|
ग्रामीण कृषि सडक पुगेको भूमे–४ काँडागाउँ ।

रुकुम (पूर्व) : भूमे गाउँपालिकाका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ। स्थानीय सरकार हुनुअघि गाउँपालिका मध्यपहाडी राजमार्ग र सहिद मार्गको मात्र पहुँचमा रहेको थियो। हाल भूमेका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँच पुगेको हो।

संघीयता कार्यान्वयन भएको ५ वर्ष पुग्नै लाग्दा भूमेका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँचमा पुगेको छ। चुनावमा मतदातासँग गरिएको महत्त्वपूर्ण प्रतिबद्धतामध्ये एक सडकतर्फ सोचेअनुसारको विकास भएको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरको प्रतिक्रिया रहेको छ।

आफूहरू निर्वाचित हुनुअघि मध्यपहाडी राजमार्ग र सहिद मार्ग बाहेक अरू कुनै पनि सडक सञ्जालको पहुँच नभएको अवस्थामा हाल ४ वर्षको अन्तरालमा सडक निर्माणको कामतर्फ भने सोचेअनुसारकै काम भएको र भइरहेको अध्यक्ष बुढा मगरको भनाइ छ।

रिङ र लिङ्क रोड निर्माणको अवधारणाअनुसार ग्रामीण तथा कृषि सडक विस्तारले गापाका सबै ठूला बस्तीमा सडक पुगिसकेको अध्यक्ष बुढा मगरले जानकारी दिए। गाउँपालिकाका मुख्या बस्तीहरू दालिबाङ, शेराबाङ, साकिम, काँडा, मोराबाङ, सीमा यसैगरी झुम्लाबाङ, क्याङ्सी, गाबाङ, कोर्जा, चुनबाङ, गुनाम, लाबाङ, तामारी, भित्रीवन, दाङग्रिबाङ यी सबै ठूला बस्तीमा सडक सञ्जालको पहुँचमा पुर्‍याइसकिएको अध्यक्ष बुढाले बताए्।

लुकुम, महत, काँक्री, धर्मशाला र खाबाङ लगायतका गाउँ भने स्थानीय सरकार हुनुअघि मध्यपहाडी राजमार्ग र सहिद मार्गको पहुँचमा थिए। अब साना गाउँहरू आरुडाडा, दहबाङ, कुचिबाङ, नाम्पु लगायत गाउँ मात्र हाल सडक पुग्न बाँकी रहेको छ। यी बस्तीमा पनि अबको एक आर्थिक वर्षको बजेटले सडकको पहुँचमा पुग्ने पनि अध्यक्ष बुढाले दाबी गरे।

९ वटा वडा रहेको भूमेमा सडक सञ्जाल निर्माणको कार्य भने तीव्रगतिमै भएको भूमे–२ गाबाङका सोहनलाल बुढा मगरले बताए। ‘हाल स्थानीय तहमा रहनु भएका जनप्रतिनिधिकै पालामा गाउँपालिकाका सबै वडा र ठूला बस्तीमा सडक पुग्छ होला भने कुरा पत्यार लागेको थिएन’‚ बुढाले भने, ‘तर जनप्रतिनिधि र काम गर्ने सम्बन्धित निकायबाट काम गर्ने इच्छाशक्तिका साथ काम गरे भने त कम समयमा पनि धेरै काम हुँदो रहेछ।’ 

‘विगत गाउँमा सडकको पहुँच नहुँदा निर्माण सामग्री र खाद्यान्न आयात तथा निर्यातमा साह्रै सास्ती हुन्थ्यो’, बुढाले थपे, ‘हाल भने गाउँमै सडक आएपछि जुनी नै फेरिएको अनुभूति भएको छ।’

गाउँगाउँमा सडक पुगेपछि भूमेवासी सडक सञ्जालको फाइदा पनि लिइराखेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.