सन्दर्भः लेनिन दिवस

|

सोभियत नेता भ्लादिमिर लेनिनको मृत्यु ५३ वर्षको उमेरमा सन् १९२४ जनवरी २१ मा हृदयाघातबाट भएको थियो। लेनिनको जन्म आजकै दिन अर्थात २२ अप्रिल, १८७० मा भएको थियो। यो दिनलाई विश्वभरका कम्युनिस्टहरुले लेनिन दिवसको रुपमा मनाउने गर्छन्।

हामी तपाईँलाई लेनिनको संघर्षमय जीवनका आश्चर्यजनक तथ्यहरुबारे जानकारी दिँदै छौँ जहाँ उनले गृहयुद्धलाई कसरी क्रान्तिमा फेरे, भूमि र सम्पत्तिको पुनः वितरण कसरी गरे र कसरी राजनीतिक नेतृत्व गरे भन्ने थाहा हुन्छ।

१. दाइलाई मृत्युदण्ड

लेनिनका दाई अलेक्जेन्डर विश्वविद्यालयमा जीव विज्ञानका विद्यार्थी थिए। रुसका सम्राट् जार अलेक्जेन्डर तृतीयलाई बम बिस्फोटन गरी मार्ने षड्यन्त्र गरेको आरोपमा उनलाई सन् १८८७ को मार्चमा पक्राउ गरियो। उनका केही साथीहरुले क्षमादानका लागि अपिल गरेर आफ्नो सजाय कम गरे। तर अलेक्जेन्डरले आफ्नो निष्ठाविरुद्ध हुने भन्दै सुरुमा त्यो बाटो अस्वीकार गरे। पछि उनले जारलाई पत्र पठाएर आफ्नी आमाको लागि आफूमाथि दया गर्न आग्रह गरे। ‘हिजोआज उनको स्वास्थ्य साह्रै बिग्रिएको छ, यदि मलाई मृत्युदण्ड दिइयो भने उनीमाथि झन् गम्भीर संकट आउनेछ’, उनले लेखेका थिए। तर उनको आग्रह सुनिएन, र त्यही साल मे महिनामा उनलाई झुन्ड्याइयो।

२. स्कुलबाट निकालिएका थिए लेनिन

दाइको मृत्यु भएको केही समयपछि १८८७ अगस्टमा लेनिन कानुन अध्ययनका लागि कजान विश्वविद्यालय भर्ना भए। उनी त्यतिबेला १७ वर्षका थिए। त्यही डिसेम्बरमा उनलाई कलेजले निष्कासन गर्‍यो। विद्यार्थी आन्दोलनमा लागेको कसुरमा उनलाई कलेजबाट निकालिएको थियो। पुनः भर्नाका लागि पटकपटक गरेको उनको कोसिस सफल भएन। पछि उनले सेन्ट पिटरस्बर्ग विश्वविद्यालयमा भर्ना पाए। सन् १८९१ मा उनले पढाइ पूरा गरे। केही समय उनले रक्षा वकिलका रुपमा काम गरे। त्यतिन्जेलसम्ममा उनी कम्युनिस्ट विचारक कार्ल मार्क्सका विचारहरुबाट प्रभावित भइसकेका थिए।  

३. साइबेरियामा तीन वर्ष निर्वासित

लेनिनले सन् १८९४ मा पहिलो मार्क्सवादी लेख छापेका थिए। आफूसँग विचार मिल्ने क्रान्तिकारीहरुलाई भेट्न उनले अर्को वर्ष उनी फ्रान्स, जर्मनी र स्विटजरल्यान्डको भ्रमण गरे। रुस फर्किएपछि उनलाई पक्राउ गरियो। उनी एउटा मार्क्सवादी पत्रिकाको पहिलो अंक छाप्ने तयारीमा थिए। उनलाई एक वर्ष जेल हालियो र देश निकाला गरियो। त्यसपछिका केही वर्ष उनले साइबेरियामा बिताए। साइबेरियमा उनले आफूजस्तै देश निकाला गरिएकी एक महिला भेटे। लेखन, सिकार, यात्रा र पौडी त्यतिबेला उनीहरुको दैनिकी थियो। सन् १९०० मा उनले सरकारबाट देश छोड्ने अनुमति पाए। त्यसपछिका १७ वर्ष उनको विदेशमा बित्यो। उनी सन् १९०५ मा स्वदेश फर्किए र असफल विद्रोहको नेतृत्व गरे।  

