|

चितवन: चितवन निकुञ्जमा सोमबार फरक दृश्य देखियो। नेपाली सेना बोरा खोलेर अस्थायी भट्टीमाथि वन्यजन्तुका अंगप्रत्यंग (आखेटोपहार) राख्दै थिए। तल खुला थियो। इट्टा लगाएर केही माथि उठाइएको। 

तलबाट हावा छिर्न मिल्ने गरी फलामका डण्डी तेस्र्याइएको थियो। त्यसमाथि विभिन्न ४८ प्रजातिका वन्यजन्तुका चार हजार बढी अंगप्रत्यंग राखे सेनाले।
परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले त्यसमा आगो झोसे। यो २० वर्षपछिकै पहिलो घटना थियो। यसअघि वि. सं. २०५४ चैत ९ गते सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा यसरी नै आखेटोपहार जलाएर नष्ट गरिएको थियो। 

नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ ४ गतेको निर्णयअनुसार आखेटोपहार नष्ट गरिएको हो। मुद्दा चलिरहेका आखेटोपहार र अनुसन्धानका लागि राखिने केही आखेटोपहारबाहेक अन्यलाई नष्ट गरिनेछ।

आखेटोपहार व्यवस्थापन कार्यान्वयन समितिका संयोजक एवं राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले नष्ट गरिएका आखेटोपहार साइटिसको अनुसूची १ मा सूचीकृत प्रजाति १८, अनुसूची २ मा सूचीकृत प्रजाति ४, अनुसूची ३ मा सूचीकृत प्रजाति ४ र अन्य प्रजाति २२ गते ४८ प्रजातिका आखेटोपहार रहेको बताए। 

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा १५ मिटर लम्बाइ र पाँच मिटर चौडाइको इट्टा पोल्ने चिम्नी जस्तो निर्माण गरेर सोही ठाउँमा आखेटोपहार राखेर जलाउन थालिएको छ। 

चितवन निकुञ्ज विश्व संरक्षण सूचीमा सूचीकृत छ। पारिस्थितिक प्रणालीको हिसाबले पनि महत्त्वपूर्ण मानिने चितवन निकुञ्जमा अमूल्य वन्यजन्तुका अंगहरू एकाएक जले। सोमबार विभिन्न संघसंस्थाका प्रतिनिधिको रोहवरमा राखेर जलाउन थालिएको छ।

विगतमा पनि प्रयास गरिएको थियो जलाउने

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २० (क) मा आखेटोपहार नष्ट गर्न सकिने व्यवस्था छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० चौथो संशोधन २०७४ को नियम ३३ (क) १ मा प्राकृतिक वा अन्य कारणबाट मृत्यु भएका वन्यजन्तुबाट संकलन गरिएको वा प्रचलित कानुनबमोजिम जफत गरिएको अखेटोपहार मन्त्रालयले उपयुक्तताको आधारमा शैक्षिक वा अनुसन्धान संस्थालाई प्रयोग गर्न दिन सक्ने उल्लेख छ। 

प्राकृतिक विज्ञान संग्राहलयमा प्रदर्शनीको लागि राख्ने वा नेपाल सरकारको निर्णयअनुसार नष्ट गर्न सकिने व्यवस्था रहेको छ। सोहीअनुसार यहाँ आजबाट आगो लगाएर आखेटोपहार नष्ट गर्न सुरु गरिएको हो। यी आखेटोपहार २०७३ सालमा पनि जलाउन लागिएको थियो।

विभिन्न चरणमा छलफल गरेर अन्तिम तयारी भएका बेला केपी शर्मा ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव आएपछि यो काम रोकिएको थियो। पुनः विवरण दुरुस्त पार्ने काम गरेर गत जेठ ४ को निर्णयअनुसार यो काम आजबाट थालिएको हो।

कति आखेटोपहार नष्ट हुँदै छन्?

सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिएका एक हजार ७३९ थान र चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा भण्डारण गरी राखिएको दुई हजार २७३ थान गरी जम्मा चार हजार १२ थान अखेटोपहार नष्ट गर्ने कामको थालनी आइतबार भएको छ। यो केही दिन चल्नेछ।

यसरी जलाइँदै गरेका अखेटोपहारमा बाघको छाला ६७ थान, गैँडाको खाग ३५७ थान, हात्तीको पुच्छरको रौँ ३५४ थान, कस्तुरीको बिना ३४ थान, ध्वाँसे चितुवाको छाला दुई थान, हिउँ चितुवाको छाला एक थान, चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोका, हाब्रेको छाला ४७ थान, चितुवाको छाला ४१८ थान, भालुको पित्त १५ थानलगायतका अखेटोपहार छन्। 

