|
फोटो : reuters

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका विषयमा विवादित कदम नचाल्ने बताएकी छिन्। प्रधानमन्त्री केपी ओली विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भएका बेला राजनीतिक परामर्शमा जुटेकी राष्ट्रपति भण्डारीले सरकार गठनका सवालमा कुनै विवादित कदम नचाल्ने प्रष्ट्याएकी हुन्।

दलहरुबीच नयाँ सरकार गठनको विषयमा विवाद चुलिँदै गएपछि सर्वोच्च अदालतको परामर्श लिने विचारमा पुगेकी उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटमा संसदको निर्णयभन्दा बाहिर नजाने जानकारी गराएकी हुन्।

कांग्रेस सभापति देउवासँगको भेटमा राष्ट्रपति भण्डारीको भनाई उद्दृत गर्दै देउवाका सहयोगी भानु देउजाले भने, ‘नयाँ सरकार गठनका विषयमा मैलै छुट्टै निर्णय लिने कुरा हुँदैन, संवैधानिक व्यवस्था अनुसार र संसदको निर्णय अनुसार म अघि बढ्छु। संविधान विपरित गएर विवादित हुने काम गर्दिन।’

भेटमा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विवादित कदम नचाल्न आग्रह गरेका थिए। उनीहरुले संसदको निर्णयलाई मानेर अघि बढ्नु उपयुक्त हुने बताएका थिए।

प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएमा उनी पदमुक्त हुनेछन्। प्रधानमन्त्री पदमुक्त भएपछि नयाँ सरकार कसरी गठन गर्ने भन्ने विषयमा संविधानमा स्पष्ट व्यवस्था नभएको र भएकोमा राजनीतिक दलका नेता र कानुनविदहरु विभाजित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.