ठूला दलको मिशन मधेशमा, सत्तारोहणको दाउ हेर्दै लोसपा

|

काठमाडौं : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै ठूला राजनीतिक दलहरु मधेशमा सक्रिय भएर लागिरहेका छन्।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरुको दौड मधेशतिर छ। 

मधेश केन्द्रित दलहरु आ-आफ्नो एजेण्डामा अडिग हुन नसक्दा ठूला दलहरूको सक्रियता बढेको छ। मधेशी दलहरु व्यक्तिगत स्वार्थ र सत्ताको स्वादमा रमेपछि कांग्रेस, एमाले, माओवादी हावी हुँदै गइरहेका छन्। 

तर,मधेशवादी दलहरु व्यक्तिगत स्वार्थमा बढी केन्द्रित भएकाले पछिल्लो समय राजनीतिक दल परिवर्तनको लहर नै चलेका जानकारहरु बताउँछन्। मधेशकेन्द्रित दल स्वार्थले टुटफुट हुँदै गएका छन्।

मधेशी दलहरूलाई एकताबद्ध गर्न संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच एकता गरेर जनता समाजवादी पार्टी गठन भएको थियो। तर, उपेन्द्र यादव र महन्थ ठाकुरको आन्तरिक टकरावले टिक्न सकेन। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि ठाकुर पक्ष ओली पक्षमा खुलेपछि जसपा विभाजन भएको थियो। उपेन्द्र यादवले जसपाको आधिकारिकता हत्याउन सफल भएपनि अहिले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँगकाे टकरावले पार्टी नै धर्मराएको अवस्था छ। 

त्यसो त जसपाबाट विभाजित भएर गएको लोकतान्त्रिक समाजवादी पार्टीमा पनि उस्तै लफडा छ। अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच कुरा मिल्न सकिरहेको छैन। 

ठूला दलहरु मधेशमा आफ्नो पक्षमा निर्वाचनको माहोल बनाउन लागिरहेको भए पनि लोसपा भने फेरि ओलीविरुद्ध बनेको पाँच दलीय गठबन्धनको सरकारमा जाने भर्‍याङ खोजिरहेको छ। 

जसपा ओलीविरुद्ध सुरुदेखि नै लागेको भए पनि ओली नेतृत्वको सरकारमा गएका ठाकुर पक्षले बहिर्गमनको बेलामा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए। 

देउवालाई विश्वासको मत दिएर सहकार्यको गोरेटो खोलेको लोसपा अहिले आएर सरकारमा जानेबारे छलफल चलाइरहेको प्रचण्डले मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा खुलाए। 

गठबन्धन र सरकारमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहभागी हुने विषयमा औपचारिक रुपमा कुनै निर्णय नभए पनि अनौपचारिक कुराकानी चलेको उनले सुनाए।

‘गठबन्धनभित्र लोसपाको विषयमा छलफल भएको छैन। तर, लोसपाका नेताहरूसँगको भेटवार्तालाई प्रधानमन्त्रीजीले जानकारी गराइराख्नुभएको छ। गठबन्धनको बैठकमा सरकारमा सहभागिताको पनि कुनै कुरा भएको छैन’ प्रचण्डको भनाइ थियो।  

त्यसो त लोसपा अध्यक्ष ठाकुरले भने सरकार आफूहरुको माग सम्बोधन गर्ने सहमति नभएसम्म सरकारमा जाने सम्भावना नभएको बताए। 

जनकपुरधाममा मंगलबार पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै ठाकुरले भने, ‘सरकारमा सामेल हुनेभन्दा पनि नागरिकता सम्बन्धी मुद्दा, मधेश आन्दोलनको क्रममा लगाइएका झुठा मुद्दालगायतका विषयमा छलफल चलिरहेको छ। सरकारमा जानेबारे कुनै निर्णय भएको छैन।’

एमाले-माओवादीको दाउ

मधेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कमजोर छ। तर, पछिल्लो समय प्रतिपक्षमा रहेको मौका छोपेर मधेशकेन्द्रित दलहरूलाई टिकटको लोभ देखाउँदै ओलीले पार्टीमा भित्र्याइरहेको छन्। 

अध्यक्ष ओलीले मधेसको विकासमा सही बाटो देखाउने नेता र पार्टी अरू असफल भएकाले अब एमालेले नै मधेशको मुहार फेर्ने दाबी गरेका छन्। ‘अब जय मधेस भन्ने नै एमालेले हो। मधेसको जय गर्ने एमालेले हो। जय मधेस गर्ने ठाउँमा साथीहरू आइपुग्नुभएको छ, ढुक्क हुनुस्’ ओलीको भनाइ थियो। 

त्यसो त मंगलबार नै जनकपुर पुगेका प्रचण्डले एमालेका कारण मधेसका जनताले न्याय पाउन नसकेको आरोप लगाउन भ्याए। 

‘एमालेको कारण नागरिकता विधेयक अड्किएको छ। एमालेले बिनाकारण संसद चल्न दिएको छैन। ओली अझै प्रतिगमनकै बाटोमा छन्’ प्रचण्डको भनाइ थियो, ‘म प्रधानमन्त्री हुँदा दुईपटक मधेसी जनताको भावनाअनुसार संविधान संशोधन प्रस्ताव दर्ता गरेँ। तर, एमालेले मधेसी जनताको अधिकारमाथि खेलबाड गरेको छ।’

