साम्य बनाउने प्रवृत्ति बढ्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.