|

भोजपुर : ऐतिहासिक निशान भवगती मन्दिरको करिब २१ वर्षपछि नेपाली सेनाले जीर्णोद्धार गरेको छ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा १८२६ मा स्थापना भएको मन्दिर संरक्षणअभावमा जीर्ण बनेको थियो। जीर्णोद्धार गरिएको मन्दिरको नेपाली सेनाका सहायक रथी महेशकुमार थापाले शनिबार उद्घाटन गरे। 

मन्दिर नेपालीको सेनाको फष्ट रैफल गण भोजपुरको पहलमा पुनः निर्माण गरिएको हो। मन्दिरको पुननिर्माणले भोजपुरको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीय परशुराम तिवारीले बताए। ‘यो भोजपुरको इतिहास बोकेको मन्दिर हो’ उनले भने,‘ सेनाले जीर्णद्धार गरेर उद्घाटन पनि भयो। यसले यहाँको इतिहास संरक्षणमा टेवा मिलेको छ।’

२१ लाख २६ हजार ४५४ रुपैयाँ लागतमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको फर्स्ट राइफल गण भोजपुरका प्रमुख विश्वनाथ तिमल्सेनाले जानकारी दिए। नेपाली सेनाबाट  १५ लाख, स्थानीय तहसँगै विभिन्न संघ संस्था तथा मन्दिर व्यवस्थापन समितिबाट पाँच लाख ४५ हजार र बाँकी गणको आन्तरिक स्रोतबाट खर्च गरिएको उनको भनाइ छ। 

मन्दिरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी महेशकुमार थापाले सेनाले पौराणिक महत्त्व र इतिहास बोकेका ठाउँहरुको संरक्षण गर्दै लैजाने नीति अनुसार मन्दिरको संरक्षण गरेको बताए  । ‘सेनाले एक कार्यक्रम नै अघि सारेर पौराणिक महत्त्व र इतिहास बाकेको स्थलको संरक्षण गर्दै आएको छ’ उनले भने,‘ यही कार्यक्रम अनुसार सेना र स्थानीयको सहयोगमा यो मन्दिरको जीर्णोद्धार गरेका छौँ।’

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले मन्दिरको निर्माणमा नेपाली सेनाले खेलेको भूमिका उल्लेख्य रहेको बताए। आगामी दिनमा संरक्षणको लागि पूर्ण स्वामित्व लिन नगरपालिका तयार रहेको बताए। यस्ता इतिहास बोकेका ठाउँको संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

विगतमा गरुण दल गुल्म रहँदासम्म यहाँ भव्य पूजाआजा हुने गरे पनि गुल्म स्थानान्तरण भएपछि मन्दिर संरक्षणविहीन बन्दै आएको थियो। जीर्णोद्धारपश्चात् मन्दिरमा चाँडै निशान भगवती स्थापना हुने भएपछि स्थानीयवासी थप उत्साहित भएका छन्।

विगतमा भएको निशान भगवती मन्दिर भत्किएपछि २०६९ सालमा जीर्णोद्धार गरेर अर्को मन्दिर स्थापना गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.