|
तस्वीर : निर्माणाधीन भिमान बसपार्क

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानमा निर्माणाधीन आधुनिक किसिमको बसपार्क निर्माणको काम अहिले धमाधम भइरहेको छ।

निर्माण सुरु भएको करिब १० महिनाको अवधिमा बसपार्क निर्माणको काम हालसम्म झन्डै ४० प्रतिशत सकिएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले जनाएको छ।

२०७७ सालको फागुन २४ गतेबाट निर्माण सुरु भएको बसपार्क निर्माणको काम अहिलेसम्म सन्ताषजनक नै रहेको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख इन्जिनियर दुर्गाप्रसाद घिमिरेले बताए।

विशेष गरी बिपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गमा गुड्ने सवारी साधनहरूलाई लक्षित गरी बागमती प्रदेश सरकारले भिमानमा बसपार्क निर्माण गरेको हो। ‘यो बसपार्क खासगरी बिपी राजमार्ग र मदन भण्डारी राजमार्गलाई लक्षित गरी बनाइएको हो। यहाँ यी दुई सडकमा गुड्ने गाडी र स्थानीय सडकमा गुड्ने गाडीहरू पार्किङ गर्न सकिन्छ’ प्रमुख घिमिरेले भने।

बागमती प्रदेश सरकारको कुल ४ करोड १५ लाख लागतमा भिमानमा बस पार्क निर्माण भइरहेको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख इन्जिनियर घिमिरेले जानकारी दिए। 

बागमती प्रदेशको ७ करोड २२ लाख बजेटमा ठेक्का प्रक्रियामा विकास एण्ड ब्रदर्श आत्रेय श्रीकृष्ण जेभीले ४ करोड १५ लाखमा बस पार्क निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको हो। निर्माणाधीन बसपार्कमा साना ठुला गरी एक सय सवारीसाधन अटाउने सक्ने क्षमताको बन्ने प्रमुख घिमिरले बताए।

प्रमुख घिमिरेका अनुसार बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने हेङगर, यात्रु प्रतिक्षालय, टिकट काउण्टर सहितको ३ तलाको कार्यालय भवन, सवारी साधन मर्मत गर्ने ठाउँ र शौचालय निर्माण हुनेछ।

निर्माण कम्पनीले आगामी असार मसान्त सम्ममा बसपार्क निर्माण सम्पन्न गरी सक्नुपर्ने प्रमुख घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.