|

भोजपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीराम मिथिला शिक्षालयको उद्घाटन गरेकी छन्। राष्ट्रपति भण्डारीले रामप्रसाद राई गाउँपालिका-५  मा पर्ने आफू जन्मिएको गाउँ मानेभञ्याङ आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटन गरेकी हुन्।

उद्घाटनमा उनले शिक्षालयको स्थापनापछि अब स्थानीयलाई प्राविधिक शिक्षा लिन सहज हुने बताइन्। ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो‚’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यो प्राविधिक शिक्षालयले यहाँ शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ। शिक्षालय स्थापनाले प्राविधिक शिक्षा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। सीपयुक्त जनशक्ति उत्पादनमा राज्यले ध्यान दिन आवश्यक छ।’

राष्ट्रपति भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको नाममा शिक्षालय स्थापना गरेकी हुन्। दुर्गम ठाउँका स्थानीयमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न भण्डारीको पहलमा यहाँ ११ करोड ३९ लाख ७३ हजार ८ सय रूपैयाँ लागतमा शिक्षालय स्थापना गरिएको हो।

राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शनसँगै आफूले अध्ययन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षणसमेत गरेकी छन्। जन्मघरनजिकै ५५ रोपनीमा निर्माण भएको प्राविधिक शिक्षालयलाई राष्ट्रपतिले ३७ रोपनी र उनका परिवारले १८ रोपनी जग्गा निःशुल्क दिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.