हातपात गर्नु प्रहरीको गल्ती हो : प्रजिअ

|

दैलेख : दैलेख प्रहरीमा सेवा लिन आएका एक सेवाग्राही प्रहरीबाटै कुटिएका छन्। नारायण नगरपालिका–६ बसपार्कका ओम रेग्मीको चार महिनाअघि हराएको मोबाइल फेला परेपछि प्रहरीमा दिएको निवेदनअनुसार फेला पार्ने मान्छेसहित आइतबार जानकारी गराउन जाँदा जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्र जित सुनारले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका हुन्।

पीडित रेग्मीले उपलब्ध गराएको भिडियोमा इन्स्पेक्टर सुनारले प्रहरीले नागरिकलाई दिने मुस्कानसहितको सेवाको बर्खिलाप मुक्का प्रहार गरेको देखिन्छ। रेग्मीले चार महिनाअघि घर अगाडिबाट हराएको मोबाइल खोजीपाऊँ भनेर प्रहरीमा निवेदन दिएको र प्रहरीले चासो नदेखाएपछि आफैँ विभिन्न माध्यमबाट फेला पारेको बताए।

‘हराएको मोबाइल खोजीपाऊँ भनेर प्रहरीमा दिएको निवेदनको सुनुवाइ हुनु त परको कुरा हो चार महिना लगाएर मोबाइल आफैँले भेट्टाएपछि प्रहरीलाई जानकारी गराऔँ भेटाउने र हराउने दुवै जनाको साइन गराएर मोबाइल बुझ्छुभन्दा इन्स्पेक्टरबाट कुटाई खानुपर्‍यो' उनले भने।

इन्स्पेक्टर इन्द्र जित सुनारले मुक्का प्रहार गरेको भिडियोमा रेग्मीको गल्ती भने देखिँदैन। उनले हराएको मोबाइल फेला परेपछि प्रहरीमा दिएको निवेदनका आधारमा भेट्टाउने र बुझ्नेको साइन गराएर मात्र मोबाइल बुझ्ने भनेको सुनिन्छ। तर, इन्स्पेक्टर सुनारले आफूलाई कानुन नसिकाउन भन्दै अपशब्द बोलेको सुनिन्छ।

सुनारले मुला शब्द प्रयोग गर्दै यहाँको अनुसन्धानको विषयमा नसिकाउन भनेका छन्। रेग्मीले दुवै जनाको साइनबिना मोबाइल नबुझ्ने भनेर बाहिरिएपछि पुनः इन्स्पेक्टर सुनारले आफ्नो कार्यकक्षमा बोलाएर सेवाग्राही रेग्मीलाई मुक्का प्रहार गरेको देखिन्छ।

भिडियो :

 

पीडित रेग्मीले मुद्दा फाँटमा रहेका एक प्रहरीका कारण आफूले बिना गल्ती कुटाइ खानुपरेको दु:खेसो सुनाए। उनले भने, मुद्दा फाँटमा रहेका प्रहरीका कारण बिना गल्ती कुटाइ खानुपरेको छ' उनले थाहाखबरसँग, 'ठूलो सानो जो भए पनि सबैले कानुन मान्नुपर्छ यसरी बिना गल्ती हातपात गरेर प्रहरीले ममाथि झन् अन्याय गरेको छ।'

रेग्मीले मोबाइल फेला पार्ने मान्छेसहित प्रहरीमा लगिएको भए पनि उनलाई कुनै सोधपुछबिना पठाएको बताए।

हातपात गर्नु प्रहरीको गल्ती हो : प्रजिअ

यता, दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले प्रहरीले सेवा लिन आउने नागरिकमाथि हातपात गर्न नपाइने बताए। उनले भने, 'प्रहरीले हातपात गर्नु हुँदैनथ्यो यो घटनाक्रम हेर्दा प्रहरीको गल्ती भएको देखिन्छ।'  साथै उनले भिडियो बनाउने मान्छेले पनि बिना अनुमति यस्तो कार्य गर्न नपाइने बताए।

घटनाबारे थाहा छैन : प्रहरी प्रमुख

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले घटनाबारे आफूले कुनै पनि जानकारी नपाएको बताए। उनले हिजो (आइतबार) आफू बाहिर भएकाले उक्त विषयमा धेरै जानकारी नभएको बताए। 'हिजो म बाहिर थिएँ उक्त विषयमा धेरै जानकारी छैन। के भएको रहेछ बुझ्नुपर्छ' प्रहरी प्रमुख शाहले थाहा खबरसँग भने।

तपाईंले सेवाग्राहीलाई बिना गल्ती हातपात गर्नुभएको रहेछ नि? भन्ने  थाहाखबरको प्रश्नमा इन्स्पेक्टर इन्द्र जित सुनारले फोनमा केही खुलाउन चाहेनन्। उनले फोनमा भन्दा पनि प्रहरी कार्यालयमै आए आफूले सबै कुराको जानकारी गराउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.