|
प्रतीकात्मक तस्विर

तेह्रथुम : आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्तीखर्कमा रहेका १४ घर जलेको छ। 

आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छिन्। उनलाई उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ। 

आगलागीका कारण नौ परिवारको ४१ जना विस्थापित भएका छन्। घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ। तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए।

आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ। दधिराम वाइबाको घरमा बस्दै आका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ। राईबहादुर तामाङ, डिकमान तामाङ, शंखर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेको छ। 

आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन्। ​बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घर भएकाले बस्ती सखाप हुँदा ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताए। तमोर नदी किनारको जङ्गलबाट सुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा सो क्षति भएको हो। 

अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ। जङ्गलमा लागेको आगो भने नियन्त्रणमा छैन। फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्। जङ्गलमा लागेको आगो नियन्त्रणमा नआउँदा नजिकका अन्य बस्तीसमेत जोखिममा छन्।

आठराईको सुक्खा क्षेत्रमा रहेको हात्तीखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.