|
फाइल फोटो

रसुवा : गोसाइँकुण्ड  धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जंगलमा रेड पाण्डा (रातो हाब्रे) देखा पर्न थालेको छ। हिमपातको समय नजिकिँदै गर्दा यो क्षेत्रमा रेड पाण्डा देखिन थालेको हो। 

संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जंगलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार विशेष संरक्षणअन्तर्गत निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गणको नियमित गस्ती तथा अन्य चौपाया तथा मानिसको चहलपहल नभएका कारण चन्दनबारीको माथिल्ला भाग चोलाङपाटी जंगल क्षेत्रमा रेड पाण्डा देखिन थालेको हो। 

लजालु स्वभाव रहेको रेड पाण्डा रातका समयमा रूखको टोड्कामा बास बस्ने र दिउँसो रूखका हाँगा बसी आराम गर्ने गर्छ। निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने संरक्षण अधिृकत भट्टराईले जानकारी बताए। सन् १९८७ मा वन्यजन्तु विज्ञ डा. प्रह्लाद योञ्जनको अध्ययनले चन्दनबारी तथा चोलाङपाटी क्षेत्रमा रेड पाण्डाको पाइने पत्ता लागेको थियो। 

यसपछि लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत रेडपाण्डा संरक्षण गर्न थालिएको हो। गोसाइँकुण्ड तीर्थ गर्न जाने श्रद्धालु र हिमालअवलोकन गर्न जाने पर्यटकसमेतले यात्राको क्रममा रेडपाण्डा अवलोकन गर्न सहज भएको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.