|
photo : facemeu.com

काठमाडौंमा मनाइने लामो जात्रा रातो मछिन्द्रनाथको रथयात्रा आज भोटो देखाएर समापन हुँदैछ। वर्षा तथा सहकालका देवताका रुपमा मानिने मच्छिन्द्रनाथको रथयात्रा करिब दुई महिना चल्छ। बैशाखदेखि शुरु भएर असार शुक्ल चौथीको दिन समापन गरिन्छ।

जात्राको सुरुवात

लिच्छिविकालीन राजा गुणकामदेवले शुरु गरेको यो जात्राको मुल थलो ललितपुरको बुङ्मती हो। जसलाई नेवारी भाषामा वोदेयो भन्ने गरिन्छ। काठमाडौंमा मछिन्द्रनाथको रथ तान्न थालेदेखि पानी परेको संस्कृतिविद्हरु बताउँछन्। रातो मछिन्द्रनाथलाई महिला र पुरुष दुवै स्वरुपमा पुजिन्छ। करिब ५० फिट लामो रथलाई ललितपुरको पुल्चोकमा तयार गरी मछिन्द्रनाथको मूर्तिलाई विधिवत रुपमा प्रतिस्थापन गरिसकेपछि जात्रा औपचारिक रुपमा सुरु हुन्छ। रथलाई ललितपुरको मंगलबजार, सुन्धारा, लगनखेल तथा जाउलाखेल पुर्‍याएर भोटो देखाएर विधिवत रुपमा अन्त गरिन्छ।

रातो मछिन्द्रनाथको रथ जाउलाखेल पुगेको चार दिनपछि भोटो देखाउने जात्रा पर्छ। बिभिन्न हिरा जडित भोटो राष्ट्र प्रमुखले देखाएपछि जात्रा समापन गरिन्छ। पहिले राजाहरुले अवलोकन गर्दै आएको भोटो जात्रा गणतन्त्र स्थापनापछि राष्टप्रमुखले अवलोकन गर्ने गरिएको छ। भोटो देखाएको साँझ मच्छिन्द्रनाथलाई खटमा राखेर ज्योतिषको सल्लाहअनुसार सोही दिनमा बुङ्मतीमा फर्काउने परम्परा रहेको छ।

दुई महिनासम्म ललितपुरका विभिन्न ठाउँ परिक्रमा गराएर जाउलाखेल पुर्‍याएको ४ दिनपछि भोटो देखाउने यो परम्परालाई एउटा परम्पराका रुपमा मात्र नभएर राष्ट्रप्रमुख र नागरिकका बीचमा आत्मीय सम्बन्धको प्रतीकका रुपमा पनि लिने गरिन्छ।

कसरी सुरु भयो भोटो जात्रा ? यसका किंवदन्तीबारे संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबावु ग्वंग:को भनाई :  

टौदहमा बस्ने कर्कट नागराजकी पत्नी आँखा सम्बन्धी रोगबाट ग्रसित भएपछि नागले पत्नीको आँखा उपचार गर्न सबै प्रकारका कोशिस गरे। तर केही उपाय लागेन। त्यसपछि नागराजा भक्तपुरको नामी बुढा वैद्यलाई भेट्न गाउँमा गएछन्। भेष बदलेर गएका नागराजले त्यहाँ वैद्यसँग आफ्नो पत्नीको आँखाको उपचार गरिदिन अनुरोध गरे। उनले आफ्नी पत्नीको उपचार गर्न विष्णुको भक्त एक साधारण किसानलाई लिएर गए। त्यसपछि नागराजाले आफ्नो जादुमयी शक्तिबाट उक्त किसानलाई आफ्नो दहमा समाहित गराए।  

असहाय किसान दुःखमा छट्पटाउन थाले, किनकी किसानलाई आँखा निको बनाउने विधि थाहा थिएन। उनले आफ्नो भगवान विष्णुलाई पुकार गरे र भने नागराजले मलाई आफ्नो श्रीमतीको आँखा निको बनाउने औषधी मागेका छन् कृपया मलाई सहायता गर्नुस्। विष्णुको असल भक्त भएकोले विष्णुले उनको पुकार सुने र उक्त औषधी किसानलाई दिए। त्यसै औषधीले नागराजको श्रीमतीको आँखा निको बनाए। यसबाट नागराज खुशी भएर सुनहिरा जडित आफ्नो भोटो दिएर पठाए।

