|

चन्द्रौटा : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नहुने भएको छ। मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका मुख्यमन्त्री लीला गिरिले जसपालाई पनि सरकारमा ल्याउने प्रयास गरिरहेका छन्।

यथास्थितिमा जसपा सरकारमा सहभागी नहुने जसपाका प्रदेश अध्यक्ष अशोक यादवले बताए। ‘सम्मानजनक अवस्था नभए हामी सरकारमा जाँदैनौँ’, यादवले भने, ‘आज पनि छलफल भएको हो, हामीले सरकार विस्तारका लागि आग्रह गरेका छौँ तर यही अवस्थामा सरकारमा जाँदैनौँ।’​

जसपाले मुख्यमन्त्री गिरिलाई विश्वासको मत दिएको थियो। ३ सांसद रहेको जसपाले राष्ट्रियसभा पनि गठबन्धनलाई सहयोग गरेको अध्यक्ष यादवको भनाइ छ। १० भन्दा बढी मन्त्रालय भएको खण्डमा जसपाले दुई मन्त्रालय पाउनुपर्ने र दशभन्दा कम मन्त्रालय भएमा आफूले रोजेको एउटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ।

अध्यक्ष यादवले भने‚ ‘उहाँहरूले छोडेको मन्त्रालय हामीले लिनुपर्ने रे। यसरी जसपा सरकारमा जाँदैन।’ यद्यपि दलहरूबीच छलफल भइरहेकाले जसपालाई सरकारमा ल्याउने प्रयास भने भइरहेको छ।

पुस २७ गते प्रदेशसभाका १० मध्ये ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त गिरिले माघ ५ मा ५९ सांसदको विश्वासको मत पाएका थिए। गिरिले आफूसँगै एमालेका चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसीलाई बिनाविभागीय मन्त्री बनाएका थिए।

उनीहरूको मन्त्रालय पनि अहिलेसम्म टुङ्गो लागेको छैन। शुक्रवारसम्म मन्त्रिपरिषद् विस्तार हुने भने पनि भागबण्डा मिल्न नसकेका कारण आइतबारसम्म शपथ खुवाउने तयारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.