|

योगेन चित्तस्य पदेन वाचां
​मलं शरीरस्य च वैद्यकेन।

योऽपाकरोत् तं प्रवरं मुनीनां
पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि॥

योगमार्फत चित्तलाई शुद्ध बनाउने, पद (व्याकरण) मार्फत वाणी शुद्ध बनाउने‚ वैद्यमार्फत शरीरलाई शुद्ध बनाउने ती महर्षि पतञ्जलीलाई नमस्कार गर्छु। 

योग शब्द संस्कृत भाषाको युज् धातुबाट आएको हो। जसको अर्थ हुन्छ जोड्नु अर्थात् जोड। योगले शरीर, मन, चेतना र आत्मालाई एक अर्कासँग जोड्छ र सन्तुलित बनाउँछ।

मानव जीवनमा विभिन्न दृष्टिकोणबाट प्राकृतिक रूपमै योग र ध्यानको प्रत्यक्ष सम्बन्ध र महत्त्व रहेको छ। आजको व्यस्त आधुनिक युगमा प्रत्येक व्यक्ति कुनै न कुनै रूपमा मानसिक तनाव तथा शारीरिक रोगबाट दिनदिनै ग्रसित भइरहेको अवस्था छ।

जीवनभरको अस्तव्यस्तताका कारण व्यक्ति मानसिक र शारीरिक तापबाट तनावग्रस्त छ। योगको उद्देश्य शरीरका विभिन्न क्रियाकलाप बीच सामञ्जस्य स्थापित गरेर शरीर र मनलाई स्वस्थ बनाउनु हो। योग र ध्यानको नियमित अभ्यासबाट मात्र आध्यात्मिक एवं भौतिक विकास सम्भव हुने र मनमा एकाग्रता बढ्ने गर्छ।

योगभित्र अष्टाङ्ग योग- यम, नियम, आसन, प्राणायाम प्रत्याहार, धारणा‚ ध्यान र समाधि समावेश गरिएको छ। जब व्यक्ति आयुर्वेद र योगको पालना गरेर आफ्नो दिनचर्या र जीवन व्यतित गर्न थाल्छ तब ऊ कुनै पनि प्रकारको शरीरिक वा मानसिक कष्टबाट गुज्रिनु पर्दैन।

मानिस शारीरिक रूपमा रोगग्रस्त र समस्याले पीडित हुनु र मानसिकरूपबाट अशान्त हुनुको कारण योग र ध्यानको अभ्यास नगर्नु हो।​

योग सरल चिकित्सा पद्धति

शरीर स्वस्थ, मन शान्त र आत्मदेखि आनन्दको अनुभूति गर्नका लागि योग र ध्यान जत्तिको सरल चिकित्सा अरू छैन तर मानिसले यो पद्धति नै भुलेको छ। आध्यात्मिक, वैज्ञानिक, शारीरिक, मानसिक, सामाजिक एवं चिकित्सा प्रत्येक क्षेत्रमा योगको आवश्यकता छ।

आध्यात्मिक दृष्टिकोणबाट योगको परिणाम हेर्ने हो भने योगले मस्तिष्कका दुवै भागलाई समन्वय गरी सम्बन्ध स्थापित गर्ने गर्छ। मन्त्र, जप, ध्यान धारणा,आसन‚ प्राणायाम आदिको माध्यमबाट आध्यात्मिक पक्षको विकास हुने गर्छ। योगको माध्यमबाट मानसिक सन्तुलन बढाउन सकिन्छ भन्ने कुरा अभ्यास र अनुभूतिबाट स्पष्ट भइसकेको छ। यो प्रमाणित भइसकेको तथ्य हो दायाँ मस्तिष्कको सम्बन्ध इडा नाडीसँग र बायाँ मास्तिष्कको सम्बन्ध पिंगला नाडीसँग रहेको छ।

प्राणायामको माध्यमले दुवै मस्तिष्कलाई सक्रिय पारी स्वस्थ र सहज व्यक्तित्व निर्माणमा योगको महत्त्व रहेको हो। शारीरिक योगाभ्यास, प्राणायाम, ध्यान सबै अभ्यास सम्पूर्ण शरीर शुद्धीकरण प्रक्रिया हो। योगको नियमित अभ्यासले नै सूक्ष्मतम तत्त्वहरूलाई सक्रिय पार्छ। जसको परिणाम उचित जीवनशैलीको विकासमा मद्दत पुग्छ।

