|

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बजेट तथा जनशक्तिको अभावका कारण पुनर्निर्माणको कामले गति लिन नसकेको जनाएको छ। भूकम्प गएको २ वर्ष बित्दै लाग्दा प्राधिकरणले सोमबार गरेको पत्रकार सम्मेलनमा सीईओ डा. गोविन्द पोखरेलले भूकम्प पीडितहरुको आवास निर्माणमा जनशक्ति अभाव प्रमुख चुनौती बनेको बताए। 

मंगलबार प्रलयकारी ७ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको २ वर्ष पुरा हुँदैछ। अब भने प्राधिकरणले पुनर्निर्माणको कामलाई तिव्र गतिमा अघि बढाउने प्राधिकरणले जनाएको छ। प्राधिकरणका सीईओ पोखरेलले पुनर्निर्माणका लागि सरकारले आवश्यकताभन्दा ५० प्रतिशत कम बजेट उपलब्ध गराएको गुनासो गरे। 

कार्यक्रममा अहिलेसम्म ४० प्रतिशत भूकम्प पीडितहरुको आवास निर्माणको काम भइरहेको तथ्यांक पेश गरिएको थियो। तर त्यसमा पनि पहिलो किस्ताको रकम नपाउनेहरुको संख्या उल्लेख रहेको प्राधिकरणकै वेबसाईटमा उल्लेख छ।

प्राधिकरणले १ लाख २९ हजार ९ सय ८ वटा गुनासो आएको जनाएपनि त्यसलाई सम्बोधन भने गर्न नसकेको देखिएको छ। यी सबै समस्या स्थानीय तहको निर्वाचनपछि समाधान हुने सीईओ पोखरेलले बताए।

प्राधिकरणले ९० वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माणको काम भइरहेकोमा १ वटा बौद्धनाथ क्षेत्रको मात्रै पुनर्निर्माण सम्पन्न भएको विवरण प्रस्तुत गरेको छ। भूकम्पमा परी ७ सय ५० वटा पुरातात्विक सम्पदाहरुको क्षति भएको विवरण प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

२ सयवटा स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणको काम सम्पन्न भएका छन्। त्यसै गरी ३ सय ६३ वटा खानेपानी आयोजनाको काम सम्पन्न गरिएको छ। प्राधिकरणले चालू आर्थिक वर्षभित्र १ सय ४६ वटा खानेपानी आयोजनाहरुको पुनर्निर्माणको कामलाई सम्पन्न गर्ने योजना पनि बनाएको छ।

प्राधिकरणको तथ्यांकमा हालसम्म लाभग्राही आफैले निर्माण गरेका आवासको संख्या १८ हजार ६ सय ३३ जना रहेको उल्लेख छ। सरकारले पाँच वर्षभित्र भूकम्पपछिको पुनर्निमाणको काम सम्पन्न गर्ने गरी प्राधिकरणको गठन गरेको हो। प्राधिकरणले भूकम्प प्रभावित १४ जिल्लाको आवास निर्माणको कामलाई अघि बढाएपनि उल्लेख्य काम नभएको सेवाग्राहीहरुको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.