|

बारा : निकुञ्जको कोर क्षेत्रमा वन्यजन्तु चोरी शिकार गरिरहेका ५ जना शिकारी बन्दोबस्तीका सामानसहित पक्राउ परेका छन्। वन्यजन्तु चोरी शिकार गरिरहेकै अवस्थामा उनीहरूलाई पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले नियन्त्रण लिएको हो।

वन्यजन्तु चोरी शिकार गरिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाउँका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी-१ का ३७ वर्षीय कापसदास थारु, बारा सखुवा प्रसौनीका ४४ वर्षीय  नवराज बस्नेत र खिटावल गाविस-८ टावलका ५२ वर्षीय मालदोङ तमाङलाई नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ।

निकुञ्जको पर्सा क्षेत्रको गरुडा लाइननजिकैबाट पक्राउ परेका ५ जना शिकारीको साथबाट २ लाख ९० हजार ६७० नगद रकम ल्याण्डक्रुजर र बलेरो गाडी, मृत पोथी जरायो, भाले जरायोको सिङ, १२ बोरको बन्दुक १ थान, १२ बोरको १ राउन्ड गोली, हतियार राख्ने झोला २ वटा, हतियारका अन्य कागजात, नाइटभिजन क्यामरा, टेलिस्कोप, रबरको टेलिस्कोप, ब्याट्री कम्पार्टमेन्ट, टर्चलाइट, मोबाइल (आइफोन) ३ थान, मदिरा र अन्य कागजपत्र नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ।

निकुञ्जका रेन्जर विष्णु पौडेलको नेतृत्वमा सेनासहितको टोलीले सोमबार राति प्राप्त सूचनाका आधारमा करिब ४ घन्टाको मेहनतपछि बस्दोबस्तीको सामानसहित चोर शिकारीलाई नियन्त्रणमा लिन सफल भएको हो।

चोरी शिकारमा ल्याण्डक्रुजर, बोलेरो, नाइटभिजन क्यामरादेखि मदिरा, आइफोनसम्मका सामान बरामद भएकाले यो घटनामा सामान्य व्यक्ति नभएर ठूलो माफियाको संग्लनता हुनसक्ने आशंका निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले व्यक्त गरेका छन्।

पर्सा राष्ट्रिय निुकञ्जभित्र वन्यजन्तुसहित यति ठूलो परिणाममा बस्दोबस्तीका सामानसहित चोर शिकारी नियन्त्रणमा लिएको यो दोस्रो घटना हो।

यसअघि मकवानपुर क्षेत्रमा वन्यजन्तु शिकारीसँग निकुञ्जका सुरक्षाकर्मीसहित सेनाको दोहोरो गोली हानाहान भएको थियो। रेन्जर विष्णु पौडेलले सोमबार राति भएको घटनामा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई टेकेर अनुसन्धान तथा कारबाही अगाडि बढाइने जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.