भण्डारणमा रहेका पाँच थान बाघको छाला, १० थान एक सिंगे गैंडाको खाग, ४ थान कस्तुरीको बिना, एक थान ध्वाँसे चितुवाको छाला, एक थान हिउँ चितुवाको छाला, दुई थान रातो हाब्रेको छाला, पाँच थान चितुवाको छाला अध्ययन अनुसन्धानका लागि राखिने जनाइएकाे छ। २७ प्रजातिका ८४ थान अखेटोपहार सुरक्षित राख्न लागिएको छ।

हात्तीको दाह्रा जलाउनका लागि आवश्यक तापक्रमको कारण भण्डारण गरी राखिएको एक हजार १०० केजी दाह्रा हाल नष्ट नगरिने जनाइएको छ। हात्तीको दाह्रा जलाउनको लागि ९०० डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक पर्ने भएकाले तत्काल सम्भव नरहेको बताइएको छ। 

वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले वन्यजन्तुको चोरी शिकारी एवं अवैध व्यापार नियन्त्रण गर्ने कार्यमा यसले सहयोग पुर्‍याउने बताए। उनले अखेटोपहार औषधिलगायत अन्य कुनै पनि प्रयोजनमा प्रयोग हुँदैन भन्ने सन्देश प्रवाह गर्न, अवैध चोरी शिकारी र त्यसका प्रयोगकर्तालाई निरुत्साहित पार्न, नेपालका वन्यजन्तु र जैविक विविधता संरक्षण, संवर्द्धन र व्यवस्थापनमा सकारात्मक प्रभाव पार्न नष्ट गर्न थालिएको उनले दाबी गरे।

दुर्लभ र लोपोन्मुख वन्यजन्तुका अखेटोपहारहरू चोरी शिकारी र अवैध व्यापारीमार्फत् बजारमा आउन सक्ने जोखिमको अन्त्यसमेत यसबाट हुने संरक्षणकर्मी वासु विडारी बताउँछन्। अखेटोपहारको सुरक्षामा चुनौती रहेको भन्दै उनले आर्थिक तथा प्राविधिक हिसाबले पनि यो नष्ट गर्नु चुनौती रहेको बताए।

साइटिसको महासन्धिमा समेत अखेटोपहार नष्ट गर्न सकिने व्यवस्था रहेको छ। मलेसिया, युएई, चीन, श्रीलंका, संयुक्त राज्य अमेरिका, थाइल्याण्ड, केन्या, भियतनामलगायतका देशहरूले समेत यसरी अखेटोपहार नष्ट गर्ने गरेका निकुञ्जले जनाएको छ।

निकुञ्जअन्तर्गतका अखेटोपहार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा र वन विभागअन्तर्गतका अखेटोपहार सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा राखिएको थियो। नेपाल दुर्लभ वन्यजन्तुको अखेटोपहार ओसारपसारको ट्रान्जिटको रूपमा विकास भएको भन्दै संकलित अखेटोपहारमा अन्य देशबाट नेपाल हुँदै ओसारपसार गर्दा बरामद गरिएकासमेत रहेका जानकारी दिइएको छ। 

तीन मन्त्री एकै ठाउँ

आखेटोपहार जलाउन तीन मन्त्री आए। परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चोरी सिकारी निरुत्साहित गर्ने सन्देश दिनका लागि जलाएर अखेटोपहार नष्ट गरिएको बताए। अमूल्य वस्तु भए पनि यसको मूल्यलाई नेपाल सरकार र निजी क्षेत्रले पनि महत्त्व नराख्ने उनले बताए।

वनमन्त्री शंकर भण्डारी पनि उक्त कार्यक्रममा सरिक भए। कुनै पनि काममा अखेटोपहार प्रयोग हुँदैन भन्ने संदेश दिन अखेटोपहारलाई जलाएर नष्ट गरिएको उनले उल्लेख गरे। दुर्लभ वन्यजन्तुको अखेटोपहार बजारमा आउन नदिन, वन्यजन्तुको चोरी शिकारी र अवैध व्यापार घटाउन र सरकारको दायित्व कम गर्न अखेटोपहार जलाएर नष्ट गरिएको उनको भनाइ थियो।

जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीको पनि उक्त अवसरमा सहभागिता थियो। यस्ता महत्त्वपूर्ण कार्यले स्वदेश र विदेशमा सकारात्मक संदेश प्रवाह गर्ने उनले दावी गरे। नेपालका लागि अमेरिकी राजदूत एलिना टेप्लिनले दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि यो सकारात्मक प्रयास भएको उल्लेख गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.