|

मुगु : अन्तरजातीय विवाह गरेका हुम्ला सर्केगाड–१ जैरगाउँका चन्द्रे कामी एक सातादेखि बेपत्ता छन्।

गत बुधबार (२९ मंसिर) राति करिब २० जनाको समूह घरमै आएर निर्घात कुटपिट गर्दै लगिएका चन्द्रको अवस्था प्रहरीले पत्तो पाउन सकेको छैन।

जैरगाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका वडा–४ को लिप्रुगाउँकी १९ वर्षीया सुन्तली मल्लसँग ५ मंसिरमा भागी बिहे गरेका थिए।

मंसिर २९ गते केटी पक्षका मान्छे कामीका घरै पुगी केटाकेटी दुबैलाई माइतीघरमा ल्याई  कुटपिट गरी सार्कीलाई तल्लो जातको मान्छेले ठकुरीको छोरी भगाएको भन्दै बेपत्ता बनाएको सार्कीका आफन्तले आरोप लगाएका छन्।

स्थानीयका अनुसार सुरुदेखि नै सुन्तलीको माइतीपक्षबाट धम्की आएपछि असुरक्षाका कारण उनीहरू सर्केगाड–२ को रिप गाउँमा बस्दै आएका थिए।

छिमेकीका घरमा ताला चन्द्रेको घर तोडफोड

सबै छिमेकीका घरमा बाहिरबाट ताला लगाएर आफ्नो घर तोडफोड गरेको र छोरालाई निर्घात कुटपिट गर्दै बुहारीसहित लिएर गएको चन्द्रका बाबु धनञ्जय कामीले बताए।

‘रातमा २० जनाजतिको समूह आएको थियो। जैरगाउँका सबै छिमेकीका घरमा ताला लगाएर मेरो घरमा आक्रमण गरे। ढोका, झ्याल र छतका दाँतीहरू भत्काएर भित्र छिरे। हामीलाई नबोल्न धम्की दिँदै छोरालाई निर्घात कुटे। छोराबुहारीलाई नै घरबाट लिएर गए। कुट्दै घरबाट लगेको छोरा कहाँ, कुन अवस्थामा छ अत्तोपत्तो छैन’, धनञ्जयले गुनासो गरे।

घटनाको भोलिपल्टै बिहीबार (१ पुस)मा प्रहरीमा जानकारी गराएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी हेरम्ब शर्माका अनुसार घरबाट चन्द्रसँगै उठाएर लगिएकी सुन्तली भने माइतीगाउँमै भेटिएकी छिन्। चन्द्रको अवस्था भने अज्ञात रहेको उनले बताए।

‘युवती गाउँमै भेटिएकी छिन् तर युवकको अझै पत्तो लागेको छैन’, शर्माले भने, ‘खोजी तीव्र पारिएको छ।’

युवतीका बुबा प्रहरी नियन्त्रणमा

प्रहरीले युवतीका बुबालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ। जिप्रकाबाट डिएसपी शर्माकै नेतृत्वमा पाँचजना प्रहरी चन्द्रको खोजीमा खटिएका छन्।

त्यस्तै तुम्च, गल्फागाड, श्रीनगर र सर्केगाड चौकीबाट सम्भावित ठाउँमा खोजी गर्न प्रहरी परिचालन गरिएको छ।

‘युवक हालसम्म सम्पर्कमा आउन सकेका छैनन् तर केटीका बुबालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। एक–दुई दिनमै केटाको अवस्था पत्ता लाग्ला’, डिएसपी शर्माले भने।

धनञ्जयले भने प्रहरीलाई खबर गरेको पाँच दिन बितिसक्दा पनि छोराबारे कुनै खबर प्राप्त नहुँदा तनाव बढेको बताए। दोषीलाई पक्राउ गरेर कारबाही गरी छोराबुहारीलाई न्याय दिलाउन उनले प्रहरीसँग आग्रह गरेका छन्।

भागी विवाह गरेका चन्द्र र सुन्तली दुवै १९ वर्षका रहेको प्रारम्भिक सोधखोजमा खुलेको प्रहरीले जनाएको छ। २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भन्दै कानुनले रोक लगाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.