|

म्याङलुङ : करेसाबारी र आँगनको शोभा बढाउँछ फूलले। घरको शोभा बढाउन मात्र होइन यति बेला व्यावसायिक रुपमा फूल खेती गर्न पनि थालिएको छ। 

विभिन्न चाडपर्व, कार्यक्रम र उत्सवमा फूलको मालाको प्रयोग हुन थालेपछि व्यावसायिक रुपमा फूलखेती गर्नेहरु बढेका छन्। तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङका किसान महेन्द्र तामाङले रु एक लाख लागतमा फूल खेती गरे। तिहारमा फूलको माग बढी हुने र जिल्लामा अरु फूल व्यावसायिक पनि नभएकाले उनले फूल खेती सुरु गरे।

थोरै लगानीबाट मनग्य आम्दानी लिने सोचका साथ फूल खेती गरेका तामाङले लगाएको फूल यति बेला खेर गइरहेको छ। तिहार लक्षित गरेर लगाइएको सयपत्री फूल तिहार सकिएपछि फुलेकाले तामाङको मेहनत बालुवामा पानी खन्याएजस्तै भएको छ। ​

यतिबेला उनको बारिमा फूल फुलेर ढकमक भएको छ। यस वर्षको तिहार गत वर्षको तुलनामा केही समयअघि भएकाले रोप्ने समयमा ख्याल नगरी रोप्दा नोक्सान बेहोर्नुपरेको महेन्द्रकी श्रीमती अम्बिका तामाङले बताइन्। 

उनी भन्छिन– ‘अरु नै खेती गर्दै आएका थियौ। फूल खेतीबाट राम्रो आम्दानी लिनको लागि धरानबाट दुई सय पाँच सय बिरुवा ल्याई तीन रोपनी क्षेत्रफल जग्गामा लगाइएको फूल अहिले खेर गइरहेको छ। अरु नै खेती लगाको भए अलि अलि भए नि आम्दानी हुन्थौँ। फूल लगाएर बेकार भयो। लगानी नै फसेको छ।’

फूल बिक्री हुने समय सकिएकाले फूल त्यतिकै बारीमै खेर जाने तामाङको भनाइ छ। उनी भन्छन, ‘धेरै राम्रो फूल भए तापनि बिक्री नभएपछि के गर्नु बाख्रालाई खुवाएर नि सकिँदैन। ठूल्ठूला सहरमा बाह्रै महिना फूलको माग हुने गर्छ अरे तर यहाँ त त्यहाँसम्म पुर्याउने बाटोघाटो नि छैन । यहाँ त यतिकै नास भएर जाने भयो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.