|

काठमाडौं: ३१ वैशाख र ३१ जेठमा प्रथम  र दोस्रो गरी दुई चरणमा  हुन लागेको स्थानीयतहको निर्वाचनमा राजनीतिकदलहरुले आ-आफ्नै महत्वाकांक्षी घोषणापत्र सार्वजनिक गरेका छन्। जसमा स्वास्थ्य क्षेत्रका प्रमुख समस्याहरुलाई प्रथामिकताका साथ उल्लेख गरेका छन्।

नेपाली कांग्रेस,एमाले,माओवादी र राप्रपाले घोषणापत्रमा प्रत्येक स्थानीयतहमा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने, स्वास्थ्य बिमालाई अनिर्वाय गर्ने जस्ता महत्वाकांक्षी योजना अघि सारेका छन्। यस्ता छन्, प्रमुख दलहरुले सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्य क्षेत्रका प्रमुख एजेन्डाहरु:

कांग्रेसको प्राथमिकतामा अस्पताल र स्वास्थ्य बिमा

कांग्रेसले स्थानीयतहको निर्वाचनको घोषणापत्रमा हरेक गाउँपालिकामा प्रसूति सेवासहित १५ शय्याको अस्पताल निर्माण गर्ने उल्लेख गरेको छ। सरकारले निःशुल्क गरिसकेको बाथ, मुटुरोग सिकलसेल एनिमिया, क्यान्सर, पार्किन्सन तथा अल्जाइमर र मिर्गौला प्रत्यारोपणलाई थप सहज बनाउँदै निःशुल्क डायलसिस सेवालाई स्थानीय तहसम्म विस्तार गर्दै लैजाने जस्ता एजेन्डाहरुलाई कांग्रेसले आफ्नो घोषणापत्रमा प्रमुख एजेन्डा बनाउको छ।

यस्तै, पाठेघरको मुखको क्यान्सर परीक्षणलाई स्थानीय तहसम्म विस्तार गरिने पनि कांग्रेसले जनाएको छ। हरेक सरकारी अस्पतालहरुमा सामाजिक सेवा एकाइको व्यवस्था गर्ने बताएको छ। कांग्रेसले स्वास्थ्य बिमा कार्यक्रमलाई आफ्नो घोषणापत्रमा निकै प्रथामिकता दिएको छ।

प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्ने गरी पाँचजनासम्मको एउटा परिवारले वार्षिक २५ सय तिरेपछि सो परिवारका प्रत्येक सदस्यको वार्षिक ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा कार्यक्रम देशभर विस्तार गर्ने बताएको छ। सुत्केरी आमा, पोसिलो खानाअन्तरगत स्थानीय स्वास्थ्य संस्थाबाट सुत्केरी भएको दुई वर्षसम्म पोषण कुपन वितरण गरिने पनि कांग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।

 एमालेको प्राथामिकतामा पनि स्वास्थ्य बिमा

२० वर्षपछि हुन लागेको स्थानीय तहको चुनावमा एमालले आफ्नो घोषणापत्रमा स्वास्थ्य बिमालाई प्रमुखताको साथ अघि सारेको छ। एमालेले  सबै नागरिकहरुलाई अनिवार्य रुपमा स्वास्थ्य बिमामा आबद्ध बनाउने घोषणा पत्रमा उल्लेख गरेको छ।

एमालेको घोक्षणा पत्रमा भनिएको छ, 'सबै नागरिकहरूलाई अनिवार्य स्वास्थ्य बिमामा आबद्ध गरिनेछ। गरिबीको रेखामुनि रहेका जनताको लागि बिमा रकमको ५० प्रतिशत सरकारले भुक्तानी गरिदिनेछ। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूले सञ्‍चालन गरेका अस्पतालहरूमा नेपाली नागरिकले तोकिएका रोगहरूको निःशुल्क उपचार प्राप्त गर्नेछन्।'

यस्तै, हरेक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा ५० शय्‍याको सुविधासम्पन्न अस्पताल सञ्चालन स्थापना गर्ने पनि घोषणा पत्रमा उल्‍लेख छ। प्रत्येक वडामा आवश्यक दक्ष जनशक्ति, औषधी, उपकरण, प्रविधि र स्वास्थ्यकर्मीसहित स्वास्थ्य चौकी र टोलहरूमा समेत खोप सेवा, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व एवं बाल तथा शिशु स्वास्थ्य सेवाहरू सञ्चालन गर्ने जस्ता विषयलाई पनि  घोषणा पत्रमा मूल एजेन्डाको रुपमा एमालेले लिएको छ।

