|

काठमाडौं : महाशिवरात्रिको तयारी सुरु भएसँगै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नेको भीड बढ्न थालेको छ। 

कोरोनाको तेस्रो लहर बढ्दै गएपछि माघ ५ गतेदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको थियो। विशेष पूजा भने माघ २९ गते शनिबारदेखि सुरु भएको हो। त्यसयता १० दिनको अवधिमा मात्रै एक हजारभन्दा बढी विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

यो अवधिको विशेष पूजाबाट १६ लाख ८८ हजार ७ सय रुपैयाँ कोषमा जम्मा भएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। पशुपतिनाथ मन्दिरमा एक हजार एक सय देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ। कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ। 

विशेष पूजाबाट कोषलाई वार्षिक झण्डै १० करोडसम्म आम्दानी हुने गरेको छ। आर्थिक वर्ष २०७५/७६ मा विशेष पूजाबाट नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो। आव २०७६/७७ को चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो। कोरोनाका कारण करिब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि त्यस आर्थिक वर्षमा छ करोड एक लाख ८९ हजार ४७५ रुपैयाँ आम्दानी भएको कोषले जनाएको छ। 

कोषले यस वर्ष फागुन १७ गते परेको महाशिवरात्रिका लागि तयारी पनि सुरु गरेको छ। तयारीका लागि आज मूल समारोह समिति, उपसमितिका पदाधिकारीलगायत सञ्चारकर्मी र सरोकार भएका निकायका अधिकारीसँग अन्तरक्रिया गर्न लागिएको कोषले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.