|

पर्वत : स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा पर्वतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेलको तयारी तिब्र भएको छ। दुई दलबीच निर्वाचनमा मिलेर जाने भनी जिल्ला तहका नेताहरुबीच पटक पटक अनौपचारिक रुपमा आन्तरिक छलफल भइसकेका छन्।

आइतबार माओवादी केन्द्रका नेता दीनानाथ शर्माकै उपस्थितिमा पहिलो चरण छलफल भएको छ। नेता शर्माको उपस्थितिमा कांग्रेसको उच्च तहसँग छलफल भएको भएपनि त्यसबाट ठोस निश्कर्ष भने निस्कन सकेन।

कांग्रेस स्रोतका अनुसार कुश्मा नगरपालिकामा कांग्रेसबाट नगर प्रमुखका दाबेदार रामचन्द्र जोशीसँग कुश्मा नगरपालिकामा कसरी भागबण्डा मिलाउने भन्ने विषयमा आइतबारको छलफल केन्द्रित भएको थियो। जिल्लामा कांग्रेस र माओवादी मिलेमा सबै स्थानीय तहहरु जित्न सकिने निश्कर्ष निकाल्दै माओवादी केन्द्रले एमालेसँग भन्दा कांग्रेससँग मिलेमा बढी फाइदा हुने ठहर गरेको छ।

माओवादी केन्द्रले आफूले जित्ने सम्भावना रहेको ठाउँमा एकल रुपमा र नजित्ने ठाउँमा अन्य दलहरुसंगको सहकार्यमा चुनाव लड्ने रणनीति तयार पारेसंगै पर्वतमा तालमेलको लागि प्रयास भइरहेको नेता दीनानाथ शर्माले बताए। पार्टीले अन्य दलहरुसँग मिलेर चुनाव लड्न सकिने गरी नीति तय गरेकाले स्थानीय आवश्यकता अनुसार तालमेल हुने उनको भनाइ छ।

पर्वत जिल्लामा माओवादी केन्द्रले जित्न सक्ने गाउँपालिका तथा नगरपालिका नभएकाले अन्य दलहरुसँग सहकार्य गर्नेगरि विभिन्न चरणमा छलफल चलाएको हो। माओवादी केन्द्रले अहिलेको स्थानीय तहमा कुनै स्थान जित्न नसकेमा आफ्नो पार्टीका कार्यकर्ताको मनोबल घट्ने निश्कर्ष निकाल्दै एमालेसँग पनि तालमेलको लागि लागि वार्ता गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.