हरेक स्थानीय तहको केन्द्रमा स्थापना हुने अस्पतालमा एलोप्याथिक, आयुर्वेदिक, होमियोप्याथिक, युनानी, अकुपञ्चर, प्राकृतिक र परम्परागत स्वास्थ्य सेवालगायत वैकल्पिक उपचार पद्धतिलाई एकीकृत र समन्वयात्मक रुपमा सेवामा ल्याउने बताएको छ। कुपोषण समाप्त गरी मातृशिशु पोषण अवस्थामा सुधार ल्याउने पनि एमालेले जनाएको छ। जनस्वास्थ्यमा असर पार्ने खाद्य पदार्थको विज्ञापनमा नियन्त्रण गरी ६ वर्षमुनिका बालबालिकाको शारीरिक र बौद्धिक विकासका लागि प्रत्येक टोलमा बालविकास केन्द्र स्थापना गर्ने पनि एमालेको घोषणापत्रमा समावेश गरिएको छ।

घातक रुपमा रहेका उच्च रक्तचाप, मुटु रोग, मधुमेह, मिर्गौला रोग, दमखोकी, क्यान्सर आदि रोगहरूको औषधी, रक्त परीक्षण र स्वास्थ्य जाँच निःशुल्क रूपमा उपलब्ध गराउने र मिर्गौला रोगीहरूको लागि डायलाइसिस तथा प्रत्यारोपण सेवा निःशुल्क तथा सहज ढङ्गले प्राप्त गर्न गरी सबै प्रदेशसम्म विस्तार गर्ने पनि एमालेको घोषणा पत्रले जनाएको छ।

माओवादीको प्रथामिकतामा वडामा दक्ष जनशक्ति सहितको स्वास्थ्य चौकी र १५ शय्‍याको अस्पताल

माओवादी केन्द्रले भने पार्टीको निर्वाचन घोषणापत्रमा राज्यद्वारा नै नि:शुल्क रुपमा गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा दिने उल्लेख गरेको छ। यस्तै प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शय्‍याको अस्पताल स्थापना गर्ने उल्लेख गरेको छ। प्रत्येक वडाहरुमा दक्ष जनशक्ति सहितको स्वास्थ्य चौकीको स्थापना र स्वस्थ पिउने पानीको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ।

'राज्यद्वारा नै निःशुल्क, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य उपचारको सेवा दिने व्यवस्था गरिने छ। प्रत्येक स्थानीय तहले कम्तीमा १५ शय्‍याको अस्पतालको व्यवस्था गर्नेछ। प्रत्येक वडाहरुमा दक्षजनशक्ति सहितको स्वास्थ्य चौकीको व्यवस्था गरिने छ। स्वस्थ पिउने पानी तथा सरसफाइको व्यवस्था सुनिश्चित गरिनेछ।' घोषणापत्रमा भनिएको छ। यस्तै सुत्केरी महिला र बच्चाको निम्ति भत्ताको व्यवस्था गरिने पनि माओवादीको घोषणापत्रमा उल्लेख छ।

के छ राप्रपाको घोषणापत्रमा?

राप्रपाले प्रत्येक गाउँ र नगरपालिकामा स्वास्थ्य उपचार कोष खडा गरी कोषबाट प्राप्त रकम सोही क्षेत्रका क्यान्सर र मिर्गौला रोगीलाई औषधी उपचार खर्चबापत एक लाख रुपैयाँ दिने निर्वाचन घोषणापत्रमा उल्लेख गरेको छ।  पाँच वर्षभित्रमा प्रत्येक नागरिकको स्वास्थ्य बिमा गरिने र महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजार रूपैयाँ भत्ता दिने पनि राप्रपाले बफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।

