|

एजेन्सी : इंलिस प्रिमियर लिग विजेता चेल्सीले आइतबारका लागि तय भएको विजयी परेड स्थगित गरेको छ। म्यानचेस्टर एरिनामा भएको आक्रमणपछि चेल्सीले जितको खुसीयाली नमनाउने भएको हो।

गत सोमबार म्यानचेस्टर शहरमा भएको आत्मघाती बम हमलामा २२ जनाको मृत्यु भएको थियो भने ५९ भन्दा बढी घाइते भएका छन्। क्लबले विज्ञप्ति जारी गर्दै 'बेलायतमा अहिलेसम्मकै सबैभन्दा ठुलो सुरक्षा खतरा देखिएका बेला खुसीयाली मनाउनु सान्दर्भिक नहुने' जनाएको छ।

यसअघि चेल्सीले बसको छतमा खेलाडी र ट्रफी राखेर नगरपरिक्रमा गर्ने कार्यक्रम थियो। प्रिमियर लिगको उपाधि जितेको चेल्सीले शनिबार फाइनलमा आर्सनललाई हराएर एफए कपको उपाधि समेत जित्ने आशा गरेको छ।

आर्सनलले पनि एफए कप जितेको खण्डमा विजयी र्‍याली ननिकाल्ने बताइसकेको छ।  क्लबले इमिरेट्स रंगशालामा फाइनल म्याचको स्क्रिनिङ गर्ने कार्यक्रम थियो। तर अब त्यस्तो स्क्रिनिङ हुनेछैन्। समर्थकहरुलाई आर्सनलले यसअघि टिकट बापत लिएको पैसा फिर्ता गर्नेछ।

चेल्सीले म्यानचेस्टर दुर्घटनाका पीडितहरुलाई आफ्नो क्लबका खेलाडीहरुले आर्थिक सहयोग गर्ने जनाएको छ। आर्सनल र चेल्सबीच विम्बलीमा हुने फाइनल खेलका दौरान दुबै क्लबका खेलाडीले आक्रमणको विरोधमा हातमा कालो पट्टी बाँध्नेछन्।

म्याचनेस्टर शहरको लोकप्रिय क्लब तथा सर्वाधिक धेरै पटकको इंलिस प्रिमियर लिग विजेता म्यानचेस्टर युनाइटेडले स्टोकहोल्ममा बुधबार युरोपा लिगको फाइनलमा नेदरल्यान्डको अज्याक्ससँग प्रतिस्पर्धा गर्दैछ। यस खेलमा दुबै क्लबका खेलाडीले घटनाको विरोधमा हातमा कालोपट्टी बाँध्नेछन्। खेलअघि मृतकको संझनामा मौनधारण हुनेछ।

अन्य खेलका संघ-संस्थाहरुले पनि घटनाको विरोधमा सांकेतिक रुपमा विरोध गर्नेछन्। मृतकको संझना गर्नेछन्। यसै साता हुने फर्मुला वानको मोनाको ग्रान्ड प्रिक्सका दौरान ड्राइभरहरुले मौनधारण गर्नेछन्। बेलायतका अधिकांश फर्मुला वान टिमले आफ्नो कारमा ह्यासट्याग म्यानचेस्टर लेख्नेछन्।

म्यानचेस्टरमा हुन लागेको एथलेटिक्सको 'ग्रेट सिटी गेम्स' आक्रमणका बाबजुद पनि स्थगित हुनेछैन्। शुक्रबार साँझ हुने यस खेलमा सुरक्षा दिन तयार रहेको म्यानचेस्टर प्रहरीले जनाएको छ। स्कटिस कप फुटबलको  शनिबार फाइनलका लागि स्कटल्यान्डको प्रहरीले आफ्नो सुरक्षा व्यवस्था कडा पार्दैछ। एक्सटर एन्ड वास्प्स र ट्विकेटह्यामबीच शनिबार हुने प्रिमियरसिप रग्बीको फाइनलमा दुबै टोलीका खेलाडीहरुले मृतकको संझनामा १ मिनेट मौनधारण गर्नेछन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.