४. उनको वास्तविक नाम लेनिन होइन

लेनिनको खास नाम भ्लादिमिर इलिच इलियानोभ हो। लेनिनले थुप्रै उपनामहरुबाट आफूलाई चिनाउन कोसिस गरे। सन् १९०२ मा लेनिन नाम राख्नुअघि उनी कहिले ‘के तुलिन’ त कहिले ‘पेत्रोभ’ नामबाट चिनिन्थे। इतिहासकारहरुको भनाइ छ कि लेनिनले साइबेरियाको लेना नदीसँग जोडेर आफ्नो नाम राखेका थिए। रुसका अन्य क्रान्तिकारीहरु पनि तत्कालीन सरकारलाई झुक्याउन अनेक उपनामहरु राख्थे।

५. प्रथम विश्वयुद्धमा रुस हार्छ भन्ने सोच्थे

जब सन् १९१४ मा प्रथम विश्वयुद्ध सरु भयो, रुसका सम्पूर्ण राजनीतिक समूहहरुले युद्धको समर्थन गरे। तर लेनिनको बोल्सेभिक पार्टीले त्यसलाई समर्थन गरेन। उक्त युद्धबाट जार शासनको अन्त्य हुने लेनिनको अनुमान थियो। उनको अनुमान सही साबित भयो। चर्को मूल्यवृद्धि, खाद्यान्न अभाव र सैन्य समस्याका बीच रुसका अन्तिम जार निकोलस द्वीतियले गद्दी छोडे।

विश्वयुद्ध चलिरहेकै बेला रुसमा १९१७ फेब्रुअरीमा जार शासन ढल्यो। लेनिनले विश्वयुद्धमा रुसको दुश्मन रहेको जर्मनीसँग आर्थिक सहयोग लिएका थिए। स्वदेश फर्किएपछि लेनिनले त्यही नोभेम्बरमा अर्को क्रान्तिको खाका कोरे र संघीय सरकारहरुबाट अधिकार आफ्नो हातमा लिए। शासन हत्याएपछि उनको सरकारले पहिलो निर्णय नै जमिनमाथि व्यक्तिको स्वामित्व अन्त्य गरेका थिए। उनले जर्मनहरुसँग औपचारिक युद्ध विराम गरे। सन् १९१८ मा जर्मनीले आत्मसमर्पण गर्‍यो। युद्धमा जितेका धेरै ठाउँ लेनिनले निर्माण गरेको सोभियत संघमा मिलाइयो।  

६. प्रजातन्त्रमाथिको परीक्षण

सत्ता हत्याउनुअघि लेनिन निर्वाचित संविधानसभाका पक्षमा थिए। उनले संविधानसभाले नै क्रान्तिकारी परिवर्तन गर्ने बताएका थिए। तर बोल्सेभिकहरुले १९१७ नोभेम्बरमा भएको चुनावमा नराम्ररी हारे। त्यसपछि लेनिनको टोन फेरिन थाल्यो। उनले पटक पटक संविधान सभामा अवरोध पुर्‍याए। अधिकार कटौतिको प्रयास गरे। त्यो सफल नभएपछि १२ घण्टाको अवधिमा लेनिनले रुसलाई गणतन्त्रात्मक मुलुक घोषणा गरे।

संविधान सभाका अन्य सदस्य सभा स्थगित गरेर घर गए तर उनीहरु अर्को दिनको बैठकमा आउनुअघि नै लेनिनले सभा विघटन गरे। बैठक कक्ष बाहिर सेना परिचालन गरे। ‘जनताको इच्छा’ अनुसार आफूले यो सबै गरेको उनले दावी गरिरहे। पछि लेनिनले सबै राजनीतिक दललाई प्रतिबन्ध लगाए, प्रेसमाथि बन्देज लगाए। उनले आफ्नो शासनलाई ‘शक्तिमा आधारित र कुनै कानुनद्वारा नबाँधिएको’ भन्थे।