विपन्न परिवारका छोराछोरीलाई कुपोषणबाट बचाउन जन्मिनासाथ पाँच हजार रुपैयाँ दिने पनि राप्रपाले जनाएको छ। राप्रपाले प्रत्येक स्थानीय तहमा २५ शय्‍याको सुविधासम्पन्न अस्पताल निर्माणलाई पनि घोषणा पत्रमा उल्लेख गरेको छ। यस्तै समुदायमा विभिन्न कार्यक्रम सञ्चालन गरी डेंगु, चिकनगुनिया, मलेरिया, कालाजार, हात्तिपाइले जस्ता सरुवा रोगहरुको अन्त्य गर्नेसम्मका योजनाहरु घोषणापत्रमा उल्लेख गरेको छ।

घोषाणा पत्रमा भनिएको छ, 'समुदायमा आधारित विभिन्न कार्यक्रम सञ्चालन गरी मानसिक समस्याको रोकथाम, पहिचान, मनोविमर्श, तथा निःशुल्क उपचारको व्यवस्था गराइनेछ। डेंगु, चिकनगुनिया, मलेरिया, कालाजार, हात्तीपाइलेलगायत रोगहरूको प्रभावकारी रोकथाम र नियन्त्रण गरिनेछ। उपचारको अभावमा टिबी, निमोनिया, टाइफाइड तथा झाडापखालाजस्ता रोगबाट ज्यान जाने अवस्थाको अन्त्य गरिने छ।' 

  मातृ तथा शिशु मृत्युदर घटाउने नयाँ शक्तिको एजेन्डा

नयाँ शक्ति पार्टीले भने आफ्‍नो घोषणा पत्रमा ५, १५ र २५ वर्षभित्र आउने नतिजाको समेत प्रक्षेपण गरेर आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। नयाँ शक्ति पार्टीले अबको पाचँ वर्ष भित्रमा सबैको लागि खाद्य–पोषण सुरक्षा सुनिश्चित गर्ने, शिशु मृत्युदर प्रतिहजार १६ र मातृ मृत्युदर प्रतिलाख १०० मा झार्ने, १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने,

त्यस्तैगरी, पूर्ण शारीरिक अपाङ्गता, द्वन्द्वपीडित, एकल महिला, गर्भवती महिला, लोपोन्मुख जाति, दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक र गरिबीको रेखामुनि रहेका परिवारका लागि सम्पूर्ण स्वास्थ्य सेवामा कम्तीमा ७५ प्रतिशत छुटको व्यवस्था गर्ने तथा प्रत्येक घरमा सफा खानेपानी अबको पाचँ वर्षभित्र पुर्‍याउने घोषणा पत्रमा उल्लेख गरेको छ।

यस्तै, अबको १५ वर्ष भित्रमा शिशु मृत्युदर प्रतिहजार १० र मातृ मृत्युदर प्रतिलाख ७० मा झार्ने, १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्थालाई निरन्तरता दिने। पूर्ण शारीरिक अपाङ्गता, द्वन्दपीडित, एकल महिला, गर्भवती महिला, लोपोन्मुख दलित समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक र गरिबीको रेखामुनि रहेका परिवारका लागि सम्पूर्ण स्वास्थ्य सेवामा कम्तीमा ८० प्रतिशत छुटको व्यवस्था गर्ने घोषणा पनि घोषाणा पत्रमा उल्लेख गरेको छ।

नयाँ शक्तिले अबको २५ वर्षभित्र शिशु मृत्युदर प्रतिहजार ५ र मातृ मृत्युदर प्रतिलाख ४० मा झार्ने, १५ वर्ष मुनिका बालबालिका र ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्थालाई निरन्तरता दिने, सहरी विकास सूचकांक ९० प्रतिशतभन्दा माथि हुने सहरी जनसंख्यालाई ७५ प्रतिशत पुर्‍याउने घोषणा पत्गरमा उल्‍लेख गरेको छ।

चुनाव लागेसँगै सबै पार्टीले आ-आफ्ना घोषणापत्र सार्वजनिक गर्नु तथा यो गर्छौं र त्यो गर्छौं भनेर आम-नागरिकहरुलाई आशा बाँड्ने गरेको घटना भने यो पहिलो भने होइन। घोषणापत्र हेर्दा र सुन्दा सबै पार्टीका एजेन्डा सबै ठीक लाग्छन् तर राजनीतिक दलहरुले आफूले गरेका प्रतिवद्धताहरु कत्‍तिको पूरा गर्ने हुन् त्यो भने हेर्न बाँकी नै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.