|

लहान : सिरहाको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सखुवा नन्कारकट्टी गाउँपालिका ४ सिम्राहाका आगलागी पीडितहरु पछिल्लो तीन दिनदेखि लगातार भएको वर्षातका कारण विचल्लीमा परेका छन्। अग्नि पीडितहरु घर नठडिउञ्जेल त्रिपालमुनि ओत लागेर गुजारा चलाउन बाध्य भए पनि वर्षातले अप्ठ्यारोमा पारेको स्थानीय कारी मण्डलले गुनासो गरे।

‘आगलागीले शरीरमा लगाएको कपडाबाहेक घर टहरा, लत्ता कपडा, अन्नपात, भाँडावर्तनसहित सबै जलेर खरानी भयो’ मण्डलले भने, ‘खण्डहर बनेको घडेरीमा त्रिपाल टाँगेर बस्नु परेको छ, त्यसमा पनि वर्षातको पानी चुहिएर सुत्नै नपाइने भयो।’ सिरहाका विभिन्न भागमा पछिल्लो तीनदिनदेखि पटक– पटक हावाहुरीसँगै पानी परिरहेको छ।

बस्तीमा आगो लागेर सबै सखाप भएपछि स्थानीय पीडितहरु खण्डहर बनेको ठाउँ र बस्ती नजिकैको खाली खेतमा त्रिपाल टाँगेर बस्दै आएका छन्। ‘वर्षातमा चुहिने त्रिपालमुनि जहान बालबच्चाको विचल्ली भयो’ स्थानीय सीताराम मण्डलले दुःखेसो गरे। 

लहानबाट करिब १० किलोमिटर दक्षिणपूर्व पर्ने दलित बस्तीमा चैत २८ गते साँझ भएको भीषण आगलागीमा स्थानीय २९ घर परिवारको करिब ६० वटा घर टहरा जलेर खरानी भएको थियो। इलाका प्रहरी कार्यालय महेशबारीका अनुसार नौ थान पशु चौपाया जलेर मरेको उक्त आगलागीमा डेढ करोड बढीको क्षति भएको थियो।

एकीकृत आवास निर्माणको तयारी

आगलागीमा बस्ती नै सखाप भएपछि खण्डहर बनेको सिम्राहामा प्रकोप व्यवस्थापन समन्वय समिति, सुरक्षा कलष्टर, महिला तथा बालबालिका कार्यालय, सिरहाको निर्णय अनुसार ‘जनता आवास कार्यक्रम’ अन्तरगत एकीकृत आवास बनाउने तयारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सुमन भट्टराईका अनुसार सिम्राहामा एकीकृत बस्ती निर्माणका लागि प्रक्रिया अगाडि बढाउन जिल्ला भवन कार्यालयलाई पत्राचार गरिएको छ।आगामी जेठ सुरु गरिने बताइएको आवास निर्माण कार्यमा मानवअधिकार संरक्षण केन्द्र (सञ्जाल) सिरहा र होप फाउण्डेशन नेपालले श्रमदान गर्ने घोषणा गरेको छ।

अध्ययन सामग्री सहयोग

बस्तीका अग्निपीडितहरुलाई तत्काल राहतका लागि आगलागीको भोलिपल्ट जिल्ला दैवी प्रकोप उद्धार समिति सिरहाले पीडित परिवारलाई राहतस्वरुप जनही पाँच÷पाँच हजार रुपैयाँ नगदसहित एकसरो लत्ताकपडा, भाडावर्तन र त्रिपाल बाँडेको थियो।

त्यस्तै, बस्तीका अग्निपीडित बालबालिकाहरुको अध्ययनमा सघाउन लक्ष्मी ऐजुकेसनल कन्सल्टेन्सी काठमाडौंको सहयोगमा सञ्जाल र फाउण्डेसनको सहकार्यमा २८ जना विद्यार्थीहरुलाई कापी, कलम, झोला सहितका अध्ययन सामग्री वितरण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.