|

मुगु : जिल्लाको छायाँनाथ रारा नगरपालिकाले निर्माण सम्पन्न वडा कार्यालय भवन र आधारभूत स्वास्थ्यकेन्द्रको भवन वडा कार्यालयलाई हस्तान्तरण गरेको छ।

छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटिलामा निर्माण सम्पन्न दुई भवन आधारभूत स्वास्थ्यकेन्द्र र वडा कार्यालय भवन आइतबार नगर प्रमुख हरिजंग शाहीले विधिवत् रूपमा उद्घाटन गरी भवन वडा कार्यालयलाई हस्तान्तरण गरेका हुन्।

निर्माण सम्पन्न वडा नं ६ का वडा कार्यालय भवन र आधारभूत स्वास्थ्यकेन्द्र भवन वडा कार्यालयलाई हस्तान्तरण गरिएको र बाँकी वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणाधीन अवस्थामा रहेकाले निर्माण सकिएपछि उक्त भवन पनि वडा कार्यालयलाई हस्तान्तरण गरिने नगर प्रमुख हरिजंग शाहीले बताए।

उनका अनुसार नगरपालिकाभित्रका प्रत्येक १४ वटा वडामा वडा कार्यालय र १० वटा आधारभूत स्वास्थ्यकेन्द्र निर्माण गरिनेछन्।

​सेवा र स्वास्थ्यको सहज पहुँचका लागि छायाँनाथ रारा नगरपालिकाभित्रका १४ वडाका प्रत्येक वडामा ४५ लाख बराबरको वडा कार्यालय भवन तथा ३८ लाख बराबरको आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवन निर्माण भइरहेका छन्।

अहिलेसम्म वडा नम्बर ८ र ९ नम्बरको आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन र वडा नम्बर ३ को पनि आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणपछि सम्बन्धित वडा कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ।

आइतबार निर्माण सम्पन्न भएका वडा नं ६ कोटिलाका वडा कार्यालय भवन र आधारभूत स्वास्थ्यकेन्द्र भवन पनि हस्तान्तरण गरिएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ। बाँकी वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणाधीन अवस्थामा छन्।

घरको आँगनमै स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि छायाँनाथ रारा नगरपालिका वडा नं ६ का स्थानीय उपचारमा सहज हुने बताउँछन्।

सामान्य बिरामी भए घण्टौं हिँडेर जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटेको भन्दै सबैको मुहारमा खुसी छाएको छ।

यसलाई अझै नियमित र व्यवस्थित गर्नुपर्ने नागरिकका सेवा र सुविधाका निम्ति वडा कार्यालयले पनि नगरपालिकासँग समन्वय गरी हरेक सेवा सुविधाको व्यवस्था गरिनुपर्ने वडा नं ६ का स्थानीयको भनाइ छ।



 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.