|

लहान : नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आश्रममा यतिवेला सुनसान छ। 

सिरहा १ बाट निर्वाचित नेता गिरिले शान्तरूपमा बस्न र थकाइ मेटाउन गाउँनजिकै खुट्टी खोला किनारमा आश्रम बनाएका थिए। उनको निधनसँगै आश्रममा सन्नाटा छाएको छ। १२ बिघा क्षेत्रफलमा रूखबिरुवाका माझमा बनेको आश्रममा समाजवादी चिन्तक गिरि आउनेवित्तिकै कार्यकर्ता भेला भइहाल्थे। 

वनस्पतिले दिने शीतलता, चराचुरुङ्गीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे। 

यो आश्रममा २०५२ सालदेखि काम गर्दै आएका ५५ वर्षीया जितनी राम र ५० वर्षीय गम्भीरमान लामाको अनुहार अहिले मलिन छ।  

अभिभावकले सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएका उनीहरू शोकमा डुबेका हुन्। शुभेच्छुक तथा नेता कार्यकर्ता नेता गिरिलाई अन्तिम श्रद्धाञ्जलि दिन काठमाडौं पुगेपछि आश्रममा सन्नाटा छाएको दीप परियारले बताए।

‘प्रदीप सर यहाँ हुँदा दिनहुँ भीड लाग्थ्यो, तर उहाँको निधनको खबर सुनेपछि यहाँका धेरै व्यक्ति  राजधानी गइसक्नुभयो’, उनले भने, ‘नेता गिरि आएको खबर पाउने बित्तिकै गाउँलेदेखि विभिन्न पार्टीका नेता भेट्न आश्रममा आउनुहुन्थ्यो। दिनहुँ यहाँ भीड लाग्ने गर्थ्यो। तर अब उहाँको निधन भएपछि आश्रम सुनसान भएको छ।’

‘अभिभावक नै सदाका लागि छाडेर गएपछि हाम्रो बिजोग भएको छ। हामी अभिभावकविहीन भएका छौँ’, आश्रमको रेखदेख गर्दै आएका रामकृष्ण चौधरीले भने, ‘पहिला मान्छेको भीडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाइ बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि अहिलेसम्म आश्रममा प्रायः मान्छे आउनै छाडे। अब त झन् उहाँ सदाका लागि यो संसारबाट बिदा भएपछि किन आउँछ र!’

सिरहाको लहान बजारदेखि करिब छ किलोमिटर उत्तर पश्चिममा पर्ने बस्तीपुर गाउँको पुर्ख्यौली घर छाडेर नेता गिरीले गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए। करिब छ बिघा क्षेत्रफलमा फैलिएको आश्रममा नेता गिरीले थप्रै दलित तथा सुकुम्बासीलाई जग्गा दिएर बसाएका थिए। 

भारतका नेता जयप्रकाश नारायणले जस्तै कर्मप्रधान आश्रम बनाउने परिकल्पनाअनुसार नेता गिरीले २०४८\४९ सालमा बिरुवा रोपेर आश्रम स्थापना गरेका थिए। त्यसको १० वर्षपछि पुनःस्थापना गरेको आश्रम स्वरोजगारमूलक बनाउन उनले पशुपालन सुरु गरेका थिए। 

‘जन्मथलो बस्तीपुर आउँदा नेता गिरि धेरैजसो समय आश्रममै बिताउनुहुन्थ्यो’, उहाँका समकालीन ७१ वर्षीय कुमुदरञ्जन बरालले भने, ‘प्रदीप दाइ जहिले पनि नेपालका बारेमा, यहाँको दरिद्रता, विषमता, बेरोजगारी, सार्वजनिक व्यवहारमा बढिरहेको जातीय एवं धार्मिक वैरभाव, पर्यावरणमा आइरहेको ह्रास, कृषि संस्कृतिको विकासका बारेमा चासो राख्नुहुन्थ्यो।’

आश्रममा अहिले अध्ययन केन्द्र, प्रशिक्षण केन्द्र, बालबालिका अध्ययन केन्द्र, गरिबका लागि सहकारी, दलित सशक्तीकरणका लागि दलित जनकल्याण युवा क्लब, महिला अधिकार केन्द्र र फूलबारी रेडियो सञ्चालित छन्।

इँटाको पर्खाल र जस्ताले छाएको आश्रम बनाएर बस्ने गिरिले त्यहीँबाट राजनीतिक र सामाजिक गतिविधि गर्दै आएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.