७. दाजु असफल भएको ठाउँमा लेनिन सफल

लेनिनका समर्थक र विरोधीबीच युद्ध चलिरहँदा सन् १९१८ जुलाइ १६ को राति जार निकोलस द्वीतीय र उनका परिवारलाई उठाइयो र छिटछिटो कपडा लगाउन भनियो। उनीहरुलाई बन्धक बनाउनेहरुले भने कि बोल्सेभिकविरोधी स्वेत सेना आउन सक्छ, त्यसैले उनीहरुलाई सुरक्षित ठाउँमा सार्नुपर्ने हुन्छ। तर जार, उनकी श्रीमती र पाँचजना सन्तानलाई एउटा कोठामा बन्धक बनाइयो।

हतियारधारी दस्ता त्यहाँ छिर्ने र उनीहरु सबैलाई गोली हान्यो। बोल्सेभिकहरुले स्थानीय अधिकारीहरुले माथि खबर नै नगरी राजपरिवारलाई मार्ने निर्णय गरेको दाबी गर्‍यो। लेनिनको बोल्सेभिक सेना विरुद्ध लडेको ह्‍वाइट आर्मीले पनि कयौँको ज्यान लियो भने बोल्सेभिकहरुले पनि आफूविरोधी राजनीतिज्ञहरुको कत्लेआम गरे। त्यो क्रम झन् त्यतिबेला चर्कियो जब सन् १९१८ मा लेनिनको हत्या प्रयास भयो। लेनिन घाँटी र पाखुरामा गोली लागेर घाइते भए। ‘हामीले ह्‍वाइट आर्मीलाई र्‍याली निकाल्ने मौका दिनुहुन्न’, बोल्सेभिक अधिकारीलाई उद्धृत गर्दै त्रोत्स्की आफ्नो डायरीमा लेख्छन्।   

८. लेनिन स्टालिनलाई शंका गर्थे

स्टालिन लेनिनको निकै नजिक थिए। लेनिनसँग सिधा पहुँच भएकाहरुमध्ये स्टालिन पनि एक थिए। उनी १९२२ अप्रिलमा कम्युनिस्ट पार्टीको महासचिव बनेका थिए। तर लेनिन उनलाई महासचिव बनाउन परेकोमा पश्चाताप गर्थे। उनले १९२२ डिसेम्बर र १९२३ जनवरीमा रुसको कांग्रेसलाई लेखेको चिठ्ठीमा स्टालिनलाई ‘अत्यन्त रुखो’ भनेका छन्।

तर उक्त पत्र लेनिन जिबित होउन्जेल सार्वजनिक गरिएन। उनले भनेका छन्- महासचिवको कार्यालयमा भएको यो असफलता असह्‍य छ।‘ स्टालिनको ठाउँमा ‘अरु कोही धैर्यवान, बफादार, इज्जतदार र कमरेडहरुप्रति चासो दिने व्यक्ति’ चाहिने उनको मत थियो। एउटा अर्को पत्रमा लेनिनले स्टालनमाथि आरोप लगाएका छन्- ‘उनले मेरी श्रीमतीलाई फोन गरेर दुर्व्यवहार गरेका छन्।‘

तर यतिबेला लेनिन तेस्रोपटक हृदयाघातको सामना गर्दै थिए र बोल्न सक्ने अवस्थामा थिएनन्। अन्त्यमा स्टालिनले लेनिनसँगको शक्ति संघर्षमा विजय प्राप्त गरे र २० औँ शताब्दीको एक महान तानाशाहको रुपमा आफूलाई उभ्याए।

९. पार्थीव शरीर प्रदर्शनमा

लेनिनको मृत्युपछि हजारौं शोकाकुल व्यक्तिहरु लेनिनको शव पेटिकामा पुगे। उनको पार्थीव शरीर सबैलाई हेर्न दिइएको थियो। सेन्ट पिटरस्बर्गलाई लेनिनगार्ड नामाकरण गरिएको भोलिपल्ट लेनिनको शोकसभा थियो। मस्कोको रेड स्क्वायरमा एक महिना लगाएर लेनिनको स्थायी समाधीस्थल बनाइयो। लेनिनको पार्थीव शरीर सदाका लागि त्यहाँ प्रदर्शनमा राखियो। तर द्वितीय विश्वयुद्धको चार वर्ष भने उनको पार्थीव शरीर साइबेरिया लगिएको थियो।

हिस्ट्री डट कमबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.