यही भोटो केही समयपछि हरायो। एक दिन जाउलाखेलमा रातो मछिन्द्रनाथको जात्रा भइरहेको बेलामा किसानले एकदम अग्लो मान्छेले आफ्नो उक्त हराएको भोटो लगाइराखेको देख्यो। सो ठाउँमा उसले आफूलाई उक्त भोटो दिने नागराजालाई पनि देख्यो। भोटो चोरिएको विषयमा विवाद बढ्दै गएपछि उनीहरु सबैले उक्त भोटो आफ्नो नभएको र मछिन्द्रनाथलाई दिने भन्ने निर्णय गरे र मछिन्द्रनाथलाई दिए। यसरी त्यसै समयदेखि उक्त भोटो मछिन्द्रनाथको भएको र जाउलाखेलमा मछिन्द्रनाथको उक्त भोटो देखाउने चलन चलेको भन्ने किंवदन्ती रहिआएको छ।

भोटो जात्रा एउटा किंवदन्ती, मान्यतामा आधारित रहेर मनाइँदै आएको पर्व हो। भोटोसँगै जोडिएका लोकोक्ति, किंवदन्तीहरु र लोककथाहरु छन्। त्यो भोटो नागराजको हो भनिन्छ। राजाको भोटो हो पनि भनिन्छ। त्यो उनीहरु दुवैको नहुन पनि सक्छ। यो एउटा विश्वास हो।  

हरेक संस्कार, संस्कृतिमा यस्ता किसिमका किंवदन्तीहरु हुन्छन्। त्यो किंवदन्तीहरु कसले भनेको थाहा नै हुँदैन। लोकवार्ता भनेको त्यही नै हो। लेखक अथवा कथानक कहने व्यक्ति नै थाहा नभएको कुराहरु सबै किंवदन्ती हुन्।

किंवदन्ती अनुसार नागराजको भोटो भनेर जात्रा देखाइदै आएको छ। त्यो बेला हिराजडित भोटो कसैले हराएर यो तिमीहरु कसैको हो कि भनेर सार्वजनिक रुपमा प्रदर्शन गरिएको पनि हुन सक्छ। भोटो जसको हो उसले क्लेम गर्न आउनुस् भनेर अथवा यसको दसी प्रमाणहरु लिएर माग्न आउनुस् भनेर भोटो जात्रामा देखाएको हुनसक्छ। यो भोटो जात्रा सत्य बोल्ने सत्य कुराको प्रमाण दिनेलाई दिन्छौं भनेर गरिएको जस्तो लाग्छ मलाई।

अहिलेको शासन व्यवस्थालाई चुनौती

शासन व्यवस्थाअनुसार हेर्ने हो भने, देवताको कालमा अथवा सत्ययुगमा पनि सत्यपूर्वक यस्तो व्यवहार हुँदो रहेछ भन्ने कुराको प्रमाण पनि हो भोटो जात्रा। सारा जनतालाई देखाएर प्रदर्शन गर्ने भनेको त्यतिबेलाको मान्छेको इमान्दारिता प्रदर्शन गरिएको हो। यसले अहिले जुन प्रकारको शासनव्यवस्था चलिरहेको छ त्यसलाई पनि चुनौती दिन्छ। यो एउटा संस्कृति, अन्धविश्वास मात्र होइन। संस्कृतिभित्रको वास्तविक मर्म बुझ्न आवश्यक छ।

हामीले मान्दै आएको संस्कृतिलाई अन्धविश्वासमा ढालिनु भने हुँदैन। संस्कृतिले वर्तमान युग, परिवेशलाई कसरी सुधार्न सकिन्छ? यसलाई अझ मजबुत बनाउन सकिन्छ? भन्ने कुरालाई ध्यान दिन आवश्यक छ। यो प्रचलनलाई अहिलेको समाजले बुझ्नुपर्छ। त्यसकारण संस्कृतिको बारेमा बुझ्न खोज्ने यसका राम्रा पक्षका बारेमा बोलौं। 

