|

कञ्चनपुर : मुक्त कमैयाका बालबालिकाको पठनपाठनका लागि खोलिएको शुक्लाफाँटा नगरपालिका-८ नौखरीस्थित जनभावना आधारभूत विद्यालय अभावै अभावमा सञ्चालन हुँदै आएको छ।

विद्यालयमा गतिलो विद्यालय भवन, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पर्खाल, विषयगत शिक्षक र पुस्तकालयको अभाव छ। विद्यालयमा ९० प्रतिशत मुक्त कमैयाका बालबालिका पढ्दै आएका छन्।

‘विसं २०५७ सालमा मुक्त कमैयाको मुक्तिको घोषणापछि ७ सय परिवार मुक्त कमैया परिवारलाई नौखरीमा पुनःस्थापना गराएपछि विद्यालय अभाव भयो‚’ विद्यालयका संस्थापक भागिराम चौधरीले भने, ‘विद्यालय थिएन, बालबालिका दिनभर धुलोमाटोमा खेल्थे, अभिभावक मजदुरीको खोजीमा भौंतारिँदै हिँड्थे।’

विद्यालय स्थापनाका लागि निकै प्रयास गरे पनि पुनःस्थापना भएको ५ वर्षपछि विद्यालय स्थापना गर्न सकेको उनले बताए।

‘मुक्त कमैया बस्तीका व्यक्तिहरूको भावनाअनुसार विद्यालय खोल्ने निर्णय भएकाले विद्यालयको नाम जनभावना राख्यौं‚’ उनले भने, ‘शुरुमा नजिकै रहेका बैजनाथ र भगवती सामुदायिक वनले काठ उपलब्ध गराएपछि काठका स-साना कटेरा निर्माण गरी प्रत्येक घरबाट ५ वटाका दरले टायल ल्याएर छाना राख्यौं।’

‘कक्षा १ मा विभिन्न उमेरका १ सय ६५ विद्यार्थी भर्ना गरी विद्यालय सञ्चालन गर्‍यौं तर कानुनी अडचनले प्राथमिक तहको अनुमति पाउन सकेनौं, विद्यालय सञ्चालन भएको २ वर्षपछि मात्रै निकै अनुययविनय गर्दा अनुमति पाइयो।’

विसं २०६२ सालमा स्थापना भएको विद्यालयले कक्षा ८ को अनुमति भने विसं २०७७ सालमा पाएको उनको भनाइ छ। विद्यालयमा स्थायी शिक्षकको दरबन्दी छैन।

राहत कोटामा २ महिला र ३ पुरुष गरी ५ जना शिक्षक कार्यरत छन्। निजी श्रोतमा २ जना शिक्षकले पठनपाठन गराउँदै आएका छन्। निजी श्रोतका शिक्षकको तलब अभिभावकले मुट्ठीदान गरी बेहोर्दै आएका छन्। विद्यालयका ५ भवनमध्ये कुनै दातृ निकायको सहयोगमा बनेका छन्। ५ भवनमा १५ कोठा छन्।

जस्तापाताको छाना भएका विद्यालय भवन जीर्ण भएकाले विद्यार्थीलाई बस्न निकै अप्ठेरो हुने गरेको विद्यालयका प्रधानाध्यापक पुष्पराज भट्टले बताए।

प्रधानाध्यापक भट्टका अनुसार जस्तापाताका छाना भएका भवन वर्षातमा पानी चुहिन्छ भने गर्मीमा जस्तापाता घामले तातेर बस्नै नसकिने हुन्छ। विद्यालयमा डेस्क‚ बेन्च‚ कालोपाटीलगायत फर्निचरको अभाव छ।

विद्यालयमा अध्ययनरत ३४७ जना विद्यार्थीमध्ये छात्र १५८ जना र छात्रा २०५ जना छन्।

‘बालविकासमा नै ६२ जना बालबालिका छन्। अभिभावकलाई शैक्षिक चेतनाको कमी हुँदा बीचमै विद्यालय छाड्ने विद्यार्थीको संख्या बढ्दो छ‚’ उनले भने, ‘शिक्षालाई भन्दा कामलाई बढी महत्व दिँदा केही विद्यार्थीले आधारभूत तहको शिक्षा पूरा गर्न पाउँदैनन्। कक्षा दोहोर्‍याउने विद्यार्थी ४२ जना छन् भने २३ जनाले कक्षा छाडेका छन्‚’ उनले बताए।

विद्यालयमा पढ्ने विद्यार्थी मुक्त कमैया र दलित समुदायका भएकाले अभिभावकको आर्थिक तथा शैक्षिक अवस्था कमजोर हुनाले विद्यालय सञ्चालन गर्न निकै समस्या र चुनौती रहेको प्रधानाध्यापक भट्टले बताए।

नगर प्रमुख रणबहादुर महराले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै फर्निचर अभाव हुन नदिन आवश्यक बजेटको व्यवस्था गरिने बताए। ‘शिक्षक दरबन्दी मिलान छिट्टै गरी स्थायी शिक्षकको व्यवस्था गर्छौं‚’ उनले भने, ‘अपुग शिक्षकका लागि सम्बन्धित निकायमा दरबन्दी माग गर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.