|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधन विधेयक असफल पार्न सम्पूर्ण प्रयत्न गर्ने निर्णय गरेको छ। शनिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटीको ६३ औं बैठकले ‘सम्पूर्ण प्रयत्नका साथ विधेयकलाई असफल पार्ने’ निर्णय गरेको हो।

एमालेले विधेयक फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण पनि गरेको छ। ‘बैठकले व्यवस्थापिका–संसदमा सरकारका तर्फबाट प्रस्तुत संविधान संशोधन विधेयकलाई फिर्ता गरी राजनीतिक सहमति निर्माण गर्न र घोषित निर्वाचन सम्पन्न गर्ने दिशातर्फ अघि बढ्न सरकारको ध्यानाकर्षण गर्नुका साथै सम्पूर्ण प्रयत्नका साथ उक्त विधेयकलाई असफल पार्ने निर्णय गरेको छ’, बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि राजनीतिक दलहरुसँग संवाद र परामर्श गर्दै अघि बढ्ने निर्णय गरेको छ।‘

बैठकले वैशाख ३१ मा नै निर्वाचन सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएको छ। ‘स्थानीय तहको घोषित निर्वाचनलाई नै अन्यौल र अनिश्चिततातिर धकेल्न विभिन्न पक्षबाट भएका षड्यन्त्रलाई असफल पार्दै घोषित २०७४ वैशाख ३१ मा नै सम्पन्न गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्दै त्यसका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएको’ विज्ञप्तिमा उल्लेख छ। 

उम्मेदवार चयनबारे छलफल

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयनबारे पनि छलफल भएको छ। प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवारको विवरण प्रस्तुत गरेका थिए।

प्रदेश नम्बर ६ का २५ नगरपालिका र ५७ गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रुपमा  उम्मेदवार निर्णय भइसकेको ज्ञवालीले रिपोर्टिङ गरेका थिए। यस्तै प्रदेश ३ का महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको शाक्यले रिपोर्टिङ गरेकी थिइन्। आइतबारसम्म उम्मेदवार चयन भइसक्ने उनको भनाई थियो।

सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवारको टुंगो लागिसकेको छ भने अन्य जिल्लामा पनि ९० प्रतिशत भन्दा बढी स्थानमा उम्मेदवारहरु सर्वसम्मत रुपमा चयन भएका छन्। थोरै स्थानमा बाँकी रहेका उम्मेदवारहरुको चयन भोलिसम्ममा गर्ने एमालेको तयारी छ।

यस्तै प्रदेश नम्बर ४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ। उक्त प्रदेशका बारेमा अर्को बैठकमा छलफल हुने छ। चयन भएका उम्मेदवारहरुलाई पार्टीका तर्फबाट उम्मेदवारहरुको प्रमाणित पत्र पठाइ सकिएको एमालेले जनाएको छ।

एमालेले आइतबार स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्दै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.