|

गुल्मी : गुल्मीमा अज्ञात समूहले जेसिबी कम्पनीको एक्साभेटरमा आगजनी गरेको छ। निर्माणधीन छल्दी पनाहा इन्द्रेगौडा सडकमा काम गरिरहेको जेसिबी २ सय ५ एक्साभेटरमा सोमबार राति इस्मागाउँपालिका वडा नं. २ रातचौर भन्ने स्थानमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

राति करिब १ बजेको समयमा रोकीराखेको एक्साभेटरमा आगजनी हुँदा इन्जिन जलेर नष्ट भएको प्रहरीले जनाएको छ। निर्माणधीन उक्त सडकमा कालिका कन्ट्रक्सन काठमाडौंले सडक निर्माणको जिम्मा लिएको थियो। आगजनी गर्ने अज्ञात व्यक्तिको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। आगजनीबाट एक्साभेटर काम नलाग्ने भएको कालिका कन्ट्रक्सन काठमाडौंका इन्जिनियर नवीन सापकोटाले जानकारी दिए।

सडक चौडा पार्ने तथा नाली र ग्राभेल गर्नका निम्ति झन्डै ६ महिनाअघिदेखि निर्माण गर्दै आएको इन्जिनियर सापकोटाले जानकारी दिए। सडक सम्पन्न गर्न ५० प्रतिशत काम भइसकेको थियो इन्जिनियर सापकोटाले भने, ‘आगजीबाट एक्साभेटरको इन्जिन जलेर काम नलाग्ने भयो।’

विकास निर्माणको काम अवरोध पार्न गरिएको प्रयास हो,उनले भने ‘अज्ञात व्यक्ति तत्काल पत्ता लगाइ कडा कारबाही गर्नुपर्छ।’ उनले यस्ता विकासविरोधी अपराधीलाई कडा कारबाही हुनुपर्ने बताए। कालिकाले उक्त सडकखण्डको ६ किलो मिटरको काम गरिरहेको थियो। सडक सम्पन्न गर्न दुईवटा जेसिबी एक्साभेटरले काम गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.