भारतले भन्यो : १४ करोड दिन्छु, चीनले माग्यो : १०० रोपनी जग्गा

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय भवन निर्माणका लागि भारत र चीनले छुट्टाछु्ट्टै प्रस्ताव गरेका छन्। २०७२ बैशाख १२ गतेको भूकम्पले पुस्तकालय भवन क्षति भएपछि नयाँ भवन निर्माणका लागि भारत र चीनले नेपालस्थित दूतावास मार्फत प्रस्ताव गरेका हुन्। 

भारतले भूकम्पले क्षतिग्रस्त अहिलेको भवनलाई भत्काएर त्यसै ठाउँमा नयाँ भवन निर्माण गरिदिने प्रस्ताव गरेको छ भने चीनले छु्ट्टै भवन निर्माणको प्रस्ताव गर्दै १ सय रोपनी जग्गा उपलब्ध गराइदिन माग गरेको छ। 

पुस्तकालयको हालको भवन पनि भारतले नै बनाइदिएको हो। भूकम्पले क्षति भएपछि नयाँ भवन निर्माणका लागि पनि भारतले चासो देखाएको त्रिवि पुस्तकालय प्रमुख जनार्दन ढुंगानाले बताए। ‘पहिला पनि भारतले बनाइदिएको भवन भएकोले पहिला भारतीय राजदूतावासमा सोध्न गएका थियौं’ ढुंगानाले भने, ‘इन्जिनियरिङ इस्टिमेट र लाग्ने बजेट पेश गरेका छौं, दूतावासले हुन्छ भनेको छ।’

भारतीय दूतावासमा प्रस्तुत गरेको इस्टिमेटमा पुरानो भवन भत्काउन र नयाँ बनाउन १४ करोड रुपैयाँ लाग्ने उल्लेख गरिएको छ। भूकम्प प्रतिरोधी बन्ने उक्त भवनमा पुस्तकालय, अध्ययन कक्ष, सेमिनार कक्ष रहनेछन् भने पार्किङका लागि पर्याप्त ठाउँको व्यवस्था रहने छ।

चिनियाँ कम्पनीले माग्यो १०० रोपनी जग्गा

त्यस्तै चीनको चाइना कन्सट्रक्सन इन्जिनियरिङ डिजाइन ग्रुप कर्पोरेसन लिमिटेड (सीसीइडी) ले चिनियाँ दूतावास मार्फत पुस्तकालय भवन निर्माणका लागि त्रिवि पुस्तकालय विकास समितिसँग १०० रोपनी जग्गा माग गरेको छ। ‘चीनको प्रस्ताव त्रिवि पुस्तकालय विकास समितिले त्रिवि कार्यकारी सभामा पेश गरेको छ, सभाबाट कति जग्गा उपलब्ध गराउने भन्नेबारे निर्णय भइनसकेको छैन’, एसोसिएट लाइब्रेरियन पूर्णलाल श्रेष्ठले भने। 

कम्पनीले जग्गा उपलब्ध गराएमा आफैले भवन निर्माण गरेर हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ। चीनले बनाउन लागेको प्रिफेव भवन हो। आगो र भूकम्प प्रतिरोधी भवनमा सोलार राखिने भएकाले विद्युत आवश्यक नपर्ने प्रस्ताव गरिएको छ। त्यस्तै आकाशको पानीलाई भण्डार गर्न मिल्ने, सबै कोठामा हावा र प्रकाश छिर्न मिल्ने बनाइने उल्लेख गरिएको छ। 

पुस्तकालयमा अन्तर्राष्ट्रिय स्तरका सेमिनार हल र रिसर्च सेन्टर पनि रहनेछन्। विद्यार्थीलाई २४ घण्टा अध्ययनको व्यवस्था गरिने छ। 

यी दुई प्रस्तावमध्ये कुन स्वीकृत गर्ने भन्ने त्रिविले निर्णय गरिसकेको छैन। त्रिवि पुस्तकालय विकास समितिले दुवै प्रस्ताव कार्यकारी परिषदमा पठाएको छ। तर कार्यकारी परिषदले यसबारेमा निर्णय गरेको छैन। त्रिवि उपकुलपति प्रा. डा. तीर्थ खनियाँले भने यी प्रस्तावबारे छलफल गरिनसकेको बताए। 

भूकम्पले त्रिवि पुस्तकालयको मुख्य भवनमा क्षति गरेपछि पुस्तकालयमा पढ्ने कक्ष र नयाँ किताब राख्न समेत समस्या रहेको पुस्तकालय प्रमुखले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.