|

दैलेख : मंसिर ४ मा हुने ‘आम’ निर्वाचन दैलेखमा रोचक बन्ने देखिन्छ। एमालेको राम्रो जनमत भएको मानिने दैलेखमा दुई पूर्वसहकर्मीदेखि तीनजना ‘हेभीवेट’ उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएकाले यस पटकको प्रतिनिधिसभा निर्वाचन दैलेख–१ मा रोचक बन्ने भएको हो।

प्रतिनिधिसभामा निर्वाचनका लागि एमालेका रवीन्द्रराज शर्मासँग एकै पार्टीमा रहेर तीस वर्ष सहकार्य गरेका समाजवादीका अम्मरबहादुर थापा चुनावी मैदानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीकुमारी शाही सहितका तीनजना ‘हेभीवेट’ मैदानमा आएसँगै चुनाव कसको पोल्टामा पर्छ भन्दै विभिन्न अड्कलबाजी शुरु भएका छन्।

दैलेखको कम्युनिष्ट राजनीतिमा छुट्टै पहिचान बनाउँदै एमाले दैलेखको नेतृत्वमा रहेका रवीन्द्रराज शर्मा संसदीय राजनीतिमा अब्बल व्यक्तिका रूपमा परिचित छन्। यसअघि दैलेख–१ बाट एक पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित शर्मा तीस वर्ष एकै पार्टीमा सहकार्य गरेर काम गरेका पूर्वसहकर्मीसँग चुनावी मैदानमा छन्।

२०४९ मा गाउँ पञ्चायत सदस्य हुँदै एमालेको राजनीतिमा प्रवेश गरेका अम्मरबहादुर थापा एमालेबाट एकपटक संविधानसभा सदस्यसँगै सङ्घीय व्यवस्थापछि एक पटक प्रदेशसभा सदस्य भए। ०७४ सालको निर्वाचनमा एमालेबाट कर्णाली प्रदेश सभामा निर्वाचित थापा ‘फ्लोरक्रस’ गरी कर्णाली सरकारमा ६ महिने भौतिक मन्त्री बनेका थिए।

रवीन्द्रराज शर्मा र अम्मरबहादुर थापा एमालेमा लामो समय सहकार्य गरेका र एउटै भूगोलमा मिलेर राजनीति गरेका नेता हुन्। गाउँ पञ्चायत जिताएर उनलाई एमालेमा प्रवेश गराएको रवीन्द्रराज शर्मा बताउँछन्।

तीस वर्ष एमालेमा सहकार्य गर्दै आएका नेताहरू फरक–फरक दलबाट नयाँ प्रतिस्पर्धीका रूपमा उत्रिएपछि दैलेखमा निर्वाचन कसको पोल्टामा पर्छ हेर्न बाँकी छ। विगतदेखि नै दैलेखमा एमालेको जनाधार बलियो रहेको बताउँदै आफू चुनाव जित्नेमा विश्वस्त रहेको एमालेका रवीन्द्रराज शर्माको भनाइ छ।

एमाले विभाजनपछि माधव नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको जनाधार दैलेखमा लगभग उस्तै रहेको जानकारहरू बताउँछन्। अम्मरबहादुर थापा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहेकाले यस पटकको आमनिर्वाचन सहजै आफ्नो पोल्टामा पर्ने समाजवादीका नेताहरूको बुझाइ छ।

‘हेभीवेट’ प्रतिस्पर्धीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीकुमारी शाही जनताले नयाँ र विकासप्रेमी उम्मेदवारलाई जनमत प्रदान गर्ने बताउँछिन्। राप्रपाका महामन्त्रीसमेत रहेकी शाही यसअघि संघीय सरकारको शहरी विकास मन्त्री भइसकेकी व्यक्ति हुन्। दैलेखमा पहिलो पटक प्रत्यक्ष निर्वाचनमा होमिने शाही पहिलो महिला हुन्।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा एमाले लगायतका अन्य दल एकल चुनावी मैदानमा होमिएका छन् भने नेपाली काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीको पाँच दलीय गठबन्धन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.