भोटो जात्रा कहिलेदेखि शुरु भएको हो? ठीक समय त थाहा छैन। किनकी यो किंवदन्ती हो। यो संस्कृति त्यतिबेलादेखि शुरु भएको हो, जतिबेला काठमाडौंमा नेवार समुदायको मात्र बसोबास थियो। शुरुवातमा नेवार समुदायले नै यो संस्कृतिको शुरुवात गरे र अहिलेसम्म निरन्तरता पनि दिँदै आएका छन्। त्यो त्यतिबेला त्यस्तै समय थियो तर अहिले त्यस्तो परिवेश छैन। यहाँ नेवार मात्र नभएर सबै थरीका जाति समुदायको बसोबास छ। यस अर्थमा यो अब नेवारको मात्र पर्व रहेन यो सबैको पर्व हो। यसलाई सबैले अपनत्व ग्रहण गर्नुपर्छ। 

नेवारहरुको मात्र पर्व होइन

काठमाडौं उपत्यकामा नेवारहरुको मात्र बसोबास रहँदा र अहिलेको अवस्थामा त जात्रा हेर्नेहरुको भीडमा अन्तर हुने नै भयो। तर त्यो बेला नेवारहरुले जुन महत्वका साथ यो पर्व मनाउने गर्थे अहिले यो पर्व रहरले वा रमाइलोका लागि भएपनि अरुले पनि यसमा सहभागी हुदै आएका छन्। 

त्यो बेला शान्त, शुद्ध र वैभवशाली नै हुन्थ्यो। अहिलेपनि वैभवशाली नै छ तर, अहिलेको समय भनेको सबै संस्कृति सबै समुदाय, जातिले ग्रहण गर्ने, मान्ने समय आइसकेको छ। यो सबै नेपालीहरुको संस्कृति भैसक्यो नि। हामीले अब बनाउने दृष्टिकोण भनेको यसरी हो। यसकारण नयाँ परिवेशअनुसार पुराना कुरालाई नयाँ परिवेशमा ढालेर बातावरण मिलाएर हामीले त्यसको व्याख्या विश्लेषण गर्नुपर्छ।  

अब पुरानो संस्कृतिलाई ती कुराहरुले अहिलेको समयमा के गर्छ? यसको महत्व के चाहिँ छ? त्यसले अहिलेको जमाना, परिवेश, परिस्थिति, समाज, राज्यव्यवस्थालाई कसरी सघाउन सक्छ? भन्ने कुरा यसको सन्दर्भ हो। पौराणिकता मात्र सबै कुरा होइन। पौराणिकता भित्रका कुराहरुले अहिलेको आधुनिकतालाई कसरी अँगाल्छ? त्यसतर्फ हामीले ध्यान दिनुपर्छ। 

संस्कृतिको प्रणेता भनेको मान्छे नै हो। मान्छेले चलाएको संस्कृति भनेको सँधैभरी जीवनमूलक हुन्छ। रथयात्रा गर्ने, रथ तान्ने, रथ निर्माण गर्ने शैली भनेको मान्छेका लागि मान्छेले नै गरेको कार्य हो। भगवानका लागि गरेको त होइन किनभने भगवान नै मान्छे हो। मान्छेभित्रको भगवानलाई सचेत पार्नका निम्ति संस्कृति चाहिन्छ।

नेवार समुदायले शुरुवात गरेका कारण यो नेवारको सांस्कृतिक पहिचान नै हो। यो नेवारहरुले नै मल्लकालीन समयमा शुरुवात गरे। यस्ता कुराहरुलाई नेवार समुदायले आफ्नो भन्ठान्नु राम्रै कुरा हो। तर हाम्रो मात्रै हो अरुको होइन भन्ने सोँच भने राम्रो होइन। अब हामी त्यति साँघुरो हुनुहुँदैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.