खुल्यो अवरुद्ध बिपी राजमार्ग

|

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका-२ पिपल भन्ज्याङमा स्थानीय र प्रहरीबीच भएको झडपपछि अवरुद्ध भएको बिपी राजमार्ग खुलेको छ। स्थानीय बन्दकर्ताले प्रहार गरेको ढुङ्गा र बोतल लागेर ११ जना प्रहरी घाइते भएका छन्।

स्थानीय प्रशासनले बल प्रयोग गरेर सडक अवरुद्ध गरिरहेका स्थानीय बन्दकर्तालाई लखेटेर अवरुद्ध सडक खोलेको हो। अवरुद्ध बिपी राजमार्ग खोल्न प्रहरीले बन्दकर्ता लखेट्न खोज्दा दोहोरो झडप भएपछि पिपल भन्ज्याङ क्षेत्र आज (बुधबार) बिहानैदेखि तनावग्रस्त बनेको थियो।

घाइते प्रहरीमध्ये ३ जनालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए। अन्य घाइते प्रहरीको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

बोलेरोले मंगलबार राति दिएको ठक्करबाट सिकिस्त भएका पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएपछि कारबाही र क्षतिपूर्तिको माग गर्दै आज बिहान सडक अवरुद्ध गरेका हुन्। बिपी राजमार्ग हुँदै पिपल भन्ज्याङ–पचभैया जाने सडकमा प्रदेश ३–०१–०२४ च १४१९ नम्बरको बोलेरोले ठक्कर दिँदा मोक्तान सिकिस्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले बताए।

प्रहरीका अनुसार झडप हुँदा रोकी राखेका केही सवारीसाधनमा समेत क्षति पुगेको छ। पिपल भन्ज्याङको सडकमा माथिबाट स्थानीय बन्दकर्ताले प्रहरीलाई ताकेर ढुङ्गा र खाली बोतल तथा दाउरा प्रहार गरेका थिए। यसपछि प्रहरीले तलबाट केही राउन्ड अस्रुग्यास र हवाई फायर गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.