|

बैतडी : हावाहुरीले छाना उडाएको दुई वर्ष भइसक्दा पनि मर्मत नहुँदा सुर्नया गाउँपालिका–३ भौनेली फाटीगाडामा रहेको राष्ट्रिय माविमा पठनपाठनमा समस्या भएको छ। 

२०७२ जेठ ३ गते आएको हावाहुरीले विद्यालयको छ कोठे भवनको छाना उडाएपछि विद्यार्थीलाई कक्षाकोठाको अभाव भएको विद्यालयका प्रधानाध्यापक गङ्गादत्त भट्टले जानकारी दिए। 

विद्यालयसँग आन्तरिक आय केही नभएकाले विद्यालय भवन निर्माण गर्न सकिएको छैन, प्रधानाध्यापक भट्टले भने,‘विद्यालयमा कक्षाकोठा अभावमा धेरैलाई एउटै कक्षामा राखेर पढाउनुपर्ने बाध्यता छ।’ 

मौसम प्रतिकुल भएको बेला विद्यालय नै आउन मन नलाग्ने छात्रा धाना भाटले बताइन्। ‘पानी परेका बेला विद्यालयमा बस्ने कोठा नै छैनन्’, उनले भनिन्, ‘त्यसैले विद्यालय जानै छोडेका छौं।’

भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय र शान्ति तथा पुनर्निर्माण मन्त्रालयसम्म धाउँदा समेत केही सीप नचलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयन्त कुँवरले जानकारी दिए। 

‘विद्यालयमा निजी स्रोतका शिक्षकलाई तलब दिनसमेत धौ धौ परिरहेको छ’, उनले भने, ‘आन्तरिक स्रोतबाट भौतिक संरचना निर्माणका केही काम गर्न सकेका छैनौं।’ जिल्ला शिक्षा कार्यालयले पनि राजनीतिक पहुँचका आधारमा भवन निर्माण र पुनर्निर्माण गर्ने भएकाले आफूहरूलाई समस्या भएको समेत उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.