|

लहान : सिरहाको दक्षिणी सीमावर्ती गाउँ सोठियाइनका एक टुहुरा युवक हराएको करिब १६ वर्षपछि घर फर्किएको दुई महिनालगत्तै बेपत्ता भएका छन्। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ सोठियाइनका अन्दाजी २८ वर्षीय शिवनाथ यादव केही सुस्त रहेकाले पैत्रिक सम्पत्ति हत्याउन अपहरण गरेर बेपत्ता बनाएको हुन सक्ने स्थानीय गाउँलेहरुको आशङ्का रहेको छ।

शिवनाथ घरबाट हराउनुअघि नै बाबु बिन्दीलाल यादवसहित आमाको पनि निधन भएको स्थानीय गाउँलेहरु बताउँछन्। बिन्दीका दाजु श्रीलाल यादवसहित दुईभाइको सगोलमा करिब सात बिघा जग्गा रहेको भए पनि बाबुआमा गुमाएपछि ठूलोबाको घरमा राम्ररी खान बस्नसमेत नपाएपछि बिरक्तिएका शिवनाथ २०५८ सालमा एकाकएक घरबाट हराएका थिए।

कसरी आइपुगे घर?

                बाबुआमा समेत बितिसकेका र दाजुभाई दिदीबहिनी कोही नरहेकाले घरबाट हराएका शिवनाथलाई तत्काल खोजी गरिएको भए पनि फेला नपरेपछि त्यतिकै सेलाएको थियो। भाइ बुहारी नरहेको र भएको एउटा भतिज पनि हराएपछि सबै जग्गा जमिन श्रीलालले नै हकभोग गर्दै आएको गाउँलेहरुको भनाइ रहेको छ।

तराई मधेसका जिल्लामा भव्य रुपले मनाइने होलीको तयारी चलिरहेका बेला सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँस्थित नेपाल प्रहरीको युनिटमा आइपुगेका शिवनाथलाई प्रहरीले खबर गरेपछि पछिल्लो फागुन २० गते गाउँमा लिएर आएको गाउँलेहरु बताउँछन्।

‘सोह्र वर्षअघि गाउँ छोडेर घर फर्किएका उनको नागरिकता बनाइदिन र दिवङ्गत बाबुको अंशको रुपमा रहेको जग्गा दिन सिङ्गो गाउँलेहरुले आग्रह गर्यौं’ नाम उल्लेख नगर्ने सर्तमा स्थानीय भन्छन् ‘तर उनका ठूलोबा श्रीलालले आफ्नो भाइको छोरा नै होइन भन्दै मानेनन्।’

जग्गा हडप्ने दाउ

स्थानीय गाउँलेहरुका अनुसार शिवनाथको बाबुले अंशको रुपमा पाउनुपर्ने जग्गा पनि नपाउँदै निधन भएको केही वर्षपछि उनकी आमाको पनि निधन भएको थियो। दुई दाजुभाइको पुख्र्यौली अंशको रुपमा रहेको सात बिघा जग्गामध्ये करिब एक बिघा सोठियाइन कर्मनियाको नयाँ बजारसँगै जोडिएको छ जुन प्रतिकठ्ठा २० लाख रुपैयाँ मूल्य पर्ने स्थानीय गाउँलेहरु बताउँछन्।

‘भाइबुहारी पनि मरिसकेकाले टुहुरो भतिजोलाई चिन्दै चिन्दिन भन्दै जग्गा हडप्नका लागि उनकै मिलेमतोमा अपरहण गरेर बेपत्ता बनाएको हुन सक्छ’ गाउँलेहरु आशङ्का गर्छन्।

खोजी हुँदै छ : प्रहरी

करिब १६ वर्षपछि गाउँ फर्किएका शिवनाथ ठूलो बाको घरमा अपमान र दुव्र्यवहारसँगै ‘चिन्दैनौं’ भन्न थालिएपछि छिमेकीहरुको घरमा दुई महिनासम्म आश्रय लिए। पछिल्लो फागुन २० गतेदेखि उनी हराएको वैशाख २० गतेसम्म दुई महिनाको बीचमा दुईपल्ट गाउँलेहरुले नागरिकता र अंशका लागि पहल पनि गरे तर, श्रीलालले अस्वीकार गरिरहे। त्यसलगत्तै उनी बेपत्ता भएपछि गाउँलेहरुको आशङ्काको सूई श्रीलालपट्टि नै फर्किएको छ।

गाउँलेहरुको आशङ्काको बेपत्ता भएका शिवनाथका नातामा काका पर्नेले इलाका प्रहरी कार्यालय लहानमा ‘अपहरण तथा शरीर बन्धक’ अन्तर्गत जाहेरी दिएपछि गरेपछि थप पुष्टि भएको उनीहरुको तर्क छ।

 तर उनको मिलेमतोमा अपहरणमा संलग्न रहेको आशङ्का गरिएका स्थानीय तारिणी प्रसाद यादवालई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको भए पनि उनले कानुन व्यवसायीमार्फत अदालतबाट निषेधाज्ञा र बन्दीप्रत्यक्षीकरणको आदेश लिएर आएकाले छोडिएको इलाका प्रहरी कार्यालय लहानका प्रमु्ख प्रहरी नायव उपरीक्षक हीराबहादुर पाण्डेले जानकारी दिए।

‘बेपत्ता शिवनाथको खोजीसहित प्रहरीले आफ्नो अनुसन्धान पनि गरिरहेको छ’  प्रहरी नायव उपरीक्षक पाण्डेले भने ‘जाहेरीमा नाम रहेका व्यक्तिलाई नियन्त्रणमा राखेर अनुसन्धान गर्न अदालतको आदेशले तत्काल समस्या पारेकाले त्यसको निक्र्योल भए पनि मात्र अर्को प्रकृया अगाडि बढ्छ।’ यद्यपि उनको खोजी भने तदारुकतासहित भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.