|

पाल्पा : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको आँगनमा गएर कटौरा थापिरहेको बताएका छन्।

शनिबार तानसेनमा आयोजित एमाले कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले मलाई त पुग्यो अझै केहीलाई त दिनुहोस् न भन्दै रित्तो कटौरा देखाएर मागिरहेको बताए। आगामी मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनको सिट बाँडफाँडमै समस्या भइरहेको छ।

कम्युनिष्टका नेताले कम्युनिष्टकै पार्टी र सरकार भत्काएर फरक नीति, सिद्धान्त र विचार बोक्ने कांग्रेससँग भीख माग्न पुग्नु दु:खद भएको उनको ठम्याइ छ।

आफ्नो पार्टीको दस्तावेजमा जसलाई मुख्य प्रतिस्पर्धीको रूपमा किटान गरिएको छ। त्यही पार्टी  कांग्रेसलाई प्रधानमन्त्री बनाउन साथ दिएको छ। मुलुकमा नयाँ व्यवस्था ल्याउने उद्देश्यले जनयुद्ध थालेको माओवादीका अध्यक्ष प्रचण्डले सहिद, घाइते र वेपत्ता परिवारको सपना चकनाचुर बनाएको आरोप लगाए।

केही नेताको स्वार्थ पूरा गर्न पुरानै व्यवस्था चाहने कांग्रेसको शरणमा पुगेर राजनीतिमा बेइमानी गरेको ज्ञवालीको आरोप छ।

गठबन्धनका दलले राजनीतिमा वेश्यावृत्ति गरेको आरोप लगाए। माधवकुमार नेपालप्रति लक्षित गर्दै उनले भने‚ ´सत्ता स्वार्थ र पदका लागि एउटा पार्टीको चिह्नमा उठ्ने र अर्कासँग मिलेर मन्त्री बन्ने नेताको प्रवृत्ति लज्जास्पद हो।`

एमालेसँग एक्लै लड्ने तागत नभएका दलले अझै पनि डराएर गठबन्धन दलीय संख्या थप्दै गरेका छन्। राष्ट्र र राष्ट्रियता हितमा भन्दा पनि भागबण्डा मिलाएर खानकै लागि गठबन्धन गरेको उनले बताए। 

आगामी मंसिर ४ गते हुने निर्वाचनपछिको ५ वर्ष आलोपालो प्रधानमन्त्री र मन्त्री भएर खाने दाउ बाहेको केही छैन। अहिले गठबन्धनको एउटै प्रधानमन्त्रीको हो? भन्ने प्रश्नको जवाफ दिन नसक्नुले यसको पुष्टि गर्छ।

लोकतन्त्र, संविधान रक्षा र विकासका लागि एमालेको नेतृत्वमा बहुमतको सरकार आवश्यक रहेको उनले बताए। एमाले हारे मुलुक नै हार्ने नेता ज्ञवालीले जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.