|

सिन्धुली : सत्तारुढ पाँचदलीय गठबन्धनका पाँच दलमध्ये कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको प्रमुख र उपप्रमुखको सिट भागवण्डा लगाएका छन्। 

चार दिन चलेको सत्तारुढ गठबन्धनका दलको छलफलमा पालिका भागवण्डाको कुरा नमिलेपछि कांग्रेस र माओवादी केन्द्रले मात्रै प्रमुख र उपप्रमुखको सिट बाँडफाँड गरेका हुन्।

सिन्धुलीका ९ वटा स्थानीय तहमध्ये पाँचवटा पालिकाको प्रमुख नेपाली कांग्रेसले र बाँकी चारवटा पालिकाको प्रमुख माओवादी केन्द्रले पाउने गरी लिखित सहमति गरिएको माओवादी केन्द्र सिन्धुलीका इन्चार्ज लेखनाथ दाहाल (राजन)ले बताए। 

त्यस्तै चारवटा पालिकाको उपप्रमुख कांग्रेसले र पाँचवटा पालिकाको उपप्रमुख माओवादी केन्द्रले पाएका छन्। बाँडफाँटमा कांग्रेसलाई कमलामाई नगरपालिका, गोलन्जोर, तीनपाटन, फिक्कल र घ्याङलेख गाउँपालिका तथा माओवादी केन्द्रलाई दुधौली नगरपालिका, हरिहरपुरगढी, मरिण र सुनकोसी गाउँपालिकाको नेतृत्व भागमा परेको छ। ती सबै पालिकामा कांग्रेस प्रमुख भएकोमा माओवादी उपप्रमुख र माओवादी प्रमुख भएकोमा कांग्रेसले उपप्रमुख पाएका छन्। 

वडा तहमा गठबन्धन दलमा सहमति नजुटेपछि पुनः पालिकाहरूलाई नै जिम्मेवारी फर्काइएको छ। वडामा अझै सहमति नजुटेपछि गाउँ तथा नगरपालिका समितिलाई दुई दिनको समयसीमा दिएर बाँडफाँड मिलाउन भनिएको छ। यहाँ ७९ वडा छन्। 

छलफलमा गठनबन्धनका अन्य दल भने बैठकमा सहभागी भएनन्। गठबन्धनमा आबद्ध एकीकृत समाजवादी र जनता समाजवादीलाई क्रमशः जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख दिने सहमति भएको गठबन्धन दल माओवादी केन्द्रका जिल्लाध्यक्ष एवं बाग्मती प्रदेश सदस्य लेखनाथ दाहालले जानकारी दिए। सबै स्थानीय तहमा गठबन्धन दलका सहयात्री दलहरूलाई समेट्नेगरी निर्णय भएको उनको भनाइ छ। 

बैठकको निर्णयमा एकीकृत समाजवादी र जनता समाजवादीको हस्ताक्षर छैन। बैठकमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता हरिबोल गजुरेल, पूर्वसांसद मोहन बराल र कांग्रेस निवर्तमान सभापति उज्ज्वल बराललगायतले वडा तहसम्म नै गठबन्धनको प्रयास जारी रहने जनाएका छन्। 

गठबन्धन भित्रकै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सूर्य पाख्रिनले कांग्रेस र माओवादी केन्द्रले गरेको स्थानीय तह प्रमुख, उपप्रमुखको सिट बाँडफाँटबारे आफूहरूलाई जानकारी नभएको बताए।

गठबन्धन तोड्ने तीन दलको चेतावनी

स्थानीय तहको बाँडफाँडमा असन्तुष्टि जनाउँदै गठबन्धनका तीन दलले गठबन्धन नै तोड्ने चेतावनी दिएका छन्। सिन्धुलीमा नेपाली काँग्रेस र माओवादी केन्द्रले सहमति गर्दै बिहीबार स्थानीय तह बाँडफाँड गरेपछि गठबन्धनका तीन दलले संयुक्त प्रेस वक्तव्य जारी गरी चेतावनी दिएका हुन्।

नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्ष सूर्य पाख्रिन, जनता समाजवादी पार्टी सिन्धुलीका अध्यक्ष सुरदबहादुर स्याइतान र राष्ट्रिय जनमोर्चा नेपाल सिन्धुलीका अध्यक्ष हिरा श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरी गठबन्धनको संयुक्त सहमति भनी दुई दलका प्रतिनिधि मात्र बसी सिट बाँडफाँड गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

बिहीबार भएको निर्णय खारेज गरी सहमतिको प्रयास नभए गठबन्धन तोड्न बाध्य हुने वक्तव्यमा उल्लेख गरिएको छ।


 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.