|

जनकपुर : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ को चर्को दबाबपछि राजिनामा फिर्ता लिएको दाबी गरेका छन्। जानकी नवमी उत्सवमा सहभागी हुन जनकपुर पुगेका गृहमन्‍त्री निधिले प्रधानन्यायाधिश सुशिला कार्की विरुद्ध पेश गरिएको महाभियोग प्रस्तावमा आफ्नो अहसमति कायमै रहेको बताए।

'पार्टी सभापति शेरबहादुर देउवा तथा प्रधानमन्‍त्री प्रचण्डजीले निर्वाचनको समयमा सुरक्षा निकाय नै प्रमुखविहिन भए चारैतिरबाट विभिन्‍न बाधा अवरोध आउने भन्दै राजिनामा फिर्ता गर्न आग्रह गर्नुभयो। उहाँहरुको आग्रहपछि गृहमन्त्री पदबाट दिएको राजिनामा फिर्ता लिएको हुँ,' उनले भने।

मधेस मुद्दा सम्बोधन, संविधान संशोधन र स्थानीय तहको निर्वाचनको लागि राष्ट्रिय जिम्मेवारीको भूमिका निर्वाह गर्नुपर्ने दायित्वलाई बुझेर राजीनामा फिर्ता लिएको गृहमन्त्री निधीको दाबी छ। आफ्नो राजीनामापछि मधेसवादी दलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका दलहरुले समर्थन गरेकोले उनीहरुको सम्मान कायम राख्‍न समेत राजिनामा फिर्ता लिनु परेको उनले बताए।

एमालेका कारण देश विषम स्थितिमा

गृहमन्त्री निधिले एमालेका कारण देश विषम परिस्थितिमा पुगेको दाबी गरे। उनले एमालेले संविधान संशोधन तथा अन्य धेरै कुरामा अवरोध उत्पन्‍न गरेको बताए।

जानकी मन्दिर दर्शनपछि आयोजित नेपाली कांग्रेसको कार्यकर्ता भेलामा पुगेर उप-प्रधानमन्त्री निधिले भने,'एमालेलाई मधेसका सम्पूर्ण मधेसी, पहाडका दलित र जनजाती तथा हिमालका राई-शेर्पाले स्थानीय निकायको चुनावमा सबक सिकाउनेछन्।'

जनताको हक तथा अधिकार सुनिश्चिताका लागि संविधान संशोधन आवश्यक रहेको उनको भनाइ छ। उनले कांग्रेस र माओवादीबीच संविधान संशोधन र ३ वटै निर्वाचन गराउने सहमति  भएको तथा त्यही सहमति अनुरुप सरकार चलिरहेको दाबी गरे।

कार्यकर्ता भेटघाट तथा समारोहमा नेपाली काग्रेस धनुषाका सभापति रामसरोज यादव, नगर सभापति मनोज साह, समझना बर्मा, कांग्रेसका क्षेत्रिय सभापति कन्हैया कर्ण लगायतको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.