|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। माओवादी केन्द्र सरकारबाट बाहिरिँदै प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि राजीनामा नदिने तर संसद सामना गर्ने अडान लिँदै आएका प्रधानमन्त्रीले संसदमा उक्त प्रस्तावमाथि निर्णय हुनुअघि नै राजीनामा दिएका हुन्।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा पेश गरी प्रधानमन्त्री ओली संसदमा अविश्वासको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन पुगेका थिए। सांसदहरुका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले अन्त्यमा आफूले राजीनामा दिएको औपचारिक घोषणा गरे। 

'कतिपयलाई लाग्ला अविश्वासको प्रस्ताव पास हुन्छ, मलाई के मतलब?', संसदमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, 'मेरा निम्ति पद र ओहोदाले महत्व राख्दैन।' 

कानुनका छिद्र प्रयोग गरेर आफू सत्ता लम्ब्याउने खेलमा नरहेको बताउँदै उनले सत्ता लम्ब्याउन खोजेको आरोप अस्वीकार गरे। 

'आउनुअघि मैले राष्ट्रपतिलाई भेटेको छु। मलाई प्रधानमन्त्रीमा निर्वाचित गर्ने बहुमत सदस्यको समर्थन मलाई प्राप्त हुँदैन भन्ने मैले बुझेको छु', ओलीले भने, 'मैले राष्ट्रपतिज्यूसमक्ष राजीनामा पेश गरेको छु।'

प्रधानमन्त्रीले संविधानको धारा ३०५ अनुसार नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्न बाधा अड्काउ फुकाउनको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको ओलीले सदनलाई जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.