|

पविता पौडेल


बुटवल : गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सबै काम पूरा भएर क्यालिब्रेसन उडान भएको आज पाँचौँ दिन हो।

विमानस्थलमा जडान गरिएका उपकरणले राम्रोसँग काम गरेका छन् वा छैनन् भनेर जहाज उडान गराएर परीक्षण गरिने प्रक्रिया क्यालिब्रेसन उडान हो। 

विमानस्थल क्यालिब्रेसन उडानसँगै त्यहाँका स्थानीय र होटल व्यवसायीहरू उत्साहित भएका छन् वरिपरिका होटल रङरोगन, मर्मत सम्हार, नयाँ तारे होटल निर्माणका काम तीव्र गतिमा भइरहेका छन्। त्यहाँ होटलका लागि तीनवटा ७ तले ठूला भवन निर्माण भइरहेका छन्।

भर्खर आफ्नो घर मर्मत सकाएर रेष्टुराँ चलाएकी स्थानीय विपना रानाले आफू धेरै उत्साहित भएको बताउँदै उडान सञ्चालन भएपछि आफ्नो रेष्टुराँमा चहलपहल बढ्ने र व्यवसाय चल्ने कुरामा ढुक्क छिन्। उनी भन्छिन्‚ 'अब यहाँका होटल व्यवसायी मालामाल हुन्छन्।'

सिद्धार्थ नगरपालिकामा रहेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण सञ्चालनदेखि नै त्यहाँ वरिपरि बाटोघाटो निर्माण रङरोगन गरेर झिलिमिली पारिएको थियो। 

गौतम बुद्धको जन्मस्थल नजिकै रहेको उक्त विमानस्थल यात्रा गर्ने उद्देश्यले मात्र नभई लुम्बिनी भ्रमणका लागि आउने पर्यटकहरूलाई समेत यात्रा गर्न  धेरै सजिलो हुनेछ।

उक्त विमानस्थल नहुँदा यात्रु काठमाडौँ पुगेर मात्र आफ्नो देश फर्कन सक्थे भने उक्त विमानस्थल बनेपछि पर्यटक सोझै आफ्नो देश फर्कन सक्नेछन्।

करिब ६० बर्षको आन्तरिक विमानस्थल सञ्चालनको  लामो इतिहास बोकेको गौतमबुद्ध  विमानस्थल १५ सय मि., लम्बाइ ३० मि.को चौडाइ धावनमार्ग ४ वटा आन्तरिक उडान गर्ने पार्किङस्थल पुरानो सानो टर्मिनलबाट अहिले उडान भइरहेको छ।

आइसिएओ कोडबिना जहाज अवतरण गर्ने यस विमानस्थलमा युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गौतम बुद्धको जन्मस्थल विश्वभर चिनाउने र विश्वका धर्मावलम्बीहरू अन्य पर्यटकलाई लुम्बिनी भ्रमण प्रत्यक्ष सहयोग पुग्ने रोजगारी सृजना गर्ने काममा सहयोग पुर्‍याउने देखिन्छ।

एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदा पूर्व पश्चिम देशभरका यात्रु विदेश जानुपर्दा  काठमाडौँ जानुपर्ने झन्झटलाई यो विमानस्थलले मेटाएको छ। अब विदेश जाँदा पश्चिम भेगका यात्रु  गौतमबुद्ध अन्तरराष्ट्रिय  विमानस्थलबाट वढी लाभान्वित हुनेछन्।

बिमानस्थलको हालसम्म ९९ प्रतिशत भौतिक प्रगति भएको र वित्तीय प्रगति ७८ प्रतिशत भएको सूचना अधिकारी मोहन आचार्यले जानकारी दिए।

सूचना अधिकारी आचार्यका अनुसार आयोजनाअन्तर्गत सम्पूर्ण भौतिक संरचना तथा उपकरण जडानका सबै काम सम्पन भइसकेका छन्। चिनियाँ कम्पनीका तर्फबाट विमानस्थलको टर्मिनल भवन सरसफाइको काम र एरो थाई कम्पनीका तर्फबाट उपकरणको क्यालिब्रेसन उडानको काम भइरहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेका अनुसार आगामी १ वैशाखदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शुभारम्भ गरिने भएको छ।

मन्त्री आले विमानस्थलको निरीक्षण गर्न शनिबार भैरहवा आएका बेला विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएपछि नेपाल एयरलाइन्सको विमान वाइडबडीबाट परीक्षण उडान गरिने बताए थिए।

उनले यान्त्रिक परीक्षण उडानको मिति १५ फागुनका लागि तोकिए पनि त्यसअघि नै गर्न पाउँदा खुशी व्यक्त गरेका थिए।

५६ दिनमा क्यालिब्रेसन फ्लाइटको रिपोर्ट आउने भए पनि आफूले विमानस्थल आयोजना तथा एरो थाई कम्पनीका परियोजना निर्देशक तथा नेपाल प्रतिनिधिलाई अहोरात्र खटेर ४२ दिनमै रिपोर्ट पेश गर्न अनुरोध गरेका थिए। 

दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ निर्माण कम्पनीलाई ६ अर्ब ८२ करोडमा र एरो थाई कम्पनीलाई ५० करोडमा पहिलो चरणको निर्माण कार्यका लागि ठेक्कामा दिएको थियो।

आयोजनाले अहिलेसम्म भौतिक संरचनाका सबै काम सम्पन्न भइसकेको जनाएको छ।

२८६ बिघा क्षेत्रफलमा फैलिएको पुरानो विमानस्थललाई ५ सय बिघा जमिन अधिग्रहण गरी ८ सय बिघामा पुर्‍याउने योजनामा ९८ प्रतिशत जग्गा प्राप्त भइसकेको छ। सरकारले जग्गा अधिग्रहण गरेबापत २३ अर्ब ५९ करोड रकम तिर्नुपर्ने अनुमान गरेको छ।           

लुम्बिनी प्रदेश प्रमुख कुलमान केसीले अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थलबाट देशभरिका यात्रु लाभान्वित हुने बताउँदै उनले भने, 'विमानस्थल विकास निर्माणका लागि प्रस्तावित काम अझै बाँकी छन्। हामीले ती काम पनि पूरा गर्न आवश्यक सहयोग गर्नेछौँ।'

कोभिडका कारण जारी लगडाउनका कारण अन्तरराष्ट्रिय उडान बन्द हुँदा विदेशी जनशक्ति  समयमा ल्याउन नसक्दा र स्थानीय स्तरमा समेत जनशक्ति व्यवस्थापनमा समस्या भएका कारण विमानस्थल निर्माणमा कठिनाइ भएको थियो।

कोभिडका कारण  विभिन्न देशबाट उपकरण ल्याउन समस्या भएकाले विमानस्थल निर्माणको काम ढिलो भएको सूचना अधिकारी आचार्यले बताए।

उनले कोभिडकै कारण ढुङ्गा, बालुवा, गिट्टी, माटो लगायतमा निर्माण सामग्री उपलब्ध गराउन अप्ठेरो भएको बन्द, हडताल, नाकाबन्दी, चुनाव र भूकम्पले आयोजना निर्माण सामग्री मजदुर व्यवस्थापनमा धेरै समस्या भएको बताए।

कोभिडका कारण आयोजना समयमा सम्पन्न हुन सकेन

विमानस्थलको प्रस्तावित दोस्रो चरणका केही काम भने बाँकी छन्। नयाँ अन्तरराष्ट्रिय टर्मिनल भवन निर्माणअन्तर्गत  डिपीआर तयार पार्ने काम सम्पन्न भएको छ। यसमा लागत अनुमान  १४  अर्ब रहेको छ।

पुरानो धावनमार्गलाई नयाँ समानान्तर टयाक्सी वे बनाउने कामअन्तर्गत डिपीआर तयार गर्ने काम सकिएको छ। यसको लागत अनुमान ४ अर्ब रहेको छ।

अब बुद्धजयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बी गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सोझै आउनेछन्। विमानस्थलको दोस्रो चरणको कामका लागि  टर्मिनल भवनका लागि छिटै टेण्डर प्रक्रिया अगाडि बढाइँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.