|

गुल्मी : पहिरोले पुरिएर समयमा उद्धार पाउन नसकेपछि गुल्मी ह्वाङ्गदीकी ३५ वर्षीया भवानी घर्तीमगरलाई स्थानीयवासीको सहयोगमा ४८ घन्टापछि सदरमुकाम तम्घास ल्याई पुर्‍याइएको छ। 

ह्वाङ्गदी–३ की घर्ती र उनका श्रीमान दिलबहादुर घर्तीलाई पहिरोले पुरेको थियो। स्थानीयवासीको सहयोगमा भवानीलाई पुरिएको अवस्थामा स्थानीयवासीले उद्धार गरेका थिए। उनका श्रीमान दिलबहादुर भने सामान्य घाइते बनेका छन्। 

सदरमुकाम तम्घासदेखि अत्यन्तै दुर्गम भएको र यातायातको सहज पहुँच नभएका कारण भवानीलाई स्थानीयवासीले पैदलै स्ट्रेचरमा बोकेर सदरमुकामसम्म ल्याई पुर्‍याएका हुन्। मङ्गलबार पहिरोमा पुरिएर घाइते घर्तीमगरलाई बिहीबार बिहान मात्र जिल्ला अस्पताल तम्घास ल्याई पुर्‍याइएको थियो। 

घर्तीको शरीरभरि चोट लागेका कारण जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अहिले उनलाई पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ। 

“सुरुमा पहिरोमा पुरिएर घाइते भएकी घर्तिको अवस्था सामान्य रहेको भन्ने जानकारी पायौँ र बिरामीलाई बोकाएर ल्याउन थाल्यौँ, तर यहाँ ल्याई पुर्‍याउँदा अवस्था गम्भीर रहेछ, त्यस्तो छ भन्ने जानकारी पाएको भए तत्कालै हेलिकप्टरबाट ल्याउने प्रयास गर्ने थियौँ”, प्रजिअ उदयबहादुर रानाले भने। गुल्मीमा पहिरोले पुरिएर अन्य थप ५ जना समेत घाइते बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.