आधुनिक चिकित्सा प्रणालीले समेत श्वासप्रश्वास सम्बन्धी रोग, मधुमेह, रक्तचाप, अन्थ्राइटिस, पाचनतन्त्र, प्रजननतन्त्र, मानसिक तनाव आदि जटिल रोगको सफल उपचार गर्न योग र ध्यान वैकल्पिक चिकित्सा बन्न सकेको पुष्टि गरिसकेको छ। स्वस्थ शरीरको व्यवस्थापन र शान्त मनको औषधि नै योग र ध्यान हो। विश्व स्वास्थ संगठनले समेत स्वास्थ्यलाई परिभाषित गर्न शारीरिक स्वास्थ्यको मात्र होइन मानसिक, भावनात्मक र आध्यात्मिक स्वास्थ्य सन्तुलनमा रहनुपर्छ भनेको छ।​


योग आसन र स्वास्थ्य

मानिसको जीवनमा शारीरिक स्वास्थ्य आधारभूत स्वास्थ्य मान्ने गरिन्छ। तसर्थ भन्ने गरिन्छ स्वास्थ्य नै धन हो। स्वास्थ्यरूपी धनको सञ्चय गर्न योग, व्यायाम, बस्ने आसन र भोजनमा विशेष ध्यान दिनुपर्छ। शारीरिक स्वास्थ्य प्राप्तिका लागि आसनको बारेमा महर्षि घेरण्डले घेरण्ड संहितामा उल्लेख गरेका छन्-

आसनानि समस्तानि यावन्तो जीवजन्तवः ।​
चतुरशीतिलक्षाणि शिवेन कथितानि च ॥२/१॥​
तेषां मध्ये विशिष्टानि षोडशोनं शतं कृतम्।
तेषां मध्ये मर्त्यलोके द्वात्रिंशदासनं शुभम् ॥२/२॥
(घेरण्ड संहिता)

भनिन्छ‚ संसारमा जति जीवजन्तु छन् त्यति नै संख्यामा आसन रहेका छन्। आदिदेव भगवान् शिवले नै चौरासी लाख आसनको बारेमा बताएर चौरासी आसनलाई श्रेष्ठ बताएका थिए। चौरासी आसनमा पनि यस मृत्युलोकका लागि बत्तीस आसन अति शुभ रहेका छन्।शरीरको अवस्थालाई विशेष ध्यान दिएर विभिन्न प्रकारका योगासन गर्नुपर्छ।

स्वस्थ व्यक्तिका लागि आसन गर्नमा कुनै अवरोध नभए पनि बालबालिका, वृद्ध, गर्भवती महिला र रोगी व्यक्तिले योग गर्दा धेरै सावधानी अपनाउनु पर्छ। शरीरलाई आन्तरिक रूपमा स्वस्थ राख्न षट्कर्मले विशेष भूमिका निर्वाह गर्ने गर्छ।

धौतिवस्तिस्तथा नेतिः लौलिकी त्राटकं तथा।​
कपालभातिश्चैतानि षट्कर्माणि समाचरेत् ॥१/२
(घेरण्ड संहिता )

धौति, वस्ति, नेति, नौली, त्राटक र कपालभाति गरी छ वटा षट्कर्म हुन्छन्। यसरी योगका विभिन्न प्रक्रिया आसन, प्राणायाम, मुद्रा, बन्ध र षट्कर्मले शरीरलाई शारीरिक स्वस्थ राख्न प्रत्यक्ष रूपमा सहयोग गर्छन्।

व्यक्तिको मानसिक तथा शारीरिक विकारबाट मुक्ति दिलाउनका लागि योग अनुष्ठानका विभिन्न विधिहरू- आसन, प्राणायाम, सूक्ष्म व्यायाम, सूर्य नमस्कार, सहज व्यायाम गरी ७९ अभ्यास छन्।

यिनको अभ्यासले शारीरिक विकास र मानसिक विकासबाट स्वस्थ र मुक्त बन्न सकिने प्रयोग सिद्ध भइसकेको योगीहरूको जीवनशैली र अनुभूतिबाट थाहा लाग्छ।

योग स्व-अनुभूति हो

प्राणायाम अरू योगाभ्यास र ध्यानको प्रयोग एन्टिएजिङ प्रोसेस र अक्सिजन थेरापी पनि हो।

सहज योगको निरन्तर अभ्यासले मानव शरीरमा रोगसँग लड्ने ऊर्जा, मेटाबोलिजमका साथै दर्शन शक्ति, श्रवण शक्ति, सुघ्ने शक्ति, बोलीमा सरसता, अनुहारमा आभा, ओज, तेज, मस्तिष्कमा ज्ञान शक्ति एवं पेटमा पाचनशक्ति प्राप्त गर्न सहज हुन्छ। वास्तवमा प्राणायाम, शरीरभित्र आन्तरिक शक्ति र अथाह ऊर्जा प्राप्तिको स्रोत हो।

प्रसन्नता हामीभित्र छ, जुन प्रणायामबाट बाहिर प्रस्फुटन हुन्छ। उद्वेग चिन्ता, क्रोध, निराशा, भय, कामुकता आदि मनोविकारको समाधान प्राणायामद्वारा सहजतापूर्वक गर्न सकिन्छ। दिव्य जीवनको प्राप्तिको चाहना छ भने योग र ध्यान सहज माध्यम हुन्।

स्वस्थ, स्फूर्त, करुणावान, प्रेमल स्वभावको विकास भएको छ भने त्यो व्यक्ति नै योगी हो। योग रूपान्तरणको विज्ञान हो। रूपान्तरण केवल शरीरमा वा मनमा मात्र भएर हुँदैन, समाजमा पनि आवश्यक हुन्छ। स्वयंलाई सकारात्मक र स्वस्थ रूपमा परिवर्तन गर्दै परिवार, समाज र राष्ट्रलाई नै रूपान्तरण गर्न योजनाबद्ध रूपमा योगका कार्यक्रमलाई अगाडि बढाउनुपर्छ र बालबालिकाका पाठ्यपुस्तकमा पनि समेटिनु पर्छ।

योग जागरणको माध्यम हो

उपनिषद्‌मा उल्लेख छ -

‘उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत’

उपनिषद्‌मा उल्लेख भएझैँ संसारिक दुःख, कष्ट, गुनासो, अपूर्णताबाट जागृत भएर आन्तरिक र बाह्य सफलता दुबै प्राप्तिको मार्गमा लाग्ने प्रेरणा जाग्नु योगको परिणाम हो।

नामदाम दुबैमा अरूले भन्दा बढी सफलता प्राप्त गर्नुपर्ने, इज्जत र प्रतिष्ठा अरूको भन्दा बढी चाहिने, डिग्री,पद अरूभन्दा माथि नै हुनुपर्ने अहिलेका मानिसका समस्याहरू र दुर्भावना समाधान हुनका लागि उनीहरूको जीवन शैलीमा परिवर्तन आउनु जरुरी छ।

योग-ध्यानको माध्यमबाट मात्र यो चेतना मानिसमा जागृत हुनसक्छ। मानिसको जीवन नै स्थायी छैन तर उसका चाहना सबै चिज स्थायी हुनुपर्नेछ। नोकरी, सम्पत्ति, भौतिकता सबै सबै बाहिरबाट आर्जित कुरा स्थायी रूपमा चाहिएको छ। आन्तरिक चिज सबै स्थायी छन् तर त्यसको हेक्का छैन।

शान्ति, प्रेम, आनन्द, खुसीको स्रोत भित्र छ तर खोजिरहेछ बाहिर। अब यो विपरीत मानसिकताबाट जाग्न सक्नु योगबाट दीक्षित हुनु हो। ‘नास्ति योगसमं बलम्’ अर्थात् योग समान अर्को कुनै बल अर्थात् शक्ति छैन। धनको शक्ति, मानव शक्ति, मनको शक्ति, शारीरिक शक्ति, पदको शक्ति सबै भौतिक सफलताका लागि काम आउलान् तर योगबल त्यस्तो उच्चतम र अदृश्य बल हो जसले जीवन जिउने शक्ति सँगै परम शक्ति प्राप्त गर्ने महाबलसमेत प्रदान गर्छ। परम तत्त्वको ज्ञान केवल योग र ध्यानको नियमित अभ्यासबाट मात्र सम्भव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.