|

विराटनगर : मोरङको कटहरी-४ स्थित डेढ महिना अगाडि भएको सासुबुहारी हत्याकाण्डका फरार अभियुक्त भारतीय नागरिक भनिएका मनिष जैनसँग नेपाली नागरिकता भएको खुलेको छ।

जैनमाथि गत ४ चैत दिउँसो ईन्द्रचन्द डाँगाकी श्रीमती ४४ वर्षीया दिपा डाँडा (निरौला) र बुहारी २३ वर्षीया अस्मिता भट्टराईको हत्यामा संलग्न रहेको आरोप छ। घटनापछि उनी फरार छन्।

प्रहरीले यसअघि घटनामा उनी संलग्न भएको र उनी भारतीय नागरिक भएको जानकारी दिएको थियो। तर उनले विराटनगर १ बाट ३८३९९ नम्बरको नागरिकता लिएको खुलेको छ। नागरिकतामा बाबुको नाम बच्छराम पारख लेखिएको छ।

प्रहरीले मनिष भारतीय नागरिक भएकोले भारतीय प्रहरीले सुर्पुदगी अनुमति नदिँदा पक्राउ गरेर नेपाल ल्याउन नसकिएको बताउँदै आएको थियो। तर ३० वर्षीय मनिषका नाममा वंशजका आधारमा नेपाली नागरिकता जारी भएको छ।

विराटनगरमै जन्मे हुर्केर पढेका मनिष सासुबुहारी हत्याकाण्डमा हतियारको बन्दोबस्ती मिलाउने मुख्य कारोबारी रहेको प्रहरीको भनाइ छ। हत्यामा संलग्न विष्णुकुमार डाँगाले लुटेको सुनका गहना मनिषमार्फत नै भारत लगेर बिक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। प्रहरीले हतियार कारोबारी भएपनि मनिषलाई भारतले सुपुर्दगी गराउन नमानेको बताएको थियो।

हत्याकाण्डमा विराटनगर ७ का २४ वर्षीय रविकुमार गोडी पनि पक्राउ परेका थिए। उनी अदालतबाट २५ हजार धरौटीमा छाडिएका थिए। गोडीमाथि सासुबुहारीको हत्या हुने योजनाको प्रत्यक्ष सूचना पाएर पनि प्रहरीलाई खबर नगरेको आरोप छ।

सासुबुहारी हत्याकाण्डमा प्रहरीले विराटनगर १२ का २६ वर्षीय विष्णुकुमार डाँगा, सोही ठाउँका शुभम लखौटी र रविकुमार गोडीलाई पक्राउ गरेर मुद्दा दर्ता गराएको थियो।

मोरङ अदालतले मुख्य अभियुक्त विष्णुकुमार र अर्का आरोपी शुभमलाई पुर्पक्षका लागि कारागार पठाउन तथा रविकुमारलाई धरौटीमा छाड्न आदेश दिएको थियो। विष्णुले क्यासिनोमा जुवा खेल्नका लागि मिटर ब्याजमा लिएको ऋण तिर्न नसक्दा आफनै काकी र भाउजुको गोली हानी हत्या गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.