मधेशमा आफ्नो माहोल बनाउन दुवै दल सक्रिय भएर लागेका छन्। ओली र प्रचण्ड दुवै मधेश केन्द्रित भएर कार्यक्रम गरिरहेका छन्। मधेशमा आफ्नो पार्टीको राम्रो छाप छोड्न दुवै पार्टी आआफ्नो रणनीति अनुसार अघि बढिरहेका छन्। 

लोसपाको ‘यूर्टन’

लोसपा फेरि सत्ताको भर्‍याङ चढ्ने प्रयासमा छ। यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा लोसपा ११ जना नेता मन्त्री बनेका थिए। तर, ओलीको बहिर्गमन हुनासाथ उनीहरुलाई छाडे। तर, उनीहरु सहकार्यमा अझै सकारात्मक छन्। 

तर, पछिल्लो समय उनीहरुले प्रधानमन्त्री देउवासँग छलफल गरेको लोसपा नेता लक्ष्मणलाल कर्ण बताउँछन्। 

उनी भन्छन्, ‘हाम्रो माग मुद्धाको सवालमा प्रधानमन्त्रीसँग भेटेका हौँ। त्यसका लागि उहाँ सकारात्मक हुनुहुन्छ। कमिटी पनि बनाएका छौँ। कमिटी बनेपछि अहिले जिल्ला आएको छु। केही दिनमा काठमाडौँ गएर कुरा गछौँ।’

आफ्नो पार्टीको माग सम्बोधन गर्न ज्ञानेन्द्रबहादुर कार्की, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाको कार्यदल नै बनेको उनको भनाइ छ। 

उनले भने, ‘कमिटी बनेपछि म वीरगञ्ज आएको छु। हाम्रो माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ। यसअघि नै सरकारमा जाने र गठबन्धनमा सामेल हुने कुरा चर्चामा आइसक्यो। तर, हामी भन्छौँ पहिला हाम्रो माग पुरा होस्। त्यसपछि अरु निर्णय होला।’ 

तर, उनले सत्तामा जानको लागि आफ्नो एजेन्डालाई बार्गेनिङ मार्ग नबनाएको दाबी गरे।

तपाईहरु यही मागलाई सधैं सत्ताको भर्‍याङ बनाउनुहुन्छ नि! भन्ने थाहाखबरको प्रश्नमा कर्णले भने, ‘यो अड्कलबाजी न हो। त्यो त जसले जे गर्दा पनि भइहाल्यो नि! यो तथ्यविहीन कुरा हो। त्यसको कुनै अर्थ छैन। हामीले हाम्रो मागलाई नै प्राथमिकतामा राखेको छौँ। सत्ता हाम्रो प्राथमिकता होइन।’ 

के हो त एजेण्डा ? 

मधेश केन्द्रित दलले सत्तामा जान एजेण्डाको ठूला तर्क गर्ने गरेको भए पनि सरकारमा सामेल भएपछि ठोस निर्णय गर्न सकेको छैन। सरकारबाहिर रहँदा आफ्ना मागबारे चर्को आवाज उठाएजस्तो गरे पनि सरकारमा पुगेपछि प्रायः मौन रहन्छन्। 

मधेशी दलहरुले यसअघि टीकापुर घटनाका आरोपी सांसद रेसम चौधरीलगायत मधेस–थरुहट आन्दोलनका बन्दीको रिहाइको माग गरेका थिए। तर, जेलमै रहे पनि विभाजनको बेलामा लोसपामा लागेका चौधरीले अहिले नयाँ पार्टी दर्ता गराइसकेका छन्। ओली नेतृत्वको सरकारमा जसपाले चौधरीको रिहाइलाई मुख्य सर्त बनाएको थियो। उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला गरेको थियो। 

त्यसो त ओलीले ठाकुर खेमालाई सरकारमा ल्याउन नागरिकता सम्बन्धी अध्यादेश जारी गरेका थिए। तर, त्यो कदम सर्वोच्च अदालत रोकेको थियो। त्यति मात्रै नभएर अदालतले ओलीको कदमलाई रोक्दै मन्त्री बनेका नेताहरु १३ दिनमै बाहिरिएका थिए। अहिले पनि नागरिकता विधेयक अगाडि बढ्न सकेको छैन। 

यस्तै, मधेश दलले संविधान संशोधनलाई पनि आफ्नो एजेण्डाको रुपमा प्रस्तुत गर्दै आइरहेका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्र मन्त्री हुँदा समेत संविधान संशोधनको प्रस्ताव अघि बढाउन सकेनन्। उनी मात्रै होइन लोसपा वरिष्ठ नेता महतो उपप्रधान तथा शहरी विकास मन्त्री समेत बनेका थिए।
 
सरकारमा जान संविधान संशोधनको एजेण्डा तेर्स्याउने मधेसवादी नेताहरु सरकारमा हुँदा संविधान दिवसमा मौन रहन्छन् भने, सत्ता बाहिर हुँदा कालो दिनको रुपमा मनाउँदै आइरहेका छन्। त्यसले उनीहरुको स्वार्थी चरित्र प्रष्ट हुने जानकारहरु बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.