|

रुकुम (पूर्व) : रुकुम पश्चिममा पहिलोपटक विद्युत् सबस्टेसन बनेको छ। निर्माण सुरु भएको झन्डै ४ वर्षपछि मुसीकोट नगरपालिका–३ धैरेनीचौरमा ३३-११ केभी र ३ एमभीएको विद्युत् सबस्टेसन निर्माण भएको हो।

रुकुम पश्चिम र रुकुमपूर्वको विद्युत् समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणले झन्डै ८ करोड रुपैयाँको लगानीमा सबस्टेसन तयार गरेको छ।

२०७५ वैशाखमा सबस्टेसन निर्माणको जिम्मा लिएको वाइबा कन्स्ट्रक्सनले २०७७ वैशाख ३१ मा काम सक्ने गरी सम्झौता गरेको थियो। तर, कम्पनीको ढिलाइले बल्ल सबस्टेसन निर्माण भएको हो।

प्राधिकरणले छिट्टै सबस्टेसन सञ्चालन हुने जनाएको छ। तयारीस्वरूप ११ दिनयता सल्यानको शीतलपाटी देखि सबस्टेसन सम्मको विद्युत् लाइन चार्जिङको काम भइरहेको छ। लाइन चार्जिङको काम सल्यानको बागचौर नगरपालिका देखि बांगेलाकुरीसम्म भइसकेको छ।

३३-११ केभी र ३ एमभिए क्षमताको विद्युत् सबस्टेसन तयार भएकाले अब पहिलाको जस्तो समस्या व्यहोर्नु नपर्ने वितरण केन्द्र प्रमुख त्रिलोचन भट्टराईले बताए। उनका अनुसार यसअघि सल्यानको शीतलपाटीदेखि जिल्लामा ११ केभी क्षमताको विद्युत् प्रवाह भइरहेको थियो।

अब भने ३३ केभी क्षमताको विद्युत् प्रवाह हुनेछ। आधाभन्दा बढी लाइनमा ३३ केभी क्षमताको विद्युत् प्रवाह सफल भइसकेको उनले जानकारी दिए। ३३ केभी प्रसारणलाई सबस्टेसन भित्र छिराएर ११ केभी प्रसारण लाइन उपभोक्तामा पठाउने तयारी प्राधिकरणको छ। अब धेरैनीचौरबाट ११ केभी प्रसारण लाइन वितरण हुने र यसबाट विद्युत् अनियमित हुने समस्या हट्ने दाबी भट्टराईको छ।

रुकुम पश्चिम र रुकुमपूर्वमा गरी १६ हजारभन्दा बढी उपभोक्ताको घरमा प्राधिकरणको विद्युत् जडान भएको छ। रुकुम पश्चिमका १५ हजार उपभोक्ताको घरमा र पूर्वका १ हजार ३ सय घरमा विद्युत् लाइन जडान भएको हो। विद्युत् आपूर्ति नियमित हुने भएपछि स्थानीय पनि उत्साहित छन्।

‘भनिए अनुसार भयो भने त राम्रो भयो’ बाँफिकोट गाउँपालिका–६ का डिलबहादुर कुसारीले भने, ‘पटकपटक गइरहने र सन्तुलनमा नभएको विद्युतले साह्रै दुःख दिएको छ ।’

पछिल्लो चरणमा जिल्लाका प्रायः ठाउँमा विद्युतीकरण भएको छ। तर विद्युत् नियमित नहुँदा समस्या छ। अब विद्युत् नियमित हुने भएपछि खुसी लागेको अर्का उपभोक्ता आशीराम खत्रीले बताए। ‘बत्ती अनियमित हुने भोल्टेज पनि तलमाथि भइरहँदा उपकरणमा पनि ठूलो क्षति बेहोर्नुपरेको थियो’ उनले भने, ‘अब त्यसो हुँदैन भनिएको छ, यसबाट उत्साहित